काठमाडौं । पार्टी सदस्यताबाट विमुख गरे पनि आफू सक्रिया राजनीतिमा लाग्ने उद्घोषसहित सम्पर्क कार्यालय नै स्थापना गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खुला चुनौती नै दिएकी छिन्, कुनै समय एकै गुटमा रमाइएको भण्डारी र ओलीकाबीचमा पानी बारबारको अवस्था भएको स्वयं एमालेका नेताहरू नै बताउँछन् । भण्डारीले पार्टी सदस्यता नपाए पनि थापागाउँमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि सुरु गर्नुलाई पार्टीभित्र ओलीविरुद्ध विद्रोहको संज्ञा दिइएको छ ।

थापागाउँको लाखेचौर मार्गमा भाडामा लिइएको चारतले रातो भवनलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका रूपमा उद्घाटन गरिएको हो । यो भवन स्वर्गीय मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालयका रूपमा प्रयोग गरेको ऐतिहासिक स्थान हो । पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति मदनको राजनीतिक विरासतलाई जीवन्त राख्न र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न यो कार्यालय स्थापना गरेको बताएकी छन् । उद्घाटन समारोहमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सरिता न्यौपाने, बाबुराम गौतम, कृष्णप्रसाद दाहाल, वागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, काठमाडौं अध्यक्ष दीपक निरौला र पूर्वमन्त्री महेन्द्र पाण्डेलगायतका नेताहरू उपस्थित थिए ।

ad

भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत देश दौडाहा गर्ने र मंसिरमा हुने महाधिवेशनलाई लक्षित गर्दै सक्रियता बढाएकी छन्, यद्यपि भदौ २० देखि हुने विधान अधिवेशनमा उनको सहभागिता भने पार्टी सदस्यता नपाएकै कारण कमजोर देखिन्छ ।

२ कार्यकाल पूरा गरी राष्ट्रपति पदबाट बिदा भएपछि भंगालस्थित निवासमा बस्दै आएकी विद्या भण्डारीले जेठ १४ मा मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसर पारेर एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । तर, राष्ट्रपति हुँदा पार्टी सदस्यता त्यागेको र नवीकरण प्रक्रिया पूरा नगरेको दाबी गर्दै ओलीको पकड भएको एमालेले सदस्यता नवीकरण नगरेको जनाएको छ । पूर्वराष्ट्रपति भण्डारीले भने एमालेको निर्णयलाई ‘राजनीतिक षड्यन्त्र’ भन्दै ४५ वर्षदेखि पार्टीमा समर्पित रहेको र पार्टीले नै पठाएकाले राष्ट्रपतिको भूमिकामा गएकाले सदस्यताको विषयमा बखेडा नझिक्न आग्रह गर्दै आएकी थिइन् । तर, भण्डारी अहिले आफ्ना लागि चुनौती ठानेका ओलीले जसरी पनि रोक्ने अस्त्रस्वरूप उनको सदस्यता नै नवीकरण गर्न दिएनन् । त्यसपछि ओली र भण्डारीबीचको विवाद भुसको आगोसरी फैलिँदै गएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

भण्डारीले भनेकी छन्, ‘म १९७९ देखिको कार्यकर्ता हुँ, च्यासलको निर्णयले मेरो समर्पण रोक्दैन ।’ नेकपा एमालेले जारी गरेको अपानीमा भण्डारीको सदस्यताको विषय तल्लोतहमा छलफल नै नगर्नु भने पनि प्रदेशस्तरीय बैठकहरू, विशेषगरी कोशी, वागमतीलगायतका प्रदेशमा भण्डारीप्रति सकारात्मक विचार व्यक्त भएपछि उनी उत्साहित छिन् । उनले पूर्वी नेपालबाट देश दौडाहा सुरु गर्ने योजना बनाएकी छन् ।

विद्याकी छोरी उषाकिरण भण्डारीको अध्यक्षतामा सञ्चालित मदन भण्डारी फाउन्डेसनले यो कार्यालय सञ्चालनको जिम्मेवारी लिएको छ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा गठित मूल व्यवस्थापन समितिले मदन भण्डारीको हीरक जन्मजयन्ती मनाउने उद्देश्य राखेको छ । पौडेललाई भण्डारीको विश्वासपात्र मानिन्छ । संयन्त्रमार्फत पूर्वराष्ट्रपति भण्डारीले एमालेको संगठन विस्तारमा जोड दिने र जबजको सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याउने योजना बनाएकी छन् ।

अध्यक्ष ओलीले भण्डारीको सक्रियतालाई रोक्न विभिन्न प्रयास गरेका छन् । उनले मदन भण्डारी फाउन्डेसनलाई ‘ठगीखाने भाँडो’को संज्ञा दिँदै यसलाई व्यक्तिगत वा पारिवारिक स्वार्थमा प्रयोग भएको आरोप लगाएका थिए ।

साउन २६ गते च्यासलमा आयोजित मदन–आश्रित प्रतिष्ठानको शपथग्रहण कार्यक्रममा ओलीले भने, ‘त्यो त्यत्तिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो । श्रीमान्, श्रीमतीको हो कि आन्दोलनको निम्ति काम गर्छ कि ? के हो त्यो ठगीखाने भाँडो बनेको छ ।’