
काठमाडौँ । नेपाली कांग्रेसभित्र राष्ट्रिय सभा संसदीय दलको नेतृत्व परिवर्तन हुने सम्भावनाबारे चर्चा चुलिएको छ। प्रतिनिधि सभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएपछि यस्तो बहस सुरु भएको हो।
कांग्रेस संसदीय दलको विधानअनुसार दलका नेताले पार्टी सभापतिसँग परामर्श गरेर राष्ट्रिय सभा सदस्यहरूमध्येबाट दलको नेता मनोनीत गर्न सक्ने व्यवस्था छ। यही प्रावधानका आधारमा हालका नेता कृष्णप्रसाद सिटौलालाई परिवर्तन गरिने चर्चा बाहिरिएको हो।
पार्टीभित्रको आन्तरिक समीकरणका कारण सिटौलामाथि दबाब बढ्न सक्ने आकलन गरिँदै आएको छ। केही नेताहरूले सिटौलाको सट्टा कमला पन्तलाई राष्ट्रिय सभा दलको नेता बनाउने तयारी भइरहेको दाबी गरेका छन्। सिटौलालाई यसअघि शेरबहादुर देउवाले उक्त जिम्मेवारी दिएका थिए।
कांग्रेसभित्र नयाँ नेतृत्व चयनसँगै आन्तरिक शक्ति सन्तुलन र जिम्मेवारी बाँडफाँटको विषयले थप गति लिने संकेत देखिएको छ। यद्यपि, नवनिर्वाचित नेता आङ्देम्बेले तत्काल नेतृत्व फेरबदलको कुनै तयारी नभएको स्पष्ट पारेका छन्। 'अहिले म बधाई र शुभकामना ग्रहणमै व्यस्त छु, यसबारे कुनै छलफल भएको छैन,' उनले प्रतिक्रिया दिएका छन्।










Facebook Comments