काठमाडौं । देशकै सबैभन्दा जेठो र गरिब दुःखीको भरोसा केन्द्रका रूपमा रहेको वीर अस्पतालभित्र कार्यरत लेखा अधिकृत वीर सिंह राईको चरम कमिसन मोह र प्रशासनिक अराजकताका कारण सिंगो संस्था नै कोमातर्फ धकेलिन थालेको छ । राज्यका शीर्ष निकाय र पदाधिकारीहरूको नाम दुरुपयोग गर्दै अस्पतालभित्र अर्बौंको खरिद, कर्मचारी नियुक्ति र भुक्तानीमा ‘ओपन’ कमिसन धन्दा चलाएको तथ्य फेला परेको छ । राईको यो दादागिरी र कमिसन मोहका कारण वीर अस्पतालको सेवा प्रवाह पूर्ण रूपमा प्रभावित भएको छ । हाल अस्पतालमा मुटुका बिरामीका लागि एउटा सामान्य तर अत्यावश्यक रगत परीक्षणसम्म ठप्प छ भने करोडौँको सिटी स्क्यान मेसिन बिग्रेर थन्किएको महिनौँ बितिसक्दा पनि मर्मत गर्ने ठेकेदारसँग कमिसनको कुरो नमिल्दा सेवा सुरु हुन सकेको छैन । अस्पतालको नवनिर्मित आकस्मिक सेवा र आइसियुसमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसक्नुको मुख्य जड लेखा अधिकृत राईले भुक्तानी रोक्नु नै रहेको अस्पताल स्रोत बताउँछ ।

अस्पतालका उच्च पदाधिकारी तथा कर्मचारीहरूका अनुसार राईले आफ्नो अवैध धन्दा सुचारु राख्न र सबैलाई त्रसित बनाउन राज्यका उच्च निकायहरूको नाम ढालका रूपमा प्रयोग गर्ने गरेका छन् । उनले आफ्नो छोरा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा रहेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई आफ्नै दाजु भएको र महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै अस्पताल प्रशासन, चिकित्सक र ठेकेदारहरूलाई धम्क्याउने गरेको एक ठेकेदारले देशान्तरलाई बताए । व्यापारीसँग कमिसनको कुरा मिल्यो भने तुरुन्तै चेक तयार पार्ने र कुरा नमिले आफैँले फर्जी नाममा उजुरी लेखेर आफ्नै लेखा शाखामा दर्ता गराई भुक्तानी रोक्ने गरेको कर्मचारीहरूको आरोप छ । कर्मचारीहरूका अनुसार ती फर्जी उजुरीका हस्तलिखित अक्षर फरेन्सिक जाँच गर्ने हो भने राई सिधै कीर्ते लिखतको मुद्दामा जेल पर्ने निश्चित छ । उनको यस्तै नियतका कारण विगतमा खरिद गरिएका औषधि, सर्जिकल र उपकरणको करिब ३३ करोड रुपैयाँ भुक्तानी रोकिएको छ, जसमा राईले २ देखि ३ करोड रुपैयाँ नगद कमिसन माग गरिरहेको बुझिएको छ । त्यति मात्र होइन, वीर अस्पतालको उठ्नुपर्ने १ करोड ९० लाख रुपैयाँ सटर भाडामा २२ लाख रुपैयाँ कमिसन लिएर राईले सरकारी फाइल नै गायव पारेको तथा काठमाडौं महानगरपालिकाले निःशुल्क सञ्चालन गरेको महिलाहरूको पाठेघर क्यान्सर जाँचको अनुदान रकममा समेत नजराना नपाएपछि क्यान्सर विभागको भुक्तानी रोकिदिएको गम्भीर आरोप लागेको छ ।

ad


लेखा अधिकृत राईको विगतको ट्रयाक रेकर्ड पनि उत्तिकै विवादित रहेको पाइएको छ । राष्ट्रिय एड्स केन्द्र टेकुमा रहँदा एनजिओ आइएनजीओसँग करोडौँ बार्गेनिङ गरेको र महालेखाको टोली लेखापरीक्षणका लागि जाँदा कोठामा ताला लगाएर फरार भएको घटना मन्त्रालयमा अझै चर्चामा छ । कान्ति बाल अस्पतालमा रहँदा एनआइसियु निर्माण र भेन्टिलेटरको सामग्री खरिदमा कमिसन खाएको तथा २०७९ सालमा तत्कालीन स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको निजी सचिव रहँदा स्वास्थ्य सेवा विभागको लाहाछाप लगाएको सिल्ड टेन्डर फाइल जबरजस्ती मगाएर व्यापारीसँग ५ प्रतिशत कमिसन मागेको खुलासा भएको थियो । 


हाल वीर अस्पतालमा समेत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले करार कर्मचारीको म्याद थप्ने निर्णय गर्दा समेत राईले टिप्पणी राय दिने बहानामा प्रतिकर्मचारी २५ हजार रुपैयाँका दरले रकम असुलेको आरोप लागेको छ । उनले रकम नदिने कर्मचारीको तलब रोक्ने र दुःख दिने काम गरिरहेका छन् । सामान आपूर्ति गर्ने व्यापारीहरूलाई भुक्तानी दिनुअघि साँझ ६ बजेपछि होटलमा बोलाएर १० प्रतिशत अग्रिम कमिसन बुझेपछि मात्र भोलिपल्ट चेकमा हस्ताक्षर गर्ने उनको नियमित कार्यतालिकाजस्तै बनेको छ, जसका कारण कतिपय व्यापारीहरू मानसिक रोगीजस्तै भइसकेका छन् ।

राईको अत्याचारविरुद्ध आजित भएका वीर अस्पतालका कर्मचारीहरूले प्रमाणसहित प्रधानमन्त्री कार्यालय, अख्तियार, महालेखा, सतर्कता केन्द्र, अर्थ र स्वास्थ्य मन्त्रालयमा संयुक्त उजुरी दर्ता गराएपछि राज्यका नियामक निकायहरू तातेका छन् । 

सोही उजुरीका आधारमा स्वास्थ्य मन्त्रालयले महालेखा र वीर अस्पतालसँग स्पष्टीकरण सोधिसकेको छ भने बिहीबार मात्रै राष्ट्रिय सतर्कता केन्द्रको एक उच्च टोली वीर अस्पताल पुगेर निर्देशक, प्रशासन प्रमुख र न्याम्सका निमित्त पदाधिकारीसँग राई संलग्न भएका अनियमितताका सम्पूर्ण फाइल र कागजात नियन्त्रणमा लिएको छ । १०० जनाभन्दा बढी कर्मचारीहरूले सतर्कता टोलीसमक्ष राईको ज्यादती र असुली धन्दाबारे गुनासो पोखेका थिए । 

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत राईको अकुत सम्पत्ति र हालको अनियमिततामाथि विस्तृत छानबिन अगाडि बढाइसकेको स्रोतले पुष्टि गरेको छ । सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने, सरकारी राजस्व र कमिसनका लागि देशकै जेठो अस्पताललाई बन्धक बनाउने यस्ता कर्मचारीलाई तत्काल निलम्बन गरी जेल चलान गर्न र अस्पताललाई भएको घाटा राईबाटै भराउन वीर अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले माग गरेका छन् ।