काठमाडौं । आठ दशक लामो गौरवशाली इतिहास बोकेको देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले आफ्नो परम्परागत शैलीलाई बदल्दै चुनावअगावै पार्टी सभापति गगनकुमार थापालाई ‘भावी प्रधानमन्त्री’का रूपमा घोषणा गरेर जुन साहसिक कदम चालेको छ, यसले पार्टीभित्र मात्रै होइन मुलुकको राजनीतिलाई नै तरंगित बनाइदिएको छ । पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट आएको गगनकुमार थापा नेतृत्वले केन्द्रीय समितिले संसदीय चुनावअघि पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि यसको पार्टीका कार्यकर्तासहित आममतदातामा सकारात्मक सन्देश गएको सर्वत्र विश्लेषण गर्न थालिएको छ । कांग्रेसले सभापति थापालाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने कुरा केवल एउटा व्यक्तिलाई अगाडि सार्ने निर्णय मात्र होइन, बरु ‘जेनजी’   आन्दोलनले खोजेको सुशासन, पारदर्शिता र युवा नेतृत्वको उत्कट चाहनालाई सम्बोधन गर्ने कांग्रेसको एउटा ऐतिहासिक राजनीतिक ‘ब्रेकथ्रु’को रूपमा बुझ्नुपर्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । स्मरणीय छ– कांग्रेसले जुन–जुन समयमा भावी प्रधानमन्त्रीको घोषणा छ, ती चुनावमा आमजनताले गाढा विश्वास व्यक्त गरेका छन् र कांग्रेसले सहज जित पाएको छ । २०१५ सालमा कांग्रेसले बीपी कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार तोकेको थियो, त्यतिबेला कांग्रेसले दुईतिहाइ बहुमत पायो, २०३६ सालको जनमतसंग्रहमा बहुदलले जिते मधेशका नेता परशुनारायण चौधरीलाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार बनाउँछ भनेर बीपी स्वयंले भनेका थिए, अफसोच ! कम्युनिष्टहरू दरबारतिर लाग्दा बहुदलले हा¥यो, चौधरी प्रधानमन्त्री हुन पाएनन् । २०५६ सालको चुनावमा कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका उम्मेदवार तोकेको थियो, कांग्रेसले बहुमत पायो, भट्टराई प्रधानमन्त्री बने । करिव तीन दशकपछि कांग्रेसले फेरि भावी प्रधानमन्त्रीको उम्मेदवार तोकेको छ, जसले सबैमा उत्साह जगाएको छ ।  

लामो समयदेखि गुटबन्दीको घेरा, विचार नै नमिल्ने दलहरूसँगको गठबन्धन, नेतृत्वको सुस्तता र अस्पष्ट चुनावी एजेन्डाका कारण रक्षात्मक बनेको कांग्रेसले यसपटक भने समयको पदचापलाई सही ढंगले ठम्याएको छ । विश्लेषकहरूका अनुसार, चुनावपछि मात्र नेतृत्व चयन गर्ने पुरानो प्रचलनलाई तोडेर ‘भोट हाल्नुअघि नै नेतृत्व थाहा पाउने’ अधिकारलाई सुनिश्चित गर्दै कांग्रेसले देशलाई रूपान्तरण र पुस्तान्तरणको ठोस मार्गप्रशस्त गरेको छ । भदौ २३ को युवा विद्रोहपछि बदलिएको राष्ट्रिय मनोविज्ञान र देशको विशिष्ट अवस्थाको मागलाई हृदयंगम गर्दै कांग्रेसले चालेको यो कदमले पार्टी कार्यकर्तामा मात्र होइन, आममतदातामा समेत नयाँ आशा र ऊर्जा सञ्चार गरेको छ । महत्वपूर्ण कुरा त यो निर्णयमा ८० वर्षको अनुभव, गौरवपूर्ण इतिहास, सुझबुझ र युवा जोशको मिश्रण भेटिन्छ । 

ad

कांग्रेसले यसपालि सभापति गगनकुमार थापालाई नै किन भावी प्रधानमन्त्री घोषणा ग¥यो ? कांग्रेसले त्यसको कारण र आधार स्पष्ट रूपमा खुलाएको छ । उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावअनुसार थापालाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्नुको पहिलो आधार भनेको मुलुकको विशिष्ट परिस्थितिको माग हो । यसले मुलुकको विशिष्ट परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

दोस्रो आधार कांग्रेसले पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनका आधारमा उम्मेदवारको चयन गर्न चाहेको हो । पार्टीले गगन थापाको तुलनात्मक अध्ययन र विश्लेषण गर्न मतदातालाई सहज बनाउने कांग्रेसको लक्ष्य छ ।

