नेपालको राजनीतिमा ‘अस्थिरता’ शब्द महारोगको रूपमा स्थापित भएको छ, जसले गर्दा पटक–पटक विभिन्न आन्दोलन र विद्रोहबाट प्राप्त भएका लोकतान्त्रिक उपलब्धिहरूसमेत धरापमा परिरहेको इतिहास साक्षी छ । शासन व्यवस्था, संविधान परिवर्तनहरूले बदलिरहे पनि राजनीतिक स्थिरता नहुँदा आमनागरिकको जीवनस्तर र देशको विकासको गतिमा जुन स्थिरता आउनुपर्ने थियो, त्यो कहिल्यै पनि आएन, नेपालको सन्दर्भमा शान्ति र स्थायित्व भन्नु ‘आकाशको फल आँखा तरी मर्’ उखान चरितार्थ भएको देखिन्छ । 

पछिल्लो दुई दशकदेखि निरन्तर राजनीतिक अस्थिरताको चक्रमा फसेको नेपालमा जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण र संघीय गणतन्त्र स्थापनाजस्ता ऐतिहासिक उपलब्धि हासिल भए पनि राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासन अझै जनअपेक्षाअनुसार स्थापित हुन नसक्दा देशले विभिन्न समस्याहरू झेल्नुपरिरहेको छ । देशको अपरिपक्व राजनीतिक संस्कृति, कमजोर अर्थतन्त्र, संस्थागत असफलता र सुशासनको अभावबाट पैदा भइरहेको राजनीतिक अस्थिरता केवल सत्ता परिवर्तनको विषय नभई राज्य प्रणालीमै गहिरो असर पार्ने संरचनागत समस्या नै बनेको छ । राजनीतिक अस्थिरता हुनुको पहिलो कारण शीर्ष नेताहरूले राष्ट्रिय स्वार्थलाई भन्दा व्यक्तिगत र दलीय स्वार्थलाई प्राथमिकता दिँदा समस्या समाधान हुनेभन्दा झनै गिजोलिने अवस्था बनेको छ । सत्ताकेन्द्रित राजनीति, दलहरूभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचार र दण्डहीनता, बेरोजगारी, महँगी र अवसरको अभावले सामाजिक असन्तोष बढाउँदा अस्थिरतालाई मलजल गरिरहेको छ । तर, जेनजी आन्दोलनपछि जुन खालका घटनाहरू पटाक्षेप भएका छन् यसले नेपाली राजनीतिको सुखद् भविष्यको भने संकेत गर्दैन ।  

ad

त्यसैले मुलुकलाई अस्थिरताको दुष्चक्रबाट मुक्त गर्नु अहिलेको आवश्यकता हो । राजनीतिक अस्थिरता मुलुकका सबै प्रकारका अस्तव्यस्तताहरूको जननी हो भन्दा अत्युक्ति नहोला । राजनीतिक अस्थिरता कायम रहेकै कारण विकास, समृद्धि र परिवर्तनको दिशामा मुलुक अगाडि बढन सकेको छैन । प्रजातन्त्र हँुदै संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुक आइपुग्दा समेत आमनागरिकले राजनीतिक स्थिरताको अनुभूति गर्न पाइरहेका छैनन् । राजनीतिक अस्थिरताकै कारण नेपालको आर्थिक विकासमा समेत नकारात्मक प्रभाव परिरहेको छ । संसदीय व्यवस्था समावेशी व्यवस्था रहेको र सबैको प्रतिनिधित्व गर्ने उपयोगी व्यवस्था भए पनि स्थायित्व र स्थिरता किन कायम हुन सकेको छैन ? यसको खोजी हुनु जरुरी छ । 

दुई विशाल र शक्तिशाली देशको बीचमा रहेका कारणले समेत अमेरिका, पश्चिमा राष्ट्र, भारत, चीनलगायत विश्वका अन्य शक्ति राष्ट्रहरूका लागि चासोको विषय बनिरहँदा नेपालको राज्यसत्ता सञ्चालनमा भूराजनीतिक प्रभाव देखापरेको छ । शक्ति राष्ट्रले आफ्नो स्वार्थ पूर्तिका लागि चलखेल गरिरहँदा नेपालका राजनीतिक दलहरू त्यसको प्रभावमा पर्ने गरेको पनि देखिएको छ । राजनीतिक अस्थिरताकै कारण नेपालको सत्ता परिवर्तन विदेशी शक्तिको इच्छा र चाहनाले हुन्छ भन्ने पनि घटनाक्रमहरूले पुष्टि गरिरहेका छन् ।

राजनीतिक दलहरू शक्ति र सत्ताका लागि जस्तोसुकै सम्झौता पनि गर्ने गरेकोमा नागरिकहरू असन्तुष्ट छन् ।  नागरिकहरूमा नेताहरू आफ्नो व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा, शक्ति र धनको पछाडि लागे भन्ने मनोविज्ञान विकास भएको छ । महँगी र भ्रष्टाचारले जनता आजित भएको, सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा जनताले सास्ती पाएको, आर्थिक गतिविधि र विकास निर्माण प्रायः ठप्प भएको, रोजगारी र अवसरको अभावले दैनिकी हजारौँ युवाहरू विदेश पलायन भइरहेको जस्ता विषयले समेत राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा पैदा भएको छ । जनताका आवश्यकता पूरा गर्दै मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन नेपालमा राजनीतिक स्थिरताको खाँचो छ ।

राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद् अनुभूति दिलाएर सुशासन प्रवद्र्धन गर्दै राजनीतिक स्थिरताका लागि जिम्मेवार दलहरूले ध्यान केन्द्रित गर्नु अहिलेको टड्कारो आवश्यकता बन्न पुगेको छ । 

मुलुकका जिम्मेवार राजनीतिक दलहरूले सत्ता होइन, स्थायित्वलाई साझा लक्ष्यका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो । न्यूनतम राष्ट्रिय एजेन्डामा सहमति, संविधानको इमानदार कार्यान्वयन, भ्रष्टाचारविरुद्ध कठोर कदम र उत्पादनमुखी अर्थतन्त्रको माध्यमबाट मुलुकलाई स्थिरताको बाटोतर्फ अगाढि बढाउन सकिन्छ ।