
फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ र समूह ‘जी’ का सुरुवाती खेलहरू रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्दै बराबरीमा टुङ्गिएका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा मंगलबार सम्पन्न समूह ‘एच’ को खेलमा उरुग्वे र साउदी अरबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ४१औं मिनेटमा साउदीका अब्दुल्लाह अलाम्रीले उत्कृष्ट गोल गर्दै टोलीलाई अप्रत्याशित अग्रता दिलाएका थिए ।
पहिलो हाफमा दबाबमा परेको उरुग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलभर ११ पटक ‘सर्ट ऑन टार्गेट’ प्रहार गर्यो र अन्ततः ८०औं मिनेटमा म्याक्सी अराजोको गोलमार्फत खेललाई बराबरीमा ल्याएर टोलीको संकट टार्यो । साउदीको बलियो रक्षापंक्तिका कारण उरुग्वे स्पष्ट अंक जोड्नबाट चुक्यो भने यो नतिजासँगै समूह ‘एच’ मा रहेका चारवटै टोलीले पहिलो खेलबाट समान १–१ अंक जोडेका छन् ।
यसैगरी, समूह ‘जी’ को अर्को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको १९औं मिनेटमा ३४औं जन्मदिन मनाइरहेका इजिप्टका कप्तान मोहम्मद सलाहको पासमा इमाम आशौरले करिब २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली सटले जाली चुमाउँदै इजिप्टलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा इजिप्टले दबाब बनाए पनि दोस्रो हाफमा बेल्जियमका प्रशिक्षक रुडी गार्सियाले ६६औं मिनेटमा मैदान पठाएका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुको दबाबका कारण इजिप्टका रक्षक मोहम्मद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगे, जसले खेललाई १–१ को बराबरीमा ल्यायो ।
विश्वकप इतिहासमा पहिलो जितको खोजीमा रहेको सात पटकको अफ्रिकी च्याम्पियन इजिप्टले थप अवसरहरू गुमाउँदा बराबरीमै चित्त बुझाउनु पर्यो, जुन उसको विश्वकप इतिहासमा पराजय टारेको तेस्रो अवसर मात्र हो ।
यस्तै, समूह ‘एच’ कै अर्को खेलमा साविक विजेता स्पेन र विश्वकपमा डेब्यु गरिरहेको केपभर्डेबीचको खेल गोलरहित (०–०) बराबरीमा रोकिएको छ ।
उपाधि दाबेदार स्पेनले खेल अवधिभर लगातार आक्रमण बुने पनि केपभर्डेका गोलकिपर भोजिन्हो बाधक बने ।
उनले स्पेनका एकपछि अर्को प्रहारलाई विफल पार्दै पहिलो हाफमा तीन र दोस्रो हाफमा चारवटा उत्कृष्ट बचाउ गरेर स्पेनलाई स्तब्ध बनाए । स्पेन जस्तो बलियो टोलीलाई रोक्दै केपभर्डेले आफ्नो डेब्यु विश्वकप खेलमै ऐतिहासिक १ अंक जोड्न सफल भएको छ भने दुवै टोलीले १–१ अंक बाँडेका छन् ।










Facebook Comments