तेस्रो आधार भनेको परिवर्तित समय र आवाजलाई डाइनामिक ढंगले नेतृत्व गर्न सक्ने क्षमता गगन थापासँग रहेको छ । गगन थापाले देशको समस्याहरूको हल गर्न समयको साथ परिवर्तनलाई आत्मसात् गर्ने क्षमता राख्ने कांग्रेसको विश्वास छ ।

चौथो, गगन थापामा जुझारु विद्रोही छवि मात्रै होइन, प्रतिकूल समयमा संयम राखेर परिपक्व ढंगले समस्याहरू हल गर्ने क्षमता रहेको कांग्रेसको धारणा छ । उपसभापति शर्माले भनेका छन्– जुझारु विद्रोही छवि मात्रै होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ, गगन थापासँग । उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दीर्घजीवी । देशको प्रधानमन्त्री बन्ने व्यक्तित्वले त झनै आवेगलाई होइन, संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने हुन्छ । त्यो सामथ्र्य राख्ने व्यक्तित्व हामीले प्रधानमन्त्री पदका लागि सर्वाधिक उपयुक्त भनेर अघि सारेका छौँ । 

पाँचौँ आधार भनेको गगन थापाले लोकतान्त्रिक संघर्षमा सबल भूमिका खेलेका छन् र सत्तामा उनको अब्बल प्रदर्शन पनि देखिइएको छ । छोटो समयमै मन्त्रीका रूपमा उनले प्रस्तुत गरेको विषयगत र व्यावहारिक कुशलता मुलुकको प्रधान नेतृत्वका लागि प्रारम्भिक अनुभव र दृष्टान्त बनाएको कांग्रेसको भनाइ छ । 

छैटौँ आधारमा गगन थापाले देशको भूगोल र नागरिकको भावना गहिरोसँग बुझ्न सक्ने क्षमता राखेका छन् । शर्माले स्पष्ट भनेका छन्– देश भन्नु एकातर्फ भुगोल अर्कातर्फ नागरिकको भावना, दुवैको सबल सम्मिश्रण हो ।  प्रधानमन्त्रीको उम्मेदवारले देशको दूरदराजदेखि संसारको पल्लो कुनामा बसेका नेपालीसम्मको भावना गहिरोसँग बुझेको हुनैपर्दछ भन्ने मान्यतामा हामी प्रस्ट छौँ । 

अन्तिम आधार भनेको मधेशबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउनु हो । जसले मधेशका नागरिक र क्षेत्रको सम्मान जनाउने कांग्रेसको दृष्टिकोणलाई जनाउँछ । गगन थापालाई मधेसबाट उम्मेदवार बनाउनु नेपाली कांग्रेसको समावेशी दृष्टिकोणको प्रतीक हो । प्रधानमन्त्रीको उम्मेदवारलाई सबैभन्दा बढी जनसंख्या भएको भेग सहादतको भूमि, रामजानकीको आँगनी मधेसबाट उम्मेदवार बनाउनु भनेको एकातर्फ मधेस र मधेसका मतदाताप्रति नेपाली कांग्रेसले सम्मान प्रकट गरेको हो, अर्कातर्फ मधेसको माटोबाट विजयी गराएर त्यहाँको भावनासँगै सिंगो देशको भावनालाई सही र सबल ढंगले नेतृत्व गर्ने संकल्प पनि भएको शर्माको भनाइ छ । मधेस कांग्रेसको स्थापनाकालदेखि नै आधारभूमि हो । तर, मधेश आन्दोलनपछि मधेशमा कांग्रेसको जनाधार खस्किँदै गएको अवस्थामा त्यहाँको विरासतलाई कायम गर्न पनि कांग्रेसले आफ्नो सभापतिलाई मधेसबाट नै उम्मेदवार बनाएको हो । गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्दा त्यसको प्रभाव अन्य जिल्ला र क्षेत्रमा पनि पर्ने देखिएको छ ।

 

कांग्रेसमा १०६ नयाँ अनुहार

नेपाली कांग्रेसको इतिहासमा यसपटकको निर्वाचन केवल सत्ता प्राप्तिको लडाइँ मात्र रहेको छैन, बरु यो पार्टीभित्रै एउटा ठूलो ‘पुस्तान्तरण र रूपान्तरण’को महासंग्राम बन्न पुगेको छ र यसको स्पष्ट संकेत हालै भएको विशेष महाधिवेशनबाट नेतृत्व चयन र आसन्न निर्वाचनमा उम्मेदवार चयनले दिएको छ । विगतका निर्वाचनहरूमा वैशाखीको सहारा खोज्ने गरेको कांग्रेसले यसपटक महासमिति बैठकको निर्णयलाई अक्षरशः पालना गर्दै देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्ने साहसिक निर्णय गरेको छ । यसले कांग्रेसका लाखौँ कार्यकर्तामा आफ्नो झण्डा बोकेर ‘रुख’ चिह्नमा मतदान गर्न पाउने उत्साह थपिदिएको छ ।

कांग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा सन्तुलन मात्रै मिलाएको छैन, युवाहरूलाई उल्लेख्य अवसर दिएको छ । कुल १६५ उम्मेदवारमध्ये १०६ जना (झन्डै दुईतिहाइ) नयाँ अनुहार छन् । यस सूचीमा पार्टीका प्रभावशाली केन्द्रीय नेतादेखि जिल्ला तहका सक्रिय र लोकप्रिय कार्यकर्तासम्म समेटिएका छन् । 

कोशी प्रदेश

कोशी प्रदेशको ताप्लेजुङबाट गजेन्द्रप्रसाद तुम्याङ लिम्बू, पाँचथरबाट नरेन्द्रकुमार केरूङ र इलाम–१ बाट निस्कल राई तथा २ बाट भेषराज आचार्य उम्मेदवार छन् । झापाका पाँच निर्वाचन क्षेत्रहरूमा क्रमशः केशवराज पाण्डे, सरिता प्रसाईं, राजेन्द्र घिमिरे, देउमान थेबे र मन्धरा चिमरियालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।  

मोरङमा प्रभावशाली नेताहरूको बाहुल्यता छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा क्रमशः खड्गबहादुर फागो, डा. मीनेन्द्र रिजाल, डा. सुनिल शर्मा, गुरुराज घिमिरे, फूलकुमार लालबानी र डा. शेखर कोइराला उम्मेदवार छन् । सुनसरीमा सुजेन्द्र तामाङ, राजीव कोइराला, विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीलाई कांग्रेसले उम्मेदवार बनाएको छ । त्यस्तै, धनकुटाबाट दिनेश राई, तेह्रथुमबाट सन्तोष सुब्बा, संखुवासभाबाट प्रकाशसिंह कार्की, ओखलढुंगाबाट कुमार लुइँटेल, खोटाङबाट वीरकाजी राई र उदयपुरका दुई क्षेत्रबाट क्रमशः विदुर बस्नेत एवं रामकुमार राई कांग्रेसका उम्मेदवार छन् । 

मधेश प्रदेश

मधेश प्रदेशको सप्तरीबाट रामदेव साह, रामकुमार यादव, दिनेशकुमार यादव र तेजुलाल चौधरी छन् भने सिराहबाट रामसुन्दर चौधरी, रामचन्द्र यादव, सुभाषचन्द्र यादव र चन्द्रकलाकुमारी यादव उम्मेदवार छन् । धनुषामा रामपल्टन यादव, दिनेश पर्सेला विमलेन्द्र निधि र महेन्द्र यादवलाई कांग्रेसले उम्मेदवार बनाएको छ । महोत्तरीबाट मुकेशराज काफ्ले, किरण यादव, बजरंग नेपाली र महेन्द्रकुमार राय उम्मेदवार बन्दा सर्लाहीमा शम्भुलाल श्रेष्ठ, डा. सरोज यादव, विनोद खनाल र सभापति गगनकुमार थापा उम्मेदवार बनेका छन् । रौतहटबाट अनिलकुमार झा, फिर्दोश आलम, रामकृपाल यादव र देवप्रसाद तिमिल्सिना, बाराबाट शम्भु बुढाथोकी, भैयाराम चौधरी, फरमुल्लाह मन्सुर र श्यामबाबु गुप्ता तथा पर्साबाट अनिलकुमार रूंगटा, अजय चौरसिया, सुरेन्द्रप्रसाद चौधरी र श्यामबाबु गुप्तालाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशमा दोलखाबाट अजयबाबु शिवाकोटी र रामेछापबाट रामचन्द्र खड्का उम्मेदवार बन्दा सिन्धुलीमा उज्ज्वल बराल र सुशीला थिङ तथा रसुवामा मोहन आचार्यले कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका छन् । काभ्रेबाट गुणराज मोक्तान र मधु आचार्य तथा सिन्धुपाल्चोकबाट जंगबहादुर लामा र वंशलाल तामाङलाई कांग्रेसले उम्मेदवार बनाएको छ । धादिङमा कृष्ण रिजाल र रमेशप्रसाद धमला तथा नुवाकोटमा डा. प्रकाशशरण महत र जगदिश्वरनरसिंह केसी उम्मेदवार बनेका छन् । मकवानपुरमा महालक्ष्मी (डिना) उपाध्याय र बुद्ध लामा तथा भक्तपुरमा किरण न्यौपाने र कबिर राणा उम्मेदवार बनेका छन् । काठमाडौंका १० क्षेत्रहरूमा क्रमशः प्रबल थापा, कबिर शर्मा, रमेश अर्याल, सचिन तिमल्सिना, प्रदीप पौडेल, कृष्ण सबुज बानियाँ, प्रमोदहरि गुरागाईं, सपना राजभण्डारी, नानु बास्तोला र हिमाल कार्की उम्मेदवार भएका छन् । चितवनमा राजन बुर्लाकोटी, मीनाकुमारी खरेल र टेकप्रसाद गुरुङ तथा ललितपुरमा उदयशम्शेर राणा, प्रेमकृष्ण महर्जन र जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

