
तेस्रो वरले भन्यो, मलाई मोह छैन
अगिदेखि दुई वरहरू बोलेका थिए । दुवैले आ–आफ्नो किसिमले वरमिताप्रति आफ्नो अभूतपूर्व प्रेम जनाएका थिए । ती साँच्चिकै दुःखी थिए । त्यसको प्रमाण स्वरूप एउटा तत्काल वरमिताको चितामा हाम फालेर जल्यो । दोस्रो वरले त्यही चिता अगिल्तिर तपस्या गरेर बस्ने निर्णय गर्यो र बस्यो पनि ।
अब बोल्ने पालो तेस्रो वरको थियो ऊ पनि त्यत्तिकै दुःखी थियो । त्यसले भन्यो म– यति दुःखी छु कि अब यस संसारप्रति मलाई मोह छैन ।
हे नगरका भद्र भलाद्मी र जन्तीमा आएका महानुभावहरू हे वरमिताका माता पिता मेरो कुरा सुन्नुहोस् । ममा वैराग्यको प्रस्ट भावना जागृत भएको छ । यो पृथ्वी प्रमातजस्तो लागिरहेको छ । यस्तो संसारमा के बाँच्नु जहाँ वरमिता छैनन् ।
त्यसकारण मैले पनि प्रतिज्ञा गरेको छु । जबसम्म म वरमिताको आत्माको मुक्तिको प्रमाण पाउँदिन तबसम्म म पनि यस सांसारिक जीवनको त्याग गरेर गेरुवा वस्त्र ग्रहण गरेर अनकन्टार वनमा गएर तपस्या गर्नेछु । त्यसो गर्दा, त्यसो गर्दा गर्दै मैले देह त्याग गर्नु परे पनि गर्नेछु । यसमा म दृढप्रतिज्ञ छु ।
यति भनेर यो तेस्रो वर पनि तत्काल सांसारिक स्वरूप त्यागेर गेरुवा वस्त्र र कमन्डलु धारण गरेर वनतर्फ हिँड्यो ।
क्रमशः केही समयपछि समय चक्रले गर्दा सबै आफ्नो दैनिक कार्यमा लागे वरमिताको प्रसंग यदाकदा निस्के पनि जनमानसमा अब वरमिता कथाजस्तै बयान गर्ने एकादेशकी पात्रजस्तै भई ।
केवल दोस्रो वर जो वरमिताको खरानी भएको शरीरको थुप्रोको अगि वरमितालाई सम्झिँदै तपस्यामा लीन भएर बस्यो । कहिले पानी पथ्र्यो कहिले असिना, कहिले आँधीबेहरी आउँथ्यो भने कहिले सूर्यको तापले सम्पूर्ण पृथ्वी नै तप्त हुन्थ्यो । त्यस्तोमा पनि ऊ अडिग भएर तपस्या गरिरह्यो । गाउँलेहरूले फलफूल ल्याइदिए खान्थ्यो, नल्याए माग्न जाँदैन थियो । यसरी भोग प्यास सबै सहेर ऊ तपस्यामा लीन भइरह्यो । उसको मनबाट वरमिताको सम्झना भने गएन ।
उता, जसलाई तेस्रो वर भनियो त्यो वर्णक नाउँ गरेको व्यक्ति जंगलको बाटो हिँड्दै जाँदाजाँदै एउटा घनघोर जंगलमा पुग्यो । त्यहाँ बाघ भालुसमेत निर्विघ्न विचरण गर्दथे ।
वर्णक एउटा रम्य र शान्त स्थल देखेर त्यहाँ कुटी बनाएर तपस्या गर्दै एक वनवासीको जीवन बिताउन थाल्यो ।
उसको दिनचर्या हुन्थ्यो, वनमा फुलेका फूलहरू टिपेर एक प्राचीन शिव लिंगको धुपदीप नैवेद्यसहित पूजा गर्नु । त्यसपछि शिवलिंगकै अगाडि बसेर तपस्या गर्नु ।
