
वसन्त लोहनी
आफ्नो हाँसोमा आफै दंग परेर थपडी बजाएर हिँडेको म
आफ्नै अनुहार नै नहेरी रमाएर युद्ध जित्न हिँडेको म ।
न युद्धको जानकारी, न विजय प्राप्तिको लाभ
प्राप्ति र समाप्तिको मर्म अबोध
बालकसरह
प्रेमको सम्मोहको अलाप गिरिधर नागर
एकलव्यको निष्ठामा उद्देश्यविहीन पागल ।
प्रेमको अन्तरिक्षमा उडिरहँदा
धर्तीको कठोरतासँग अनजान
जब लडेँ, बल्ल कठोरता महसुस भयो
सोच समझसँग अनभिज्ञ म
फगत प्रेमको अलापमा लीन रहेँ ।
अनि प्रेम के हो त ?
जे भोगेँ त्यो प्रेमाकृति अभिर्भूत सम्मोहन थियो
प्रयोग, उपयोग र दुरुपयोगको एउटा रूप ।
व्यापारीले आफ्नो मुनाफाका लागि गरेको शोषण
अहिले चल्तीमा यही नै छ, खुब चल्तीमा
यसका विभिन्न स्वरूप र संस्करणमा ।
त्यो सम्मोहनमा परेर कतिले युद्ध लडे
कति मरे, कति विकलांग भए, कति परदेशी बने
अझ कति त आफ्नै देशमा परदेशी सरह बनेका
जहाँ नांगा बादशाहहरू लुकामारी खेलिरहेका छन् ।
प्रेमको रूप त पूरै बदलिएको छ अहिले
सम्मोहनभन्दा धेरै पर
शुद्ध व्यापारिक खरिद बिक्रीमा
प्रेमका लागि सेवाको चरम लेनदेन
चाहे त्यसको लागि दास बन्न किन नपरोस्
दासत्वमा बदलिएको प्रेमको स्वरूपमा
बाँदर नाचेझैँ नाचिरहेका यी ।
उन्मुक्तिको लागि लडेको भन्नेहरू
आत्मरति र आत्मश्लाघाको शिखर चढेर
पालिस र मालिस गरिरहेका छन्
पतरी–ओछ्यान पर्खेर अधैर्य छन्
तर त्यहाँको जतिको इमान पनि छैन
बदलिँदो आकाशसरह बदलिरहेको यो प्रेम
कालो बादलले घनीभूत आकाशमा बदलिरहेको छ ।









Facebook Comments