वसन्त लोहनी

तिमीले जे दियौ
तिमीलाई नै बुझाउनु छ
त्यस्तो हतारो त छैन मलाई
तर कति नै समय बाँकी छ र ?

ad

तिमीले दिएको जिन्दगीमा
धेरै पाएँ, अनि धेरै गुमाएँ पनि
स्फूर्त सुरको जीवन–गानमा
अनायास केही बेसुरा छिरे

ताल–सुर, साज र स्वरको
नमिल्दै जाने क्रमबद्धतासँग
हाबी हुँदै गएको यो बेसुराको
घनचक्करभित्र नै घुम्यो तराना

पृथ्वीले उठ्न नदिएको जस्तो
बलियो शक्तिले तल तानिरहँदा
कटुसको रुखमुनिको वनस्पतिजस्तो
खै ! जिन्दगी त कता पुग्यो ?

जति धेरै बेसुरा निस्कियो जीवन–गीतमा
सम्हाल्न खोज्दा त्यत्तिकै अर्को थरी बेसुरा
यसरी फसेको यो सुन्दर चेतन मनलाई
घरीघरी अचेतन मनले नै हाँक्यो

नियति तिमीले दिएको
समर्पण मैले आर्जन गर्नुपर्ने
वारी र पारीमा साँघु नहुँदा
मैले वारपार गर्नै सकिनँ

कहिले नियतिले डोहोर्‍यायो
कहिले गुरुत्वाकर्षणले तल झार्‍यो
केही समर्पण पनि आयो बीचबीचमा
तर अचेतन मनले नै गाडी हाँक्यो

चक्करभित्रको तरानाबाट यदाकदा
उठेको गुञ्जन
पहिल्याउनु अगाडि नै लुप्त भयो
कता खोज्ने ? कति पख्र्ने त्यो आउँला भनेर ?
अब यो रवाना पुर्जी पाउने बेलामा

तराना जेसुकै होस् अब
सबै त्यागेर पूर्ण विश्वासको साथ
सराहना गर्नैपर्छ समर्पणको
उनीले नै सबै चिन्ता लिनेछन्, जिम्मा लिनेछन् ।