वनमा बस्दाबस्दा त्यहाँका वनचरहरूले उसलाई चिन्ने भइसकेका थिए । त्यसकारण ऊ खुंखार, नरभक्षी, जीवजन्तुबाट पनि सुरक्षित थियो ।
प्रत्येक दिन यज्ञको अग्नि प्रज्वलित गर्नु, होम रुद्री गर्नु अनि मात्र फलफूल ग्रहण गर्नु उसको दिनचर्या थियो ।
यसमा उसले कुनै त्रुटि हुन दिएन कहिल्यै । उसले आफ्नो घरबार बिर्सियो । घरमा कति सुखसयलमा थियो । अपार धनको स्वामी थियो । त्यो पनि बिर्सियो । तपस्यामा लीन हुँदा ऊ एक शिवको ज्योति स्वरूपको स्मरण गरेर बस्थ्यो । अन्य सांसारिक कुरा उसका लागि तुच्छ थिए ।
नजिकै एउटा गाउँ थियो चन्दनपुर । चन्दनपुरका बासिन्दाहरू वर्णकलाई एवं चामत्कारिक सन्यासी मानेर उहाँका फलफूल र दुग्ध पदार्थ ल्याएर अर्पण गर्दथे । अन्नको त्याग उसले उहिल्यै गरिदिएको थियो ।
वर्णक कहाँबाट आएको थियो, के प्रयोजनले आएको थियो ? त्यो पनि बिर्सियो । तपस्यामा लीन रहन्थ्यो । खाना समेत बिर्सिन्थ्यो ।
यति हुँदाहुँदै पनि उसले वरमितालार्ई भने बिर्सिन सकेको थिएन ।
वर्णकले अब आफ्ना सबै संसार रागबाट मुक्ति पाइसकेको थियो । वरमिताबाहेक उसलाई अब केही सम्झना भएन ।
एकदिन चन्दनपुर गाउँमा ठूलो आगलागी भयो । गाउँलेहरू डढ्न थाले । हाहाकार मच्चियो । सारा गाउँले वर्णकसमक्ष आएर रुन कराउन थाले ।
वर्णकले कमण्डलुबाट जल लिएर छर्कियो । नभन्दै आगो तत्काल शान्त भयो । गाउँलेहरू अब वर्णकलाई दैवी चमत्कारले भरिएको एक सिद्ध तपस्वी मान्न थाले ।
तपस्वी अब गाउँलेका बीच अझै बढी पुण्य र आदरणीय भयो । उनीहरू वर्णककहाँ विभिन्न पदार्थहरू पुर्याउन थाले । एकदिन एउटा अर्को किसिमको घटना घटित भयो ।
वर्णक वन प्रान्तबाट फूल टिपेर कुटीमा पस्दा उसले देख्यो एक अन्य तपस्वी पुरुष कुटीभित्र बसिरहेको देख्यो ।
यस्तो अनकन्टार वनमा बाहिरबाट एक तेजस्वी सन्यासीलाई देखेर ऊ आश्चर्यचकित भयो । वर्णकले भन्यो, ‘हे तपोधन म तपाईंको परिचय जान्न उत्सुक छु ।’ तपस्वीले भन्यो, ‘यताबाट जाँदै थिएँ । मैले तिमीलाई देखेँ । कुटी देखेरभित्र पसेँ ।
म तिमीलाई सबिस्तार आफ्नो परिचय दिनेछु । यति भन्ठान मबाट तिम्रो कुनै अनिष्ट हुने छैन ।
यति भनेर त्यो तपस्वी त अलप पो भयो वर्णक छक्क परेर बसिरह्यो यो कस्तो चमत्कार हो भन्दै ऊ अगि तपस्वी बसेको आसनलाई हेरेर बसिरह्यो ।
बाँकी पछि…









Facebook Comments