सदियौँदेखि बडादसैँ नेपालीहरूको प्रमुख पर्व, हामी नेपाली सबैलाई शुभकामना आदान प्रदान गर्ने विशेष चाड, तर यसपटक मुलुकका सबै ऐतिहासिक धरोहर जलेर खरानी भएको अवस्था सबै नेपालीजनको मनमनमा पीडासहित बाध्यकारी अवस्थामा मनाउनुपर्ने भएकाले हामी खिन्न मनका साथ दसैँको शुभकामना दिँदै छौँ ।

यो अवस्था नेपालको इतिहासमा पहिलोपटक आएको भनिँदै छ, तर प्रमुख राजनीतिक दलका शीर्ष नेताका कारण जेन–जी (युवा पुस्ता)ले पनि कल्पनै नगरेको अवस्थामा अहिले मुलुक छ, यो अवस्थालाई सुझबुझका साथ सम्हाल्ने जिम्मा पनि नेपालका प्रमुख राजनीतिक दलहरूको हो, त्यसको लागि पार्टीहरूमा पुनर्गठन, पुनर्संरचना र नेतृत्व हस्तान्तरण अपरिहार्य छ । अब पार्टीहरू ‘सच्चिने कि सक्किने’ उनीहरूले नै गम्भीर भएर निर्णय गर्नुपर्ने परिस्थिति छ । 

ad

संस्कृति र संस्कारसँगै समाजशास्त्रीय महत्व बोकेको असत्यमाथि सत्य र अन्यायमाथि न्यायको जितको रूपमा लिने बडादसैँ घरघरमा आइसकेको छ । दसैँपर्व सम्पूर्ण नेपालीहरूको मुख्य चाड र राष्ट्रिय पर्वको रूपमा स्थापित भएको छ । हिन्दु धार्मिक ग्रन्थहरूका अनुसार दसैँ महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि प्राप्त गरेको विजय, देवी दुर्गाले दैत्य चण्ड–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गरेको खुसियालीमा हिन्दु धर्मावलम्बीहरूले मनाउने चाड हो । दसैँ केवल एक धार्मिक पर्व मात्र नभई नेपाली समाजको साझा पहिचान र एकताको प्रतीक पनि हो ।

दसैँले धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले गहिरो महत्व बोकेको छ, जसले सम्पूर्ण नेपाली समाजलाई एकतामा बाँध्ने कार्य गर्छ । परिवार र समाजलाई जोड्ने, संस्कृति जोगाउने र एकताको भावना बढाउने पर्व हो । यस पर्वले सामाजिक सम्बन्धलाई बलियो बनाउन र एकताको भावना अभिवृद्धि गर्न सघाउ पु¥याउँछ । बडा दसैँले परिवारलाई नजिक ल्याउने, सम्बन्धलाई बलियो बनाउने र प्रेम, सदभाव साटासाट गर्ने अवसर प्रदान गर्छ । टाढा रहेका आफन्तहरू घर फर्कने, परिवारसँग समय बिताउने, मिठो–मसिनो खाना खाने र रमाइलो गर्ने समय हो ।

आफूभन्दा ठूला बुबाआमा, हजुरबुबा–हजुरआमाबाट टीका र जमरा लगाउँदै आशीर्वाद लिने परम्पराले पुस्ताबीचको सम्बन्ध सुदृढ बनाउँछ । बडादसैँ केवल एक धार्मिक पर्व मात्र नभई नेपाली समाजको साझा पहिचान र एकताको प्रतीक पनि हो । धार्मिक रूपमा देवीको शक्ति, सांस्कृतिक रूपमा पारिवारिक एकता र ऐतिहासिक रूपमा राष्ट्रिय परम्परा बोकेको दसैँ सम्पूर्ण नेपालीहरूको गर्वको पर्व हो ।

