पूर्वपञ्चहरूको पार्टी राप्रपाभित्र लामो समयदेखि नेतृत्वका बीचमा देखिएको विवाद अन्ततः पार्टी विभाजनमै गएर टुंगिएको छ । आमनिर्वाचनमा आशा गरेअनुरूपको नतिजा नआएपछि पार्टीभित्र संस्थापन र इतरपक्षबीच पानी बाराबारको अवस्था आएको थियो । राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको पार्टीमा महामन्त्री धवलशमशेर राणा थिए । उनीहरूबीच पछिल्लो महाधिवेशनमा गज्जबको गठजोड हुँदा लामो समयदेखि नेतृत्व गरेका कमल थापा विस्थापित भएका थिए । यी दुई मिलेर कमल थापालाई हराएर पार्टीलाई सही लाइनमा ल्याएको भन्दै २०७९को आमनिर्वाचनमा राम्रो सफलता पाएका थिए । तर, गत फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट (जुम्लामा ज्ञानेन्द्र शाही)मात्रै जितेपछि महामन्त्री धवल पक्षले लिङ्देनको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै पुनर्गठनको प्रस्ताव गरेका थिए । 

उल्टै लिङ्देनले धवल पक्षले पार्टीभित्र असहयोग गरेको आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिएका थिए । तर, विवाद बढ्दै जाँदा अन्ततः धवलसहित १८७ नेता कार्यकर्ताहरूले एकैपटक पार्टी छाडेका छन् ।  महामन्त्री राणासहित मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठलगायतले पार्टी छाडेका हुन् । उपत्यकामा उपलब्ध पार्टीका केही पदाधिकारी, नेता, केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सदस्य एवं कार्यकर्ताले पछिल्ले बिहीबार सामूहिक रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरूले मूल नेतृत्वको कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्था, जनताकेन्द्रित राजनीतिका सम्भावना क्षीण हुँदै गएकाले अलग हुनुपरेको उल्लेख गरेका छन् । पार्टी छाडेको घोषणा गर्न आयोजित कार्यक्रममा महामन्त्री राणाले राप्रपालाई एजेन्डामा लैजान धेरै प्रयास गरेको, तर नेतृत्वले नसुनेपछि अलग हुने निर्णयमा पुगेको बताएका थिए । पार्टी छाडेलगत्तै शुक्रबार नै राणाले विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसग नयाँ पार्टी खोल्ने सहमति गरेका छन् । शुक्रबार नै राप्रपा परित्याग गरेका धवल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्नेबारे ११ बुँदे समझदारी भएको छ । ‘पूर्वसांसद धवलशमशेर राणा नेतृत्वमा रहेको समूह र दुर्गा प्रसाईं नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्न सहमति गरिएको छ,’ समझदारीमा उल्लेख छ, ‘विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरूलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा गर्नेछँैं ।’ नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता हुने उनीहरूले बताएका छन् । 

ad

उता, राप्रपा अध्यक्ष लिङ्देनले भने धवल पक्ष बाहिरिएको विषयलाई ‘कुचोले बढार्नुपर्ने कसिंगर हावाले उडाएको’ टिप्पणी गरेका छन् ।