गण्डकी प्रदेश 

गण्डकी प्रदेशमा गोरखाबाट प्रेमप्रकाश खत्री र प्रकाशचन्द्र दुवाडी, लमजुङबाट गमप्रसाद गुरुङ, तनहुँबाट गोविन्द भट्टराई र शंकर भण्डारी उम्मेदवार भएका छन् । कास्कीमा तिलकबहादुर रानाभाट, माधवप्रसाद बास्तोला र मनोज गुरूङ तथा मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन उम्मेदवार भएका छन् ।

पर्वतबाट अर्जुनप्रसाद जोशी, स्याङ्जाबाट भरतराज ढकाल र भागवतप्रकाश मल्ल, म्याग्दीबाट कर्णबहादुर भण्डारी, बाग्लुङबाट भीमबहादुर श्रीस र टेकराज पौडेल तथा नवलपुरबाट बालकृष्ण घिमिरे र ओमबहादुर घर्तीले दर्ता गरे ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा विनोदकुमार चौधरी र देवेन्द्रराज कँडेल (परासी), हिराबहादुर खत्री, चुन्नप्रसाद शर्मा, सुशील गुरुङ, आशुतोष मिश्र र भरतकुमार शाह (रूपन्देही) उम्मेदवार भए । पाल्पामा सन्दीप राना र हिमालदत्त श्रेष्ठ, गुल्मीमा चन्द्रकान्त भण्डारी र भुवनप्रसाद श्रेष्ठ, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, प्युठानमा डा. गोविन्दराज पोखरेल र रोल्पामा डा. सुदनकुमार वलीले  दर्ता गरे । रुकुमपूर्वबाट कुशुमदेवी थापामगर, कपिलवस्तुबाट अहतर कमाल, सुरेन्द्रराज आचार्य र अभिषेकप्रताप शाह तथा दाङबाट योगेन्द्र चौधरी, किरणकिशोर घिमिरे र दीपक गिरी सिफारिस भएका छन् । बाँकेमा नारायणप्रसाद गौडेल, सुधान्सु कोइराला र अमरसिंह पुन तथा बर्दियामा सञ्जयकुमार गौतम र किशोरसिंह राठोरले दर्ता गरे ।

कर्णाली प्रदेश 

कर्णालीमा सुर्खेतबाट विष्णुबहादुर खड्का र नारायण कोइराला, दैलेखबाट बास्ना थापा र दिक्पालकुमार शाही तथा जाजरकोटबाट खड्कबहादुर बुढाले दर्ता गरे । सल्यानमा केशबहादुर विष्ट, डोल्पामा कर्णबहादुर बुढा, जुम्लामा दिपबहादुर शाही, रुकुम पश्चिममा राजु केसी, हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग शाही र कालिकोटमा हर्षबहादुर बम उम्मेदवार भएका छन् ।

सुदूरपश्चिम प्रदेश 

सुदूरपश्चिम प्रदेशमा बाजुराबाट जनकराज गिरी, अछामबाट भरतकुमार स्वाँर र पुष्पबहादुर शाह, डोटीबाट भरतबहादुर खड्का, बैतडीबाट चतुरबहादुर चन्द र दार्चुलाबाट धर्मानन्द जोशीले दर्ता गर्दा बझाङमा प्रकाश रसाईली ‘स्नेही’, डडेल्धुरामा नैनसिंह महर तथा कैलालीका पाँच क्षेत्रमा क्रमशः जनकराज चौधरी, विजयबहादुर स्वार, भीम बडुवाल, गोरख बहादुर विष्ट र नरनारायण शाहले दर्ता गरेका छन् । यस्तै कञ्चनपुरमा गोपीप्रसाद उपाध्याय, एनपी साउद र हरिप्रसाद बोहरा उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।