
काठमाडौं । वरिष्ठ पत्रकार धर्मेन्द्र झाको नयाँ यात्रा संस्मरण पुस्तक ‘जगन्मुक्ति’ बागलुङ मिडिया मेला–२०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।
साहित्यिक क्षेत्रमा ‘धर्मेन्द्र विह्वल’ का नामले परिचित झाले यस पुस्तकमा हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथदेखि समुद्र किनारस्थित जगन्नाथसम्मको आफ्नो यात्रालाई उतारेका छन् ।
मुक्तिनाथका विषयमा मैथिली भाषामा लेखिएको यो पहिलो पुस्तक भएको लेखक झाले बताएका छन्। उनले यो पुस्तक मैथिली भाषीलाई मुक्तिनाथ बुझ्न र जान्न विशेष उपयोगी हुने विश्वास व्यक्त गरे । पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न आउने मैथिली भाषीको संख्या बढेको उल्लेख गर्दै उनले भने, ‘प्रत्येक मिथिलावासीको घरमा शालिग्रामको पूजा हुन्छ, र मुक्तिनाथ शालिग्रामको प्रमुख केन्द्र हो ।’ पुस्तकले नेपाल र भारतबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई समेत जोड्ने प्रयास गरेको छ ।
१०२ पृष्ठ लामो यस पुस्तकमा यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तु र महत्वपूर्ण तस्बिरहरू समावेश गरिएका छन् । पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा ‘हिमालय पार वसल मुक्तिनाथ’, दोस्रो खण्डमा ‘समुद्र तटमे रहल जगन्नाथ’ र तेस्रो खण्डमा ‘कालीदर्शन आ महाकुम्भमे सहभागिता’ शीर्षकमा चर्चा गरिएको छ ।









Facebook Comments