काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक असमझदारी अन्त्य गर्दै आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षले स्वीकार गर्ने वातावरणमा सम्पन्न गर्न साझा संयन्त्र गठन गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले पार्टीको वर्तमान संरचनाबीच समन्वय र विश्वासको वातावरण निर्माण गर्न अस्थायी साझा संयन्त्र आवश्यक रहेको धारणा राखे। उनले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र पछिल्लो विशेष महाधिवेशनपछि विकसित संरचनाबीच संवाद र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

ad

पार्टीभित्र व्यापक एकताको आवश्यकता औंल्याउँदै महतले नेतृत्व तहबाट पहल हुनुपर्ने बताए। उनका अनुसार छिटपुट भेटघाट र अनौपचारिक संवादले मात्र समस्या समाधान नहुने भएकाले सबै पक्ष सहभागी हुने औपचारिक छलफलको प्रक्रिया अघि बढाउनुपर्छ।

महतले तत्काल सम्बोधन गर्नुपर्ने तीन प्रमुख विषयका रूपमा १५औँ महाधिवेशनको निष्पक्षता, क्रियाशील सदस्यता व्यवस्थापन र पार्टी विधान संशोधनलाई अघि सारे। महाधिवेशन निष्पक्ष हुने प्रतिबद्धतासँगै त्यसप्रति कार्यकर्तामा विश्वास पैदा गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा देखिएका विवादलाई संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै उनले सदस्यताको अभिलेखलाई व्यवस्थित र विश्वसनीय बनाउन डिजिटल प्रणालीको प्रयोग गर्न सकिने सुझाव दिए। मृत्यु भएका वा अन्य दलमा आबद्ध भइसकेका व्यक्तिको विवरण अद्यावधिक गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

लामो समयदेखि पार्टीमा सक्रिय रहेका सदस्यहरूलाई केवल प्रक्रियागत कारण देखाएर बाहिर राख्न नहुने उल्लेख गर्दै उनले सदस्यता व्यवस्थापनलाई न्यायोचित र समावेशी बनाउनुपर्ने धारणा राखे।

त्यस्तै, विधान संशोधनको प्रक्रिया पनि सबै पक्षबीच सहमति जुटाएर अघि बढाउनुपर्ने महतको भनाइ थियो। उनले विभिन्न संरचनालाई समायोजन गर्दै छोटो अवधिका लागि साझा संयन्त्र गठन गर्न सके आगामी महाधिवेशनलाई सर्वस्वीकार्य बनाउने आधार तयार हुने विश्वास व्यक्त गरे।

महतले पार्टीभित्र विभाजनको कुनै आवश्यकता नरहेको स्पष्ट पार्दै अहिलेको प्राथमिकता संगठनात्मक एकता, संवाद र सहकार्य हुनुपर्नेमा जोड दिए।