
जनतालाई जे भने पनि हुने
रैती ठानेर या सार्वभौमसत्ता सम्पन्न भनेर
जनताको नाममा चंगा उडाउनेहरू
राजतन्त्रमा होस् या गणतन्त्रमा
महाराजाहरूकै सधैँ राज भएर आएको ।
हिजो राजतन्त्रमा लगत्तै रोलवाला श्री ३
सत्ता हत्याएपछि खड्ग शमशेरले भने–
दुई घण्टामा मैले नेपाल लिएँ
तर आतुर महत्वाकाक्षाले उनी श्री ३ हुन पाएनन्
अन्ततः डाँडा कटाइए
समयको लामो अन्तरालमा
शक्तिको डाँडाभित्र बाहिर हुँदै
गणतन्त्र आयो तर श्री ३ गएनन्
कोभिडका नयाँ भेरिएन्टजस्तो
या डिडिटी पचाएको लामखुट्टेजस्तो
रूपान्तरित स्वरूपमा सधैँ बाँचेका यी
जनताको रगत चुसेर
जनजीविकालाई ध्वस्त पारेर ।
गणतन्त्रका यी श्री ३ महाराजाहरू
झन् क्रूर, झन् खतरनाक
कानुनीराजको सर्वोच्चता भनेर
कानुनकै हुर्मत लिएर हुकुम चलाउने
गणतन्त्रका खड्गप्रसाद भन्छन्–
हामीले चाहेको खण्डमा यो देश दुई दिनमा लिन सक्छौँ
यिनीहरूलाई डाँडा कटाइदिन सक्छौँ
फुटेको मादलसरि बजिरहेका
न ताल छ, न सुर
केवल अहंकारको भ्रान्ति
बोल्दाबोल्दै यति धेरै बोले यिनीहरूले
जे मन लाग्यो त्यही बोले
मानौँ यिनीहरूको काम नै बोल्ने मात्र हो
हो पनि– यो त अम्मल नै बनिसकेको
रासन बटुल्न आफ्नो शासन नभई नहुने
रासनलाई स्विट्जरल्यान्ड, दुबई र इन्डोनेसिया पु¥याएपछि
नेपालको विकास र समृद्धिले त्यो लुट ढाक्नुपर्ने
यसको लागि शासन झन् अनिवार्य
अनि त सधैँ नै बोलिरहनुपर्ने
आफ्नो कुशासनलाई सुशासनमा परिभाषित गर्न
अनवरत आफ्नै स्तुति गीत गाएर
आफैँलाई देवतुल्य तुल्याएर
आफ्नै डफ्फा जम्मा पारी गीतिनाटक देखाई
थपडी बजाएर वाहवाह गर्न लगाए
हल्लाखल्लाबाट धमिलो पानी पारेर
मेलमिलापको नाटकमा माछा मार्दै आए
आफूले गाएको गीत मात्र राष्ट्रको गीत बन्ने हो
आफूले दिएको प्रीतमा मात्र यहाँ फूल फुल्ने हो
आफ्नै शिरमा मात्र ताज सुहाउँछ
आफ्नै बोलीमा मात्र राजकाज भरभराउँछ
यस्तै बलियो भ्रम छरेर बाँचेका यी
मुलुकलाई सर्वनाश पारेर ।
आफूले गाएपछि जतिसुकै बेसुरा गीत किन नहोस्
तुकबन्दी गर्न जानेपछि
गीतमा मूच्र्छना आएको ठान्ने यी
एउटा बहम् पालेर अझै बेसुरा गइरहेका
जनताले सुन्न ठाडै इन्कार गरिसक्दा पनि
समयको सुई अगाडि बढिसकेको देख्दा पनि
बिग्रिएको स्वरलाई अनुभवी ठान्नेहरू
आर्यघाट पुग्नुअगाडिको अन्तिम झापझुपको आशामा
राष्ट्रिय एकता र सार्वभौमिकताको चंगा उडाएर
अझै फुटेको मादलको सुरमा
श्री ३ प्रलाप गाइरहेका छन् ।










Facebook Comments