ध्रुवचन्द्र गौतम

काठमाडौं । वरमिताका वरहरूको रहस्य यस्तो थियो । बाबु भनेको समयमा नफर्केपछि वरमिताका चिन्तित दुई दाइहरू पनि बहिनीका लागि वर खोज्न भनेर हिँडेछन् । दुवै दुई विपरीत दिशातर्फ लागे । केही दिन हिँडेपछि एउटा पुग्यो रमणक गाउँ र अर्को पुग्यो कौञ्चपुर ।

ad

रमणक गाउँ नामअनुसार नै रमणीय थियो । त्यहाँका एक धनाढ्य ब्राह्मणका ज्येष्ठपुत्र वेदवेदांग अध्ययन गरेको विद्वान् थियो । रमणक गाउँमा दुई रात बसेर आदर सत्कार पाएपछि उसले चारैतिर बुझबुझारत गर्दा, यसलाई अत्यन्त योग्य देख्यो ।

घरधनीले आदर सत्कार गर्दै सोधेपछि दाइचाहिँले भन्यो, ‘म आफ्नी बहिनीका लागि योग्य वर खोज्दै हिडेको हुँ । यहाँ तपाईंका पुत्रलाई देखेपछि यी भन्दा योग्य वर मेरी बहिनी वरमिताका लागि अर्को हुने छैन भन्ने लाग्यो र मन मनले खाएर यो निवेदन गर्दछु कि मेरी बहिनी वरमिताका साथ तपाईंका जेष्ठ पुत्रको विवाह सम्पन्न होस् भनी याचना गर्दछु ।’

यो सुनेर रमणक ग्रामका ती धनाढ्य ब्राह्मण खुसी भए र भने, ‘वरमिताको नाउँ यहाँ चारैतिर फिँजिएको छ । उनको रूप र गुणको चर्चा यहाँ पनि हुन्छ । त्यस्ती कन्या प्राप्त भए, हामी धन्य हुनेछौँ । मेरो पुत्र पनि खुसी छ यो सुनेर ।’
पुत्र साँच्चिकै खुसी थियो । तत्काल पुरोहित डाकेर हेर्न लगाइयो र एक शुभ लग्न निश्चित गरी वरमिताको दाइ खुसी–खुसी घर फर्कियो ।

यता अर्कोतिर बहिनीका लागि हिँडेको वरमिताको अर्को दाइ ठूलो ओहोदावाल एक सुयोग्य ब्राह्मणपुत्रसँग बहिनीको विवाह छिनेर घर फर्कियो । घर फर्किंदा घरमा अर्कै वातावरण छ । बाबु फर्किसकेको थियो । उसले पुष्पपुरको योग्य युवकसित काम कुरो छिनेर आएको थाहा भयो ।

दुवै दाइहरू केही बोल्न सकेनन् । त्यतिखेर यति पनि भन्न सकेनन्, ‘हामीले पनि वरमिताको काम कुरो छिनेर आएका छौँ ।’ पिताले क्रोध गर्लान् भनी सब डराएर बसे । अब के होला भनेर पीर भयो ।

पछि आफूलाई सान्त्वना दिएर बाबुले कुरा छिनेको जन्ती पहिले आउला, त्यसपछि हामी कसैगरी उम्कौँला ।
तर त्यसबखत ती कुनैलाई पनि थाहा थिएन । तिनले शुभ लग्न हेरेर छिनेका थिए र ज्योतिषअनुसार सबभन्दा शुभ लग्नमा छिनेका थिए । त्यो शुभ लग्न एउटै थियो ।

