जुरासिक कालदेखि आएको ऊ यो धर्तीमा

डायनासोरको आधिपत्य भएका बेला

ad

डायनासोर कता पुगे कता ?

तर ऊ अझै धरतीमा छ

यतिबेला मेरो सेरोफेरोमा मसँगै

यत्रो फासला समयको, यत्रो परिवर्तनकोबीच

यो कसरी सम्भव भएको ?

सायद उसको अनन्य प्रेमले होला ।

 

उसको तुलनामा म त कतिपछि कतिपछिको

आगमनको फासला गणना नै गर्न नसकिने

उसको अनन्य प्रेम र निष्ठाबाट सिकेर पो हो कि ?

म पनि सधैँ एउटै विश्वासले बाँचेको छु

तर एउटा फरक छ हाम्रो विश्वासमा

ऊ आजको उज्यालोमा बाँचेको छ

म भोलिको उज्यालो पर्खेर बाँचेको छु ।

 

चकोर र मेरो सम्बन्ध

फरक समयको फरक उज्यालो

चकोर– चन्द्रमाको किरण हेरेर बाँच्ने पक्षी

म–  भोलि उज्यालो हुने कुरा सुनेर बाँच्नुपर्ने मान्छे

जुन कुरा मुक्तिदाता बनेकाले अहोरात्र सुनाइरहेका छन्

चन्द्रमाप्रतिको प्रेमले ऊ बन्यो चन्द्र–चकोर

मुक्तिदाता बनेकाको विश्वासले म बने आज्ञाकारी

अर्थात् श्रवण–कुमार

ऊ र म दुवै किंवदन्ती बनेका छौँ ।

 

चकोरको निष्ठा चन्द्रमाप्रति अवर्णनीय

चन्द्रमाको उज्यालोपान गरेर मात्र बाँचेको ऊ ठान्छ

म ठान्छु आँगनमा भोलि उज्यालो ल्याउने मुक्तिदाताले नै हो

चकोरको निष्ठा र मेरो विश्वासको मिथकीय स्वरूप

कहिले पनि वर्णन गर्न नसकिने– अवर्णनीय

मिथक कसरी वर्णन गर्न सकिन्छ र ?

वर्णन भयो भने त मानव इतिहास नै हुँदैन ।

 

चकोर र म त्यसैगरि बाँचेका छौँ

ऊ फरफर फरफर गरी उडिरहेको

भिरपाखामा वासस्थान खोज्दै

म झन् मृत्युसँग संघर्ष गरिरहेको भिरपाखा कुँद्दै

नपत्याए मलाई भेट्न पहाडका गराहरूमा आऊ

बाँच्नको लागि म अझै त्यहाँ कुँदिरहेको छु

हाम्रो बीचको फरक–

चन्द्रमाको उज्यालोमा ऊ आज बाँचेको

म भोलिको उज्यालोमा आज बाँच्न संघर्ष गरिरहेको ।

 

अर्को फरक उसको र मेरोबीच–

ऊ चन्द्रमालाई मात्र हेरिरहेको हुन्छ

म हेर्छु मुक्तिदाता बनेकामध्ये कसले उज्यालो देला भनेर

कहिले नटुंगिने मुक्तिदाताको यो क्रमबद्धतामा

मुक्तिदाता बनेकाहरूको फगत क्रमबद्ध आलोपालो

मेरो इतिहास सधैँ नै बाँच्ने संघर्षको इतिहास

म सधैँ श्रवण–कुमार बनेँ

मुक्तिदाता बनेकाहरू कुबेरको हवेलीमा पुगे

 

धरतीको चकोर र आकाशको चन्द्रमाबीच

बरु मिलन हुन सक्ला–  अझ राधा र कृष्णसरह

मुक्तिदाता बनेका र मेरोबीच खै के मिलन हुने ?

म सदा धर्तीमै जोतिइरहेको

उनीहरूलाई भने सधैँ चाँडै फसल खाने चटारो

चकोर र म दुवै नै मिथक बनेका छौँ ।