
काठमाडौं । गत संसदीय चुनावबाट अप्रत्याशित र अनपेक्षित रूपमा झन्डै दुईतिहाइनजिकको सरकार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेनले छिमेकी देश भारतको संस्थापन पक्षलाई टेरपुच्छर नलगाएपछि भारतले रविमार्फत नेपालमा सम्बन्ध विस्तारको रणनीति अपनाएको छ । चुनावको नतिजा अन्तिम चरणमा पुगेका बेला र नयाँ प्रधानमन्त्रीको शपथलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रवि लामिछाने र बालेनलाई बधाई दिँदै सम्बन्ध नयाँ सिराबाट सुरु हुने बताएका थिए । यसबीचमा भारतका विदेशसचिव नेपाल आएर प्रधानमन्त्री बालेनसँग भेट गर्ने र भारत भ्रमणको निमन्त्रण दिने तयारी दिल्लीले गरे पनि बालेनले प्रोटोकल देखाउँदै कसैसँग नभेट्ने र १ वर्षसम्म विदेश भ्रमणमा नजाने संकेत दिएपछि अहिले भारत रास्वपाका सभापति लामिछानेमार्फत सम्बन्ध विस्तारका लागि अघि बढेको कुटनीतिकवृतमा चर्चा छ । त्यही प्रयासस्वरूप भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमामा लामिछाने पाँचदिने भ्रमण पूरा गरेर शुक्रबार मात्रै काठमाडौं फर्किएका छन् ।
सत्तारुढ दलको सभापतिको हैसियतमा मात्रै रहेका र लामो समयदेखि सहकारी ठगी विवादमा मुछिएका लामिछानेको पाँचदिने दिल्ली भ्रमण र त्यहाँ उनले पाएको ‘अभूतपूर्व’ राजकीयसरहको स्वागतले नेपालको आन्तरिक राजनीति र बाह्य कूटनीतिमा ठूलै धक्का दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको कडा कूटनीतिक अडान, ‘प्रोटोकल’को बहानामा भारतीय अधिकारीहरूलाई भेट्न अस्वीकार गर्ने नीति र सीमा विवादमा संसद्मा दिएको कडा अभिव्यक्तिको पृष्ठभूमिमा दिल्लीले रवि लामिछानेलाई ‘रातो कार्पेट’ ओछ्याउनु संयोग मात्रै नभई प्रधानमन्त्री शाहलाई साइजमा राख्ने र दबाब बढाउने नयाँदिल्लीको सुनियोजित कूटनीतिक अस्त्रको रूपमा नेपालका विश्लेषकहरूले चर्चा गर्न थालेका छन् ।
प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र ‘प्रोटोकल’का नाममा भारतीय राजदूत नवीन श्रीवास्तव र विदेश सचिव विक्रम मिस्रीलाई भेट्न अस्वीकार गरेर काठमाडौंमा एउटा राष्ट्रवादी धारको नेतृत्व गर्न खोजे । संसद्मा सीमा मिचिएको कडा अभिव्यक्ति दिनु र कालापानी–लिपुलेक विवादमा प्रमाण खोज्न सिधै बेलायती दूतावासलाई गुहार्नुले दिल्ली सशंकित मात्र बनेन, चिढियो पनि । तर, दिल्लीले शाहको यो ‘इगो’लाई सिधै बाइपास गरिदियो । प्रधानमन्त्रीसरहको हैसियत र टिम (जयशंकर, डोभाल, अमित शाह र स्वयं मोदी) खडा गरेर रवि लामिछानेलाई स्वागत गर्नुको अर्थ हो ।
काठमाडौंमा प्रधानमन्त्रीले नभेटे पनि हामीसँग संवादका अरू बलिया विकल्प र माध्यमहरू खुला छन् भन्ने सन्देश दिन खोजेको रूपमा अर्थ लगाइएको छ । हुन त रवि भारत जाँदै गर्दा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो भ्रमण नितान्त व्यक्तिगत भनेर सरकार स्वामित्व लिन पनि पन्छिएको अवस्थामा भारतले रविमार्फत सरकारमाथि दबाब बढाउने रणनीति लिएको परराष्ट्र मामिलाका जानकारहरू बताउँछन् ।
भारतले सधैँ नेपालका परम्परागत शक्ति (कांग्रेस, एमाले, माओवादी)लाई उपयोग गर्दै आएको इतिहास छ । तर यसपटक दशकौँपछि नेपालमा नयाँ र बलियो राजनीतिक समीकरण (शाह–लामिछाने गठबन्धन) बनेपछि दिल्लीले आफ्नो रणनीति बदल्यो । रास्वपाले ‘आफूसँग विगतको कुनै कूटनीतिक बोझ छैन’ भनिरहेको सन्दर्भमा, दिल्लीले नेपालको नयाँ पुस्ता (जेन–जी) र नयाँ शक्तिलाई आफ्नो प्रभावमा राख्न लामिछानेलाई अचम्मको महत्व दिएको छ । सबैभन्दा उदेकलाग्दो पक्ष त नेपाल सरकारको लाचारी र छटपटी हो । रास्वपा सभापतिको भ्रमणलाई सरकारका प्रवक्ताले ‘नितान्त व्यक्तिगत’ भन्दै पन्छाउन खोजे, जुन कूटनीतिक रूपमा अदूरदर्शी र केटाकेटीपन हो । पूर्वराजदूत दीपकुमार उपाध्यायले भनेझैँ, भारतीय प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका समझदारीहरूको अपनत्व सरकारले लिन नसक्नु ठूलो भूल हो । एकातिर रविलाई व्यक्तिगत भ्रमण भन्ने, अर्कोतिर उनले दिल्लीमा माहोल बनाएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हतार–हतार दिल्ली पठाउने तयारी गर्नुले सरकारभित्रको कूटनीतिक विरोधाभास र छटपटीलाई छताछुल्ल पारेको छ ।
दिल्ली जहिल्यै आफ्नो स्वार्थ र हितमा मात्र केन्द्रित हुन्छ । नेपालको पार्टी राजनीतिमा खेलेर आफ्नो पकड बलियो बनाउनु उसको पुरानै कूटनीतिक चरित्र हो । रवि लामिछानेले दिल्लीमा पाएको स्वागतले उनको व्यक्तिगत र पार्टीगत उचाइ त बढाएको देखिएला, तर नेपालको कूटनीतिक संस्थागत जगलाई यसले कमजोर बनाएको छ । प्रधानमन्त्री शाह र रास्वपा नेतृत्वबीच कूटनीतिक लाइनमा देखिएको यो दुईमुखे नीति (शाहको निषेध र रविको आत्मसमर्पणजस्तो देखिने नीति)ले अन्ततः नेपाललाई वैदेशिक चलखेलको अखडा बनाउने जोखिम बढाएको छ ।










Facebook Comments