काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक प्रणालीको आधारभूत सिद्धान्त ‘कानूनको शासन’ लाई अक्षरशः कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। बागमती प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममा बोल्दै उनले सत्ता वा पदका आधारमा कसैले पनि कानुनी दायराबाट उन्मुक्ति पाउन नहुने स्पष्ट पारे।

उनका अनुसार, राज्यका निकायले पर्याप्त आधारसहित अनुसन्धान अघि बढाउँदा सम्बन्धित सबैले सहयोग गर्नु नागरिक कर्तव्य हो। प्रधानमन्त्रीदेखि सामान्य नागरिकसम्म सबै समान रूपमा कानूनको अधीनमा रहनुपर्ने उनको भनाइ थियो। उनले आफू वा आफ्नै पार्टी नेतृत्वमाथि पनि अनुसन्धान आवश्यक ठहरिए त्यसमा अवरोध नगर्ने प्रतिबद्धता जनाए।

ad

थापाले अनुसन्धान प्रक्रिया निष्पक्ष, पारदर्शी र चयनरहित हुनुपर्नेमा जोड दिँदै राज्य संयन्त्र स्वयं पनि कानुनभन्दा माथि हुन नहुने उल्लेख गरे। उनले हालै सार्वजनिक भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र पक्षपातपूर्ण रहेको आरोप लगाए, विशेष गरी २४ गतेको घटनालाई पर्याप्त रूपमा समेट्न नसकेको उनको दाबी थियो। यस सन्दर्भमा उनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरे।

कांग्रेसले सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्तिको छानबिन हुनुपर्ने नीति अघि सार्दै आएको उल्लेख गर्दै थापाले आफ्नै उदाहरण दिँदै भने, 'म मन्त्री भएको छु, मेरो पनि छानबिन होस्।' उनले गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने धारणा पुनः दोहोर्‍याए।