२०८३ साल वैशाख ६ गते आइतबारको यो अंकसँगै देशान्तर साप्ताहिक ४४औँ वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहासमा कुनै पनि सञ्चारमाध्यमले निरन्तर चार दशक पार गर्नु आफैँमा गौरवको विषय हो भने एउटा साप्ताहिक पत्रिकाको निरन्तर प्रकाशन त सिंगो सञ्चारक्षेत्रकै लागि थप गर्वको विषय नै हो । 

चार दशक लामो यात्रामा देशान्तर साप्ताहिकले अनेकौँ उतार—चढाव, आरोह–अवरोह, उकाली–ओराली तथा समस्या व्यहोरे पनि आफ्नो लक्ष्यमा कत्ति पनि विचलित नभएको यहाँहरू सबैमा विदितै छ । पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूको साथ, सहयोग, सुझाव र सद्भावकै कारण हामीले आफ्नो लक्ष्यमा नडमगाई यो यात्रा तय गर्न हामी सफल भएका छौँ । 

ad

निर्दलीय पञ्चायत, बहुदलीय प्रजातन्त्र, माओवादीको सशस्त्र विद्रोह, राजाको प्रत्यक्ष शासनकाल तथा संघीय लोकतान्त्रिक गणतन्त्र र जेनजी विद्रोहसम्म आइपुग्दा जनताको अधिकार र सुसूचित गराउन देशान्तर सदैव अग्रमोर्चामा रह्यो । लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको पक्षमा आफूलाई सतीसालझैँ उभ्याइरह्यो । निर्दलीय पञ्चायती व्यवस्था होस् वा माओवादीको कथित जनयुद्ध अनि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल, कुनै पनि कालखण्डमा देशान्तरले आफ्नो लक्ष्य बिर्सेन र निरन्तर लोकतन्त्रको पक्षमा पहरेदारी गरिरह्यो, जुन आजपर्यन्त जारी छ, हाम्रो यो ‘मिसन’ जारी नै रहनेछ । 

झन्डै एक दशकदेखि नेपाल मात्रै होइन, विश्व समुदाय नै विभिन्न प्रतिकूल अवस्थाबाट गुज्रिरहेको छ । इरान–अमेरिका र इजरायल, रुस–युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा नकारात्मक असर पर्दा नेपालजस्ता विकासशील देशहरू पनि समस्या भोग्न बाध्य भएका छन् । 

गएको वर्ष २०८२ नेपालको राजनीतिक इतिहासमा स्मरणीय र ऐतिहासिक साबित भएको छ किनभने गतवर्ष नेपालको राजनीतिक इतिहासको सबभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको दोस्रोपटक सम्पन्न विशेष महाधिवेशनले पुराना पुस्ताका सबै नेताहरूलाई ससम्मान बिदाइ गर्दै युवाहरूको नेतृत्व स्थापित गरेको छ । त्यसैगरी अनुमान नै नगरिएको जेनजी विद्रोहले करिब दुईतिहाइको सरकार बालुवाको महलझैँ ढाल्दै झन्डै २ वर्षअगाडि नै सम्पन्न चुनावले अनपेक्षित र अविश्वसनीय परिणामबाट राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गरेका वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहको नेतृत्वलाई अनुमोदन गर्दै झन्डै दुईतिहाइको बहुमत दियो । नेपालको इतिहासमा यी तीनवटै घटनालाई सबैले अप्रत्यासित र आश्चर्यजनक रूपमा लिएका छन् । 

चुनावको परिणामसँगै बनेको सरकारसँग जनअपेक्षा धेरै नै बढेको छ । तर, यसैबीचमा तीनपटक इन्धनमा भएको मूल्यवृद्धिले अकासिएको महँगीले जनजीवन अत्यन्तै कष्टकर भए पनि पहिलेजस्तो जनताले विरोध नगर्नुलाई आश्चर्य रूपमा लिइएको छ । आफूलाई राजनीतिको मियो र धरोहर ठान्ने दलहरूको लज्जाजनक पराजयपछि चमत्कारिक रूपमा उदाएको नयाँ शक्तिको रूपमा स्थापित रास्वपाको बालेन्द्र नेतृत्वको सरकारले जे–जस्तो निर्णय गरे पनि नेपाली जनताले स्विकारिरहेको भान सर्वत्र गरिएको छ । यसरी हेर्दा वर्तमान सरकार लोकतान्त्रिक संघीय गणतन्त्रको बर्खिलापमा गए पनि आफूले मतदान गरेको हुनाले चुपचाप सहिरहने हो भने प्रधानमन्त्री बालेन्द्रलाई निरंकुश हुने मार्गप्रशस्त गरेको रूपमा बुझ्ने हो कि, नेपाली कांग्रेसका संस्थापक नेता एवं जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहले भनेको जस्तै ‘भेडा’ हुन् भन्ने रूपमा लिनुपर्नेछ । देशान्तर सदैव लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार र स्वतन्त्र न्यायको पक्षमा उभिएको इतिहासलाई निरन्तरता दिँदै वर्तमान सरकारले यसको उल्लंघन गरेमा सच्चा पहरेदारको रूपमा विगतमा जस्तै उभिनेछ । सरकारले जनजीविकाको सवालमा गरेका हरेक निर्णयको पक्षमा रहन प्रतिबद्ध छ । 

देशान्तर मिडिया प्रालिले देशान्तर साप्ताहिक मात्रै प्रकाशित गरेको छैन, यसका डिजिटल प्लेटफर्मले जतिसक्दो छिटो समाचार, सूचना तथा जानकारी आमनागरिकमा पु¥याउने काम गरिरहेका छन् । अनलाइन संस्करण देशान्तर न्युजडटकम र रेडियो देशान्तर १००.३ले समाचारसँगै मनोरञ्जनात्मक सामग्री पस्किरहेका छन् । आगामी दिनमा यी सबै माध्यमलाई थप सबल र प्रभावकारी बनाउँदै सूचना प्रवाहमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ । अन्त्यमा, हाम्रो यो अभियानलाई सदैव साथ दिने विज्ञापनदाता, पाठक, श्रोता, शुभेच्छुक र देश–विदेशमा रहनुभएका आमनेपाली दिदीबहिनी तथा दाजुभाइमा आभार व्यक्त गर्दै, नववर्ष २०८३को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।