
काठमाडौं । प्रतिनिधि सभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिले जनाएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाअभियोगसम्बन्धी विषयलगायत केही काम बाँकी रहे पनि अधिकांश प्रावधानमा सहमति जुटेको जानकारी दिएको छ।
समितिका सभापतिगणेश पराजुलीले मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताए। उनले समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार सकिन लागेकाले सोमबार बस्ने बैठकबाट बाँकी विषय टुंग्याएर मस्यौदालाई अन्तिम रूप दिने तयारी गरिएको बताए।
उनका अनुसार महाअभियोगजस्ता संवेदनशील विषयमा अझै छलफल जारी रहेको छ। ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरेर साझा धारणा बनाउने प्रयास भइरहेको उनले बताए। उनले सांसदहरूलाई आ–आफ्ना दलको धारणा लिएर छलफलमा आउन आग्रह गरिएको जानकारी दिए।
सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने उनले बताए। महाअभियोगसम्बन्धी व्यवस्थामा फरक–फरक धारणा देखिएकाले बहुआयामिक रूपमा छलफल गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
पराजुलीले नियमावली तयार गर्दा संसदीय अभ्यास र इतिहासलाई ध्यानमा राखिएको बताए। उनले २०१६ सालयताका अनुभव समेट्दै वर्तमान व्यवस्थाअनुसार नयाँ प्रावधानहरू समावेश गर्ने गरी काम भइरहेको जानकारी दिए।
नियमावलीले आगामी पाँच वर्षसम्म प्रतिनिधिसभा सञ्चालन, कानून निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भूमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिएको उनले बताए। साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने उद्देश्यका साथ मस्यौदा तयार पारिएको उनले उल्लेख गरे।
समितिले लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिँदै सत्तापक्षसँगै प्रतिपक्षको आवाजलाई पनि समेट्ने गरी नियमावली तयार पारिएको दाबी गरिएको छ। सञ्चारकर्मीलाई संसदीय समितिमा प्रवेश सुनिश्चित गर्ने प्रावधानसमेत समावेश गरिएको उनले जानकारी दिए।
समितिले आइतबार सभामुख तथा पूर्वमहासचिवहरूसँग छलफल गरेर सुझाव लिएको छ। सभामुखलाई समितिको प्रगतिबारे जानकारी गराइएको थियो।
नियमावली निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरिएको र मस्यौदा प्रचलित कानून, अदालतका फैसला तथा यसअघिका संसदीय अभ्यासको सीमाभित्र रहेर तयार पारिएको उनले बताए।










Facebook Comments