काठमाडौं ।नेपाली कांग्रेसभित्रको आन्तरिक समीकरणबारे आइतबार भएको छलफलमा केही नेताहरूले नयाँ पार्टी गठन गर्ने प्रस्ताव अघि सारेका छन्।

निवर्तमान सभापतिशेरबहादुर देउवार निवर्तमान कार्यवाहक सभापतिपूर्णबहादुर खड्कानिकट समूहले काठमाडौंको धुम्बाराहीमा आयोजना गरेको बैठकमा सहभागी केही नेताहरूले यस्तो धारणा राखेका हुन्।

ad

१४औँ महाधिवेशनबाट निर्वाचित आफू निकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई समेटेर खड्काले छलफल अघि बढाएका थिए। विशेष महाधिवेशनविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उनले निरन्तर परामर्श बैठकहरू गर्दै आएका छन्। शनिबार निवासमा सीमित छलफल गरेका उनले आइतबार दायरा फराकिलो बनाएका थिए।

छलफलका क्रममा नेतावीरबहादुर बलायर,कुन्दनराज काफ्ले,शिवप्रसाद हुमागाईंगुरू बरालले छुट्टै पार्टी गठन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। उनीहरूले पार्टीभित्र स्वाभिमान, योग्यता र सम्मानको वातावरण कमजोर भए वैकल्पिक बाटो रोज्नुपर्ने तर्क दिएका थिए।

यद्यपि काफ्लेले भने अहिले नै पार्टी विभाजनको निष्कर्षमा पुग्नुपर्ने अवस्था नरहेको बताए। उनले १५औँ महाधिवेशनलाई पारदर्शी, निष्पक्ष र समावेशी बनाउनुपर्नेमा जोड दिँदै संगठनलाई सबैका लागि सुरक्षित र विश्वासयोग्य बनाउनुपर्ने धारणा राखे।

छलफलमा पार्टीभित्र क्रियाशील सदस्यता, मतदानमा देखिएको न्यून सहभागिता तथा संगठन कमजोर हुनुका कारणबारे पनि प्रश्न उठाइएको थियो। नेताहरूले जनताले कांग्रेसप्रति किन आकर्षण घटाउँदै गएका छन् भन्ने विषयमा आत्ममूल्यांकन आवश्यक रहेको बताएका थिए।

सर्वोच्च अदालतको निर्णयलाई देउवा–खड्का समूहले स्वीकार गर्ने बताएका छन्, तर केही विषयमा फरक मत कायमै रहेको जनाएका छन्। उता संस्थापन पक्षले बाँकी केन्द्रीय सदस्य मनोनयन गरेर सबै पक्षलाई समेट्दै १५औँ महाधिवेशनमा जाने तयारी भइरहेको बताएको छ।

महामन्त्रीप्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गर्दै पुराना सदस्यता खारेज नभई अद्यावधिक प्रक्रिया मात्र अघि बढाइएको स्पष्ट पारे।

सभापतिगगन थापाले अदालतको निर्णयलाई पार्टी एकताका लागि अवसरका रूपमा लिनुपर्ने बताए। उनले यसलाई जित–हारको विषय नबनाई संगठनलाई पुनः सुदृढ बनाउने दिशामा सबै एकजुट हुनुपर्ने धारणा दिए। साथै उनले १५औँ महाधिवेशनलाई पार्टी रूपान्तरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।