तीनतिरबाट कन्याका लागि तीन वर, जन्ती गाजाबाजासहित आउनुको रहस्य यो थियो ।

वरमिताको पिताले आफ्ना दुवै पुत्रलाई गाली गर्नुसम्म गर्‍यो । ती चुप लागेर बसे ।

अब कसो गर्ने ? एउटा यस्तो समस्या थियो जसको समाधान कसैसँग थिएन ।

पण्डितहरूसँग राय माग्यो । तिनीहरूले भने, ‘तीन वर एक कन्याका लागि हामीले महाभारत मात्र पढेका हौँ । अहिलेको कालमा त तीन वरको कल्पना गर्न सकिन्न ।’
पिताले सानो स्वरमा भन्यो, ‘मैले पनि त्यो असम्भव कुरा सोधेकै होइन, पण्डितज्यू, मैले त यस्तो अवस्थामा कुनै समाधान निक्लन्छ कि भनी सोधेको हुँ ।’

विवाह त एउटैसँग हुने हो । ‘तर कोसँग हुने ? समस्या यो पो भयो त ।’

एक पण्डितले भन्यो, ‘तपाईं आफैँ विद्वान् हुनुहुन्छ । घरको मूली भएको नाताले तपाईंले छानेको वरलाई कन्या सुम्पिने हो कि ? एउटा उपाय यो छ ।’

तर अर्का पण्डितले भन्यो, ‘त्यो पनि शास्त्रसम्मत हुने छैन । कन्याका दाइहरूले पनि त्यत्तिकै विधिपूर्वक शुभ लग्न हेरी टीकोटालो गरेरै आएका छन् । त्यसमाथि दाइहरू पनि अभिभावकै हुन्छन् ।’

अर्का पण्डितले थप्यो, ‘फेरि पहिले र पछि आए पनि त्यो मार्गको लम्बाइले गरेको हो । आइपुगेका त समयमै लग्न भ्याउने गरी नै आएका छन् । त्यस अवस्थामा एक वर रोज्नु न विधिले दिन्छ न नीतिले भन्छ ।’

छलफल त चलिरह्यो समाधान भने निस्केन ।

यता वरमिता आफ्ना सखीहरूसँग थिइन् । सखीहरू सधैँझैँ आज पनि जन्तीको प्रतीक्षा गर्दै वरमितालाई जिस्क्याइरहेका थिए । एकदम हासखेलको वातावरण थियो । वरमिता आफ्नो भविष्यका पतिको कल्पना गर्दै रोमाञ्चित भइरहेकी थिइन् ।

त्यसैबेला तिनीहरूका बीच यस्तो बज्रपाती खबर पुग्यो ।
एउटी साथीले भनी, ‘वरमिता तँलाई बिहे गर्न भनेर त तीनजना वर पो आएका छन् रे त !’

वरमिता केही बोल्न सकिन । लल्याकलुलुक परी, रुवाबासी हुन थाल्यो ।

यस प्रश्नले सबको मन पोलिरहेको थियो । अब वरमिताको भविष्य कस्तो हुन्छ ?

त्यसै बीचमा देख्न त अरूले देखेनन्, तर एक्कासि वरमिताको अनुहारमा दृढता र कठोरता देखियो ।
उसले साथीहरूलाई भनी, ‘तिमीहरू एकछिन पर्ख म एकपटक मेरा मातापितासँग कुरा गरेर आउँछु ।’
वरमिता गई, तर ऊ मातापिता कहाँ गइन ।

ऊ सरासर घरपछाडिको बगैँचामा गई, एकछिन सोची । मनमा अठोट गरी ‘म आफ्ना आमाबुवालाई यसरी पीडित हेर्न सक्दिनँ । यस्तो जीवनको के काम, जसले सुख त कता हो कता सारालाई दुःख मात्र दिन्छ । यो समस्याको समाधान त छैन । एउटै समाधान छ, त्योचाहिँ म मर्छु ।’

यति भनेर वरमिताले बगैँचाको सुकेको दाउरा पात बटुलेर चिता बनाई चितामा आगो सल्काई र त्यस चितामा हामफाली ऊ हुरहुर्ती जल्न थाली कसैलाई त्यसको पत्तो भएन ।

बाँकी पछि