तर, यसपटकको दसैँ जेन–जी आन्दोलनका कारण भएको राजनीतिक उथलपुथल र दसैँ मनाउनकै लागि राजधानी बाहिर जाने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । कति त तीन–चार दिन लगाएर नारायणगढ–मुग्लिन सडकखण्ड पार गरेर घर पुगेका छन् । बर्सेनि दसैँमा २० लाखको हाराहारीमा आ–आफ्नो कुलघर अर्थात् जन्मघर फर्कने नेपाली परम्परा नै छ । दसैँको मुखमा भएको राजनीतिक परिवर्तन र नयाँ सरकार बने पनि त्यसपछिका क्रिया र प्रतिक्रियाले सकारात्मक सन्देश पटक्कै दिएको छैन । यसले गर्दा अहिले महान् चाड दसैँ खल्लो त हुने नै छ, दसैँको शुभकामना पनि अमिलो मनले दिनुपर्ने बाध्यता छ । एक दशकभित्रै महाभूकम्प, कोरोना महामारी बेहोरेको नेपालमा यसपटकको दसैँको सम्मुखमा सार्वजनिक र व्यक्तिको सम्पत्ति हानि–नोक्सानी भएको छ भने देशमा बढ्दो भ्रष्टाचारविरुद्धको आन्दोलनमा ७४ जनाले सहादत नै प्राप्त गरेको यस घडीमा हामीले दसैँ मनाउनुपर्ने भएको छ ।

काम विशेषले बाहिर रहेकाहरू दसैँ मनाउन धमाधम घर फर्किरहेका छन् । कतिपय घर फर्किने सुरसारमा छन् । कति त सडक खुल्ला र घर जाऔँला भनेर प्रतीक्षा गरिरहेका छन् । जो घरमा छन्, उनीहरूले आफन्तजनको स्वागत र चाड मनाउनका लागि तयारी गरिरहेका छन् । वर्षमा एकपटक आउने सबैभन्दा ठूलो चाड मनाउन कसलाई पो चाहना हुँदैन र ? 

तर, यसपालि दसैँ मनाउन विगतमा जस्तो सजिलो छैन । दसैँ सुरु हुनै लाग्दा भएको आन्दोलनले कयौँ परिवार, गाउँ र समाजलाई शोकमग्न बनाएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनकै कारण सिंगो देशले नै असोज १ गते शोक मनायो । दुई दिनको आन्दोलनबाट ७४ जना नागरिकको अनाहकमा ज्यान गयो भने सयौँका संख्यामा घाइते भएका छन् । मानवीय क्षति मात्रै नभए देशका महत्वपूर्ण भौतिक संरचनाहरू पनि क्षतिग्रस्त भएका छन् । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने घोषणा गरेसँग भड्किएको जेन–जी पुस्ता (१३–२८ वर्ष उमेर समूह)ले आन्दोलन शान्तिपूर्ण हुने भन्दै जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिए पनि घुसपैठ हुँदा अकल्पनीय क्षति भएको छ । यसमा सुरक्षाकर्मीले गम्भीर त्रुटि गरेकै कारण देशको आर्थिक अवस्था पनि वर्षौं पछि धकेलिएको छ । 

तर पनि एउटा घटना कारण आमजनजीवन सधैँभर सिथिल हुन सक्दैन । समाजलाई गतिशील बनाउनुपर्छ । जो जीवित छन्, उनीहरूका लागि राज्यले आवश्यक योजना बनाउनुपर्छ, उनीहरूलाई नियमित जीवनमा फर्काउनुपर्छ । समयको गतिसँगै अगाडि बढाउन सहयोग गर्नुपर्छ । राज्य अनि समाज दुवैको दायित्व हो यो । 
हो, आन्दोलनले शोकमग्न बनायो । तर, यो शोकलाई शक्तिमा रूपान्तरण गर्दै अगाडि बढ्नुपर्छ ।

अहिले हामीसँग संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ क्रियाशील छ । यसैका आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेर संसद् विघटन गर्दै आगामी फागुन २१ मा संसदीय चुनावको मिति घोषणा गरेकी छन् । हामी लोकतन्त्रको अभ्यास गर्ने मुलुकका नागरिक भएकाले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा प्रस्ट छौँ । त्यसैले अहिले देखिएका तमाम राजनीतिक र अन्य अस्थिरताहरूलाई समाधान गर्दै चुनावी वातावरण बनाएर अहिले थोरै लिकभन्दा बाहिर गएको संविधानलाई पूर्ववत् अवस्थामा ल्याउने वातावरण तयार गर्नका लागि जनताप्रति प्रतिबद्ध राजनीतिक दलहरूले ढिला गर्नुहुँदैन । नवदुर्गा माताले सबैलाई अहिले विकराल परिस्थितिबाट पार पाउने सामथ्र्य प्रदान गरून् । आगामी दिन सबैको शुभ होस् । तपाईंहरू सबैलाई विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना ।