गंगा–तटमा एउटा भाकंदिका नामक नगर थियो ।

सानो नगर हुनाले धेरैले एकअर्कालाई चिन्दथे । साधु त्यसै नगरमा भिक्षा मागेर आफ्नो छाक टार्दथ्यो । साधुको नाउँ प्रवर स्वामी थियो । प्रवरको कुटीका अगिल्तिर शिवजीको एक मन्दिर थियो । प्रवर स्वामी सधैं ब्रह्म मुहूर्तमा उठेर स्नानादि गरेर शिवजीको पूजा बिहानभरि गर्दथ्यो । 

ad

मन्दिरको चारैतिर जंगल हुनाले फलफूलहरूको कमी हुँदैन थियो । 

साधुको एउटा खास विशेषता थियो । ऊ कहिल्यै कसैसित बोल्दैन थियो । उसले सधैंका लागि मौन–व्रत धारण गरेको छ भन्ने कुरा नगरवासीमा प्रचलित थियो । त्यसैले साधु ‘मौनीबाबा’का नाउँले प्रसिद्ध थियो । 

मौनीबाबालाई अपार सिद्धि प्राप्त छ भन्ने कुरा नगरवासीमात्र होइन, वरपरको चारैतिर फिँजिएको थियो । 

मानिसहरू आफ्नो भविष्य जान्न र अनेक रोग–व्याधि अथवा, भूत–प्रेत आदिको प्रकोपबाट जोगिन वा उपचार गराउन, चारैतिरबाट बाबाको मठमा आउने गर्दथे । ऊ तिनको उपचार पनि गर्दथ्यो । झार–फुक, मन्त्र–तन्त्र आदि सबको ज्ञान थियो उसलाई । जडीबुटीको पनि ज्ञान थियो भन्थे । बाबा खरानी मन्त्रेर गंगाजलमा औषधि हालेर रोग व्याधि निको पार्दथ्यो भन्ने प्रचलित थियो । 

मानिस भन्थे, मौनीबाबा रातभरि जाग्राम गरेर साधन गर्दथ्यो । त्यसकारण रात्रिकालमा उसको कोठाभित्र पस्न उसका शिष्यहरूलाई पनि मनाही थियो । शिष्यहरू पालैपालो साधुको द्वारमा अन्य व्यक्तिले प्रवेश नगरोस् भनेर पहरा दिन्थे । शिष्यहरू मौनीबाबाको इसारा बुझ्दथे । त्यसकारण, बाबाको आज्ञाको पालना सजिलैसँग गर्दथे । 

शिष्यहरू पनि भिक्षाटन गर्न जान्थे । दिनको १२ बजेसम्म सबैजना कुटीमा फर्किसक्थे । भिक्षा प्राप्त भएका सामलहरू त्यस दिनको भोजन बनाउन खर्च हुन्थ्यो । भोजन बनाउने काम पनि शिष्यहरू पालैपालो गर्दथे । 

एक दिन रुथिर नाउँ गरेको साधुको र एक शिष्य भोजनको समयमा फर्केन । उसका साथीहरू उसलाई खोज्न भनेर हिँडे । धेरैबेर खोजेपछि ऊ एउटा ग्राहद्वारा खुट्टा च्यापिएको अवस्थामा छटपटाइरहेको देखे । तिनले तत्काल मौनीबाबालाई खबर गरे ।

मौनीबाबा आयो र एउटा सानो ढुंगाको टुक्रा मन्त्र जपेर ग्राहमाथि हिर्कायो । ग्राहले रुथिरको खुट्टो तत्काल छाडियो र आफ्नो बाटो लाग्यो । 

त्यो घटना चारैतिर फिँजियो । मौनीबाबाको दैवी शक्तिबाट नगर–वासी झन् प्रभावित भए । तिनीहरू अब भिक्षामा फलफूल, अन्न बाहेक रुपैयाँ पैसासमेत दान गर्न थाले । धनीहरूले त असर्फीसमेत दान गर्दथे ।

यसले गर्दा एकातिर साधुको कीर्ति फिँजिदै गयो अर्कोतिर साधुको खजानामा समेत आशातीत वृद्धि हुन थाल्यो । 

आश्रमका गौहरूको संख्यामा कैयौं गुना वृद्धि हुन थाल्यो । आश्रमवासीसमेत साधुको जीवनमा समेत परिवर्तन देखियो । पहिले फलफूल मात्र सेवन गर्ने साधु अब दूध दही खीर खाएर बस्न थाल्यो । उसको वस्त्र पहिले खस्रो हुन्थ्यो भने अब उसको रेशमी वस्त्र धारण गर्न थालेको थियो । मानिस यसलाई मौनीबाबाको तेजका कारण यो परिवर्तन भएको ठान्दथे ।

तर, केही कुरा भने यथावत् थिए । जुन अझै पनि मौन व्रत धारण गरेर बसेको थियो । ऊ कसैसित बोल्दैन थियो ।

अर्को, भिक्षाटनका लागि नगरमा जान उसले यथावत् राखेको थियो । उसका शिष्यहरू पनि सधैं भिक्षा माग्न यथावत् जान्थे । 

अब त उसका कतिपय शिष्यहरू पनि जानकार भइसकेका थिए । एकदिन साधुको एक शिष्य नगरको छेउको एक घरमा भिक्षा माग्न जाँदा त्यो घरमा रुवावासी चलिरहेको थियो । 

शिष्यले सोधे –‘किन रोएको ?’ गृह स्वामीले रुँदै उत्तर दियो –‘मेरी छोरी आज बिहानैदेखि विचेत छ । कुनै कारण थाहा छैन के भएको हो । छोरी बाँच्दिन कि भन्ने भयका कारण घरमा हाहाकार मच्चिएको हो । घरकी एकमात्र छोरी, त्यसकारण सबैले माया गर्थे । वैद्यले पनि भन्न सक्दैन के भएको हो ।’ 

शिष्यले केटीको नारी छाम्यो । आँखा फट्याएर हे¥यो । आँखा फुस्रो देखियो । मौनीबाबाको शिष्यले अशोक वृक्षको पात, जटामसी र पुनर्नवा भन्ने बुटीको काँडा पकायो । काँडालाई ओठ फट्याएर केटीको मुखमा थोपो गर्दै हाल्न थाल्यो । एकछिन त्यसो गरेपछि त्यसको मुख उघ्रियो । अब त्यसले काढा निल्न थाली । एकैछिनपछि केटीले आँखा उघारी । साधुको शिष्यले तत्काल एउटा आजन तयार ग¥यो र आलसको तेलमा मिसाएर आँखामा हालिदियो । त्यसपछि उसले आफ्नै धोक्रोबाट झिकेर एउटा लेप केटीको निधार र पेटमा दल्यो । 

आधी घण्टापछि केटी उठेर बसी । उसले आफ्नो आमासँग सोधी– ‘आमा मलाई के भएको हो ।’

आमाले खुसीले आँसु झारेर –‘छोरी हामीले त तिम्रो आसै मारिसकेका थियौं, यी ऋषिले तिमीलाई जीवित तुल्याएका हुन् । बाबु तिम्रो कीर्ति चारैतिर फिँजियोस् ।’

यस अघटनापछि मौनीबाबाको कीर्ति झन् फिँजियो । उनको शिष्य त त्यस्तो चमत्कार गर्न सक्छ भने गुरु कस्ता होलान् ?’

मौनीबाबा यसरी एक चमत्कारी दैवीशक्तिले सम्पन्न महान् ऋषिका रूपमा स्थापित भयो । 

मौनीबाबाको मौनमा पनि शक्ति छ । एक दिन चर्चा भयो, साधुको साक्षात् महादेवको दर्शन र वरसमेत पाएको छ । उसले परमशक्ति प्राप्त गरेको छ । यसैबीचमा एकदिन ऊ एक बिहान सधैंझैं भिक्षाटनका लागि निस्कियो । त्यसदिन ऊ त्यस घरको द्वारमा उभियो, जहाँ सधैं ताल्चा मारेको हुन्थ्यो । 

आज द्वार खुला थियो । साधु ‘भिक्षाम् देही’ भनेर उभिरह्यो । 

बाँकी अर्को अंकमा...