बेल्जियम । नेपाली व्यवसायी संघ बेल्जियमको हालै सम्पन्न आठौँ महाधिवेशनले संस्थाको नेतृत्वमा नयाँ ऊर्जा र अभूतपूर्व एकताको सन्देश प्रवाह गरेको छ । अप्रिल २७ सोमबारका दिन सम्पन्न महाधिवेशनबाट सफल व्यवसायी काशी दनाई सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । दनाई बेल्जियममा प्रतिष्ठित 'सुशी किंग ग्रुप' का प्रबन्ध निर्देशक समेत हुन् । उनले १० रेस्टुरेन्टहरू सहित विभिन्न क्षेत्रका व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा रहेका छन् । उनको व्यावसायिक कुशलता र अनुभवले संघलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।

यस महाधिवेशनले संस्थागत एकताको उदाहरण पनि प्रस्तुत गरेको छ । नेतृत्व चयनका क्रममा अर्का प्रत्यासी एवं सहयात्री मदन दवाडीले आपसी सहमति र संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएर एकताको वातावरण निर्माण गरेका थिए । दवाडीले प्रदर्शन गरेको उच्च भावना र त्यागको यतिबेला बेल्जियमस्थित नेपाली समुदायमा विशेष चर्चा र प्रशंसा भइरहेको छ । एकताको यही भावनालाई आत्मसाथ गर्दै महासचिवको महत्त्वपूर्ण जिम्मेवारी भुवन सुवेदीले प्राप्त गरेका छन् ।

ad

नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की निर्वाचित भए । त्यसैगरी, सचिवमा दिपेश सुवेदी, महिला सचिवमा रिचा गुरुङ, कोषाध्यक्षमा राज पुरी र सह-कोषाध्यक्षमा जितेन्द्र केसी निर्वाचित भए । कार्यसमिति सदस्यहरूमा देबु श्रेष्ठ (लुभेन) र उमेश घिमिरे (एन्तवेरपेन) रहेका छन् भने खुला सदस्यहरूमा राजु थापा, भरत जंग क्षेत्री, कुल बहादुर कार्की र सरोज आचार्यले जिम्मेवारी पाए ।

नवनिर्वाचित कार्यसमितिले बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको हकहितको संरक्षण गर्ने, व्यावसायिक सुरक्षालाई थप सुदृढ बनाउने र समग्र नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तित्वहरूको नेतृत्व र युवा जोसको सम्मिश्रणले आगामी दिनमा संस्थाले नयाँ आयाम थप्ने विश्वास बेल्जियमवासी नेपाली समुदायले लिएको छ ।