
मैले साथ पाएको एउटै मात्र अभिन्न मित्र
र, एउटै मात्र जसले बाँचुन्जेल मेरो साथ छोड्ने छैन
नाम लिएरै भनिदिन्छु म
त्यो हो– मृत्यु ।
जिउने उसैसँग हो
ऊसँगको सहयात्रामा मात्र जिन्दगी बाँचेको हुन्छ
यस्तो सहयात्रामा अहम् पग्लिन्छ
जताततैको विभ्रम छ्यांगिन्छ
अनि मात्र म देख्छु अन्तर्मनको खुला आकाश
महाजिल्ल पर्दछु
धर्तीलाई नीलो छाता ओढाउनेको कल्पना मात्र गर्दा
अकल्पनीय सूक्ष्म आफ्नो हैसियत देख्छु ।
यौवन, प्रभुत्व र धन सम्पत्ति
केको तुजुक ?
जब विश्व सम्राटको अन्त्येष्टि यात्रा देखेँ
सहरको बीचबाट अपूर्व शाही तामझामकोबीच
दायाँबायाँ लहरै अपार जनसमूह हेरिरहेका
विश्व सम्राटका खुला आँखाहरू खुला आकाशतर्फ
फूलैफूलले ढाकिएको खुला बग्गी
नदी बगेकोजस्तो बग्गीसँग बहेको मानव–नदीको प्रवाह
पार्थिव शरीरमा फूलमाथि फूलको वर्षा
तर जनताले देखेका दुई हातहरू खाली
एक थुंगा फूल पनि पर्न दिएको थिएन
दुवै हातहरू खुला थिए
उनी खाली हात नै गएका थिए ।
इतिहासको त्यो युग
साम्राज्य बन्ने र ढाल्ने आलोपालो
अशोकको बाजेको लागि
मौर्य साम्राज्य बनाउँदै थिए चाणक्य
त्यो बेला भारत आक्रमण गरे विश्व सम्राट्ले
सिन्धु नदीवारि आइपुगे
सेनालाई अगाडि बढ्न आदेश दिए
तर विश्व सम्राट्को आदेशलाई उनकै सेनाले टेरेन ।
अझ अगाडिको कथा
घाम तापिरहेको फकिरसँग विश्व सम्राटले बोल्न जाँदा
उसले भनिदियो– मेरो घाम नछेक, तँ जा
फकिरको त्यो बोलीमा मिसिएको सेनाको यो अटेरी
जागृत विस्मय
शून्यमा झरे विश्व सम्राट्
विवश नै भए
विस्मयको लाचार छाया बनेर फर्के ।
केही दिनपछि–
विश्व सम्राटका दुई खाली हात देखे सबैले
उनले केही लिएर गएनन्
न बाँच्दा घाम तापिरहेको फकिरले नै वास्ता ग¥यो
न उनको आदेशलाई उनैको सेनाले टे¥यो
के प्रभुत्वको कुरा गर्ने ?
के अपार धन सम्पत्तिको ?
बढ्दो ज्ञानरूपी अज्ञानताको चिन्मय–बहम
यस्तो ज्ञानमय बेलुन–उडानबाट तल हेरिरहँदा
मैले देखेँ–
अरू कति फुच्चे, म कति भीमकाय
शक्ति–जाज्वल्य भएर उडिरहेको मेरो अहम्
त्यति बेला मेरो मित्र हातेमालो गर्न आउँछ
मेरो अभिन्न मित्र मृत्यु ।
एक पलमा म झस्यांग हुन्छु
ओहो ! मेरो महाज्ञान
समुद्र किनारामा ठक्कर खाइरहने छालहरू
जसले बदलिरहेको बालुवाको एउटा करणजस्तो मात्र
आकाशमा उडेको घटोत्कचको जस्तो विराट काय
बहम उत्पादित माया मात्र
मृत्युसँगको सहयात्रामा मात्र म यो अनुभव गर्न सक्छु
त्यतिबेला मलाई अपार शान्ति मिल्छ
त्यसैले विश्रान्तिधाम यात्राको शान्ति
शून्यभित्रको शून्यजस्तो छ ।










Facebook Comments