काठमाडौं । साहित्यकार शोभा अधिकारीको लघुकथासंग्रह ‘आमाको आँखा’ लोकार्पण गरिएको छ। शनिबार काठमाडौंकाे पद्मकन्या क्याम्पसमा आयोजित विशेष समारोहमा कृति लोकार्पण गरिएकाे हाे ।

कार्यक्रममा बोल्दै लेखिका अधिकारीले आफ्ना सपना, कल्पना, भोगाइ र समाजमा देखिएका अन्याय–अत्याचारले आफूलाई निरन्तर लेख्न प्रेरित गरेको बताइन्। 

ad

साहित्यलाई ‘दिव्य बगैंचा’को संज्ञा दिँदै उनले साहित्यभित्र जति गहिरिए पनि त्यति नै आनन्द, सुगन्ध र जीवन बाँच्नुको अर्थ फेला पर्ने बताइन्। साहित्य समाजको दर्पण तथा मानवीय संवेदनाको प्रतिविम्ब भएको उनले बताइन् । 
व्यस्त समयका कारण छोटो तर प्रभावशाली विधाका रूपमा लघुकथा रोजेको पनि उनले स्पष्ट पारिन् ।

समारोहमा नाट्यकार अशेष मल्लले हरेक मानिस आफैंमा कथाकार भएको उल्लेख गर्दै कथा भन्ने कला भाव अभिव्यक्तिको माध्यम भएको बताए । ‘हामी सबैसँग कथा छ, त्यसलाई कसरी भन्ने भन्ने मात्र फरक हो। कला भनेको हाम्रो भावको प्रकट हो, अरु केही होइन,’ उनले भने।

उनले संगीतकारको भाव संगीत बन्ने, चित्रकारको भाव रंगमार्फत क्यानभासमा उतारिने र साहित्यकारको भाव कविता वा कथाका रूपमा प्रकट हुने भन्दै सबै सिर्जनाको मूल स्रोत ‘भाव’ नै भएको धारणा राखे।

‘हामी सबैसँग भाव छ त्यो भावको न रुप छ न रंग छ न भाषा छ। संगितकारको भाव बाहिर आएपछि संगित लय हुन्छ । चित्रकारको भावले रंगहरु भेटेपछि क्यानभ्यासमा चित्र बनाइदिन्छ । साहित्यकारको भाव बाहिर आएपछि कविता, कथा बनी आउँछ । स्रोत भनेको त्यही भाव हो,’ उनले भने ।