काठमाडौं । टेलिभिजनको पर्दाबाट पुराना पार्टी र नेताहरूलाई गाली गर्दै नेपाली राजनीतिमा उदाएका पात्र हुन् रवि लामिछाने । उनैले स्थापना गरेको पार्टी रास्वपाले छोटो समयमै संघीय संसद्मा २० सिट जित्दै राष्ट्रिय दलको हैसियत पाएको थियो । तर, जान्नेलाई छान्ने अनि भ्रष्टाचार मुक्त देश बनाउने नारा लिएर आए पनि अहिले पार्टीका नेताहरू सहकारी ठगी, नक्कली प्रमाणपत्र, भिसा दुरुपयोग र डिपोर्टेसनजस्ता गम्भीर आरोपमा फस्दै गएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने सहकारीको बचत रकम हिनामिनाको आरोपमा पुर्पक्षका लागि कारागारमा छन् । रूपन्देही जिल्ला अदालतले उनलाई हिरासतमुक्त गर्न अस्वीकार गरेको छ, र उनलाई रूपन्देहीबाट नक्खु कारागारमा सारिएको छ । यसबाहेक, उनको दोहोरो नागरिकता र पासपोर्ट दुरुपयोगको मुद्दा अझै विचाराधीन छ । यही बीचमा, पार्टीका अन्य नेताहरू पनि विवादमा तानिएका छन् ।

ad

उनकै पार्टीबाट सांसद हुँदै उपसभामुख भएकी इन्दिरा राना मगरको भिसा सहजीकरण प्रकरण अहिले चर्को रूपमा उठेको छ । २०२३ फेब्रुअरी २५ मा अमेरिकी दूतावासलाई लेखेको पत्रमा उनले अनधिकृत व्यक्तिहरूका लागि भिसा सिफारिस गरेको आरोप छ । उपसभामुख रानाले पदमा रहँदा १७ पटक विदेश भ्रमण गरे पनि १० पटक सभामुखबाट स्वीकृति नलिई गएको खुलासा भएको छ, जसले उनको आचरणमाथि प्रश्न उठाएको छ ।

अर्को विवादमा, पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहनबहादुर थापालाई अमेरिकाले डिपोर्ट गरेको छ । उनी सभापति लामिछानेका निकट मानिन्थे र अमेरिकामा पार्टी विस्तारमा सक्रिय थिए । मार्च २०२५ मा अमेरिकी अध्यागमनले उनलाई पक्राउ गरेको थियो, र अगस्ट ७ मा नेपाल फर्काइएको थियो । उनलाई मानव बेचबिखन ब्युरोमा सोधपुछ गरी छाडिएको छ ।

यसैगरी, रास्वपाका वागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । रूपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवबाट नक्कली प्रमाणपत्र बरामद गरेपछि कँडेलको नाम आएको हो, र पार्टीले उनलाई तत्काल निलम्बन गरेको छ । यसअघि उनी नक्कली शैक्षिक योग्यताका कारण प्रधानाध्यापक पदबाट अयोग्य ठहरिएका थिए ।

त्यस्तै रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड रुपैयाँको ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए । आफ्नै नेताहरू विभिन्न विवादमा पर्दा उल्टै रास्वपाले राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गर्दै संसद् अवरोध गरिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापना भएको तीन वर्ष नपुग्दै आफूलाई ‘सुशासन र भ्रष्टाचारमुक्त समाज’को च्याम्पियनका रूपमा प्रस्तुत गरेको थियो । तर, पार्टीका शीर्ष नेताहरू एकपछि अर्को गम्भीर विवादमा फस्दै गएपछि यो नारा अब प्रश्नचिह्नमा परेको छ ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहँदा अन्य नेताहरूका काण्डहरूले पार्टीको भविष्य नै जोखिममा परेको विश्लेषकहरू बताउँछन् । यो शृंखलाले पार्टीभित्र आन्तरिक सुधारको आवश्यकता उजागर गरेको छ, तर के यो पर्याप्त हुनेछ ?

२०७९ असार ७ गते स्थापना भएको रास्वपाले ६ महिनामै आमनिर्वाचनमा २० सिट जितेर परम्परागत दलहरूलाई चुनौती दिएको थियो । युवा र सुशासनप्रेमी मतदाताहरूको समर्थनमा उभिएको पार्टीले ‘मिसन २०८४’ को नारा दिएर दुईतिहाइ बहुमतको लक्ष्य राखेको थियो । तर, तीन वर्षमा नै पार्टीका नेताहरू सहकारी ठगी, नक्कली प्रमाणपत्र, भ्रष्टाचारको प्रयास र विदेशी डिपोर्टजस्ता काण्डमा मुछिएका छन् । यसले पार्टीको मूल एजेन्डालाई नै कमजोर बनाएको छ ।