बासना थापा 

प्रमुख सचेतक नेपाली कांग्रेस 

ad

दैलेखको विकट भूगोल र राजनीतिक चुनौतीलाई चिर्दै प्रत्यक्ष निर्वाचित भएर आउँदाको त्यो क्षण–जसले तपाईंंलाई आज प्रमुख सचेतकको जिम्मेवारीसम्म पुर्‍यायो कति सहज थियो चुनाव ?

हामीलाई चुनाव त पक्कै पनि सहज थिएन । अप्ठ्यारै अवस्थामा लडेका थियौं । किनभने म चुनाव लड्दै गर्दाखेरि कर्णालीजस्तो ठाउँमा एउटा महिलालाई टिकट दिएर प्रत्यक्ष चुनाव लड्नु पक्कै पनि सहज थिएन । त्यही पनि नेपाली कांग्रेसजस्तो ठूलो पार्टीले त पहिलोचोटि प्रत्यक्ष चुनाव टिकट दिइरहेको थियो ।

टिकट लिएर आइसकेपछि पनि दैलेखी जनताहरूले एसेप्ट गर्नलाई गाह्रै थियो । मलाई बुझाउन थोरै मात्रामा गाह्रो भएको हो । गाउँघरतिर एउटा उत्साह भने थियो । किनभने गठबन्धनका कारण कांग्रेसले रुख चिह्न नदेखेको धेरै वर्ष भइसकेको थियो त्यहाँ । त्यसमा पनि एउटा महिलाले टिकट पाइराख्दा महिला दिदीबहिनीहरूको उत्साह पनि त्यत्तिकै थियो, गाउँ छिरिराख्दा सबैले एउटा चेली आँट गरेर चुनाव लड्न आइराखेको छ, क्षमतावान् पनि जस्तो देखिन्छ । अब उहाँलाई अगाडि बढाउनुपर्छ भन्ने माहोल बढ्दै गयो । त्यसले मलाई सहज गरायो ।

कर्णालीमा महिलाले चुनाव लड्दाखेरि बुझाउन गाह्रो भयो भन्नुभयो, त्यसबाहेक तपाईंले फेस गरेको राजनीतिक च्यालेन्ज के हो ? 

अँ, पक्कै पनि, मभन्दा धेरै अग्रज हुनुहुन्थ्यो जसले राजनीतिक क्षेत्रमा लामो समयदेखि योगदान गरिरहनुभएको थियो । तर, भूगोलका आधारमा र समावेशी आधारमा महिलालाई टिकट दिँदा पछि उहाँहरू सबैले स्वीकार गर्नुभयो । जसले गर्दा मलाई सहज भयो । 

देश घन्टीमय हुँदा दैलेखमा कांग्रेसको झण्डा कसरी फहराउन सफल हुनुभयो ? 

म दैलेखमा भिजेको थिएँ । हिजोका दिनमा दैलेखी जनताले आफूसँग भिजेको व्यक्तिले भोलिको दिनमा आफ्ना लागि गर्न सक्छ भन्ने मूल्यांकन गर्नुभयो । बाहिरका मान्छेले कर्णाली पिछडिएको छ, कर्णाली अशिक्षित छ भन्नुहुन्छ तर वास्तवमा दैलेखका जनता अशिक्षित होइन, उहाँहरू मौलिकतामा विश्वास गर्नुहुन्छ । उहाँहरूले जति सिक्नु–जान्नुभएको छ, त्यसको सही सदुपयोग गर्नुभएको छ । उहाँहरूसँग म हिँड्दै गर्दाखेरि उहाँहरूमा मैले विश्वास दिलाउन सकेँ । २४ वर्ष उहाँहरूको गाउँ–गाउँ घर–घरमा डुलिराख्दा बासना थापाले कुनै पदबिना उहाँहरूको साना–साना दुःखमा साथ दिने भएको भएरै सायद विश्वास गर्नुभएजस्तो लाग्छ ।

निर्वाचित भइसकेपछि पहिलोपटक दैलेख पुग्दा कस्तो अनुभूति भयो ? 

पक्कै पनि गर्व लाग्दोरहेछ । यहाँ आइराख्दा पनि सबैजनाले बधाई दिने । सम्भवतः कर्णालीले पनि पहिलोचोटि प्रमुख सचेतक महिला पाएको छ । यत्रो ठुलो नेपाली कांग्रेसले विश्वास गरेर कर्णालीजस्तो ठाउँलाई सचेतक दियो । यस हिसाबले यहाँ सबैजना खुसी पनि हुनुहुन्छ । यसलाई मैले माया र सम्मान मात्रै नभई एउटा जिम्मेवारीको रूपमा पनि लिएको छु । सम्मान त आफ्नो ठाउँमा छँदै छ दैलेखी जनताले दिनुभएको । अब दैलेखी जनतासँगै सम्पूर्ण नेपाली कांग्रेसकै जिम्मेवार व्यक्तिका रूपमा पनि छु । कर्णालीमा जुन अभाव र पीडा छन्, म कानुन बनाउने ठाउँमा लगेर राख्न सक्छु कि सक्दिनँ ? भन्नेजस्ता कुराचाहिँ आफूभित्र आइरहँदो रहेछ । अनि गर्व पनि महसुस हुँदोरहेछ कर्णालीजस्तो ठाउँबाट म त्यो ठाउँमा पुगेँ, त्यो पनि प्रत्यक्ष जितेर । खुसीको अनुभव छुट्टै हुँदोरहेछ । पार्टीले मलाई यत्रो ठूलो जिम्मेवारी दिएको छ– प्रमुख सचेतकको, त्यसमा गर्व फेरि छुट्टै हुँदोरहेछ ।

अब जिम्मेवारीमा खरो उत्रिन सक्छु कि सक्दिनँ, मैले यो दैलेखको माटोमा टेकीराख्दा समग्र कर्णालीको मात्र नभएर, समस्त नेपालकै जिम्मेवारी मैले पूरा गर्नु छ । जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्ने कुरा मनमा उब्जिनै राख्दोरहेछ ।

चुनावका बेला कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको एकखालको लफडा थियो, त्यसले कत्तिको अप्ठ्यारो पार्‍यो ?

दैलेख जिल्लामा चाहिँ पारेन । विशेष महाधिवेशन नै दैलेख जिल्ला क्षेत्र नम्बर एकका लागि एकदमै राम्रो भएर आयो । सम्भवतः नयाँ अनुहार, त्यसमाथि महिला, त्यसपछि युवा भएका कारणले नै दैलेखी जनताले चुन्नुभएको हो । मसँगको प्रतिद्वन्द्वीले दुई–तीनपटक जितिसक्नुभएको थियो । उहाँहरूको काम हेरिसक्नु पनि भएको थियो सबैले । जसले गर्दा थोरै मात्रामा भए पनि बासना थापाले हाम्रा लागि उहाँहरूले भन्दा बढी गर्न सक्छिन् भनेर चुनेको जस्तो लाग्छ । 

कांग्रेसमा पुस्तान्तरणका कुरा, रूपान्तरणका कुरा चल्दै आएके छ । यतिबेला आएर अलिअलि भएजस्तो छ, कत्तिको सहज भयो तपाईंलाई प्रमुख सचेतक बन्न ?

सहजताभन्दा पनि सबैजना बसेर छलफल गर्‍यौँ । सबैजना आकांक्षी त हुनुहुन्छ । पक्कै पनि संसदीय दलको नेतादेखि जुनसुकै पोस्टमा पनि आफू हुन पाए हुन्थ्यो भन्ने त हुन्छ । तर खुसीको कुरा सर्वसम्मत भयो । सबैभन्दा सजिलो कुरा भनेको, सबैजनाले आफ्नो–आफ्नो तरिकाले कुरा राख्नुभयो ।  माननीयज्यूहरूले कर्णाली बिछोडिएको ठाउँ पनि हो । कर्णालीको आवाजलाई पनि त्यो ठाउँसम्म राख्नका लागि थोरै भए पनि बढी दिऊँ । प्रमुख सचेतकमा कर्णालीलाई नै समेटौँ भनेर सम्मान दिनुभयो । त्यसले गर्दा हामीलाई सजिलो पनि भयो ।

तपाईंहरू प्रमुख प्रतिपक्ष, त्यो पनि एकदमै सानो संख्यामा हुनुहुन्छ । संसदमा तपाईंहरूको यात्रा कत्तिको सहज छ ? 

सहज भन्नाले कठिनाइ पनि छैन । सरकारले गरेको रचनात्मक काममा साथ दिँदै जाने हो । उहाँहरूको गुण र दोषका आधारमा बोल्दै जाने हो । अब उहाँहरूले कस्तो काम गर्नुहुन्छ हेर्दै जाऊँ । राम्रो काममा उहाँहरूसँगै हुन्छौँ । तर यदि जनताको आवाज दबाउन खोज्नुभयो भने पक्कै पनि त्यहाँ प्रतिपक्षका रूपमा अगाडि उभिन्छौँ । 

अब संसदै नचले कहिले कहाँ उभिने ?

संसद् एक दिन त पक्कै पनि चल्ला । नचल्ने भन्ने त हुँदैन । हामीले पनि त्यसलाई शंकाको घेरामै राखेका छौँ ।

यति छिट्टै शंका गरिहाल्ने र ?

देख्नुभएकै छ नि त । कुरा खोलिहाल्नुभयो, अब अध्यादेश आयो किन र कसरी आयो, प्रधानमन्त्रीको बोली पनि सुनिएको छैन । 

अहिले संसद् नचलेको बेला अध्यादेश आउनु त राम्रै होला नि ?

राम्रो पक्कै पनि होइन । हामीले पनि यस विषयमा राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराएका थियौँ । तर पनि अध्यादेश भटाभट आइरहेको छ । यसमा हामीलाई पनि अलिकति शंका लागिराको छ । किनभने प्रधानमन्त्रीको बोली नै सुनेका छैनौँ । संविधानले दिएको अधिकार हो । हामीले धेरै सरोकार राख्नुहुँदैन ।

संविधानले दिएको भन्दैमा चुप लागिरहने ?

संसद्को कुरा हो । हामी संसदीय सर्वोच्चता कायम गर्नेगरी लड्छौँ ।

कहिले संसद खुल्छ, त्यो पनि थाहा छैन, कसरी लड्ने त्यो पनि थाहा छैन, लड्छौँ भनेर तयारीमा बस्ने त होला हैन त ? 

हामी तयारीमै छौं, तर अब संसद् खुल्न पनि पर्‍यो । हामी संसद्मा गएर बोल्छौँ, हजुरले सुन्नुहुन्छ त्यतिबेला । हामी जहाँ बोल्न पर्ने ठाउँ हो, त्यो ठाउँमा गएर बोल्छौँ । अब त्यो ठाउँ नै खोल्नुभएको छैन । हेर्दै जाऊँ । भर्खर सुरु गर्दै हुनुहुन्छ उहाँहरूले ।

तपाईंंहरू अहिले विपक्षीहरूको मोर्चा बनाउन लाग्नुभएको छ है ? संख्या त फेरि एकदमै सानो हुनुहुन्छ ?

संख्या सानो भएर केही फरक पर्दैन । आवाज राख्नको लागि एकजनाले सानो स्वरले बोले पनि जनतासामु हाम्रो आवाज लगेर राख्ने हो । संख्या ठूलो होस् या सानो होस् त्यसमा केही पनि फरक पर्दैन आफ्नो कुरा राख्नका लागि । हामीले केही योजना त बनाइराखेका छौँ । उहाँहरूको गतिविधिलाई नियालिराखेका छौं ।

तपाईंहरू सत्तामा यत्रो वर्ष हुँदाखेरि गर्न नसकेको, सुकुम्वासीलाई सरकारले भटाभट डोजर चलाएर हटाइराखेको छ, यो राम्रै होइन ? 

कसरी राम्रो भन्नुहुन्छ ? सुकुम्वासीहरूको बस्तीमा डोजर चलाएर राम्रो गरेको छैन । सही तरिकाले सुकुम्वासीहरू हटाएको भए हामी पनि सकारको कामलाई साथ दिने थियौं । पहिले छानबिन गर्नुपर्ने थयो । छानबिन नगरी, लगत संकलन र पहिचान नगरीकन उनीहरूलाई बस्ने वैकल्पिक ठाउँ नबनाईकन बस्ती हटाउनु ठिक लाग्या छैन ।  हटाउनुपर्छ, तर छानबिन गरेर बस्तीहरू हटाउने काम गर्न पर्छ जस्तो लाग्छ । अहिलेको अवस्था बच्चाहरूको विद्यालय भर्ना गर्ने समय हो । अब त्यहाँबाट हटाएर कुन ठाउँमा लगेर स्कुल भर्ना गर्ने हो ? कहाँ पढिरहेका हुन्छन्, बच्चाहरू । कोही त १० कक्षामै पढिरहेका होलान् । ती बच्चाहरूलाई कहाँ लगेर पढाउने, हामीले समाचारहरूमा महिलाका समस्या पनि देखिरहेका छौँ । गर्भवती महिलाहरू बाहिर बसिरहेका छन्, सुत्केरीहरू त्यत्तिकै छन्, ज्येष्ठ नागरिकहरूलाई बोकेर पुलिसले ल्याएर बाहिर राखिरहेको छ । विपन्न सुकुम्वासीहरूलाई त बढीभन्दा बढी प्रभावित बनाइरहेको छ । यसलाई अलि व्यवस्थित तरिकाले गरेको भए सहज हुन्थ्यो । काम राम्रो हो, तर तरिका गलत भयो ।

यत्रो वर्षसम्म तपाईंहरूले गर्न नसक्ने अनि अरूले गर्दा तरिका खोज्ने ? तपाईंहरूको पनि त तरिका मिल्या रहेनछ ?

होइन नि, नसकेको होइन नि । सुकुम्वासीका लागि घर बनाइदिएकै थियो । पहिला पनि त हटाइएको हो नि । अहिले मात्र त होइन नि ।

आग्रह गर्दा नमानेपछि प्रशासन त लगाउनैपर्‍यो नि होइन र ?

पहिला पनि धेरै मान्छेहरू त गएर बस्नुभयो त्यहाँ । सबै शतप्रतिशत क्लियर हुन सकेन । ५० प्रतिशत मान्छेहरू त गएर बस्दिनु भयो नि ! सही र गलत पहिचान गर्न नसकी एकैचोटि निर्णयमा गएको हो कि ? उहाँहरूको बिचल्ली भयो नि । स्वास्थ्य जोखिममा छ । ख्याल गर्नुपर्ने हो । सुरक्षित बसोवासको व्यवस्था नगरी, दीर्घकालीन समाधान नखोजी सिधै गर्दा गाह्रो भएको हो । काम राम्रो छ । उहाँहरूको कामलाई हामीले राम्रो भएन गर्नुहुँदैन भनेको हैन । काम ठिक छ । हामी पनि यसमा सहमत छौँ । तर तरिका मात्र नपुगेको हो ।

के गरेको भए तरिका पुग्थ्यो त ?

उहाँहरूको अवस्था हेरेर, तपाईंहरूलाई यस्तो गर्दै छौँ, तपाईंहरू हट्नुस्, यसरी जानुस् भनेर पालैपालो सबैलाई बिस्तारै बिस्तारै छोड्न लगाउनुपथ्र्यो । अब त्यहाँ कति सुत्केरी महिला हुनुहुन्छ, कति ज्येष्ठ नागरिक हुनुहुन्छ, अपांहरूलाई कसरी बोकेर ल्याएर बाहिर राखिएको छ । मलाई त सबैभन्दा बढी ती बच्चाहरूको भविष्य देखेर चिन्ता लागिरहेको छ, जसको विद्यालय भर्ना गर्ने बेला भएको छ अहिले । 

 

अब पार्टीको कुरा, राष्ट्रिय सभाको संसदीय दलको नेता÷सचेतक किन हटाएको ?

यो विधानसम्मत नै छ । सचेतक र प्रमुख सचेतक भनेको प्रतिनिधिसभाको संसदीय दलको नेता आएपछि छानिने हो । जो संसदीय दलको नेता छानिनुहुन्छ, उहाँले आफूअनुकूल पर्ने गरेर छान्न पाउनुहुन्छ । त्यो उहाँको अधिकारको कुरा हो । संसदीय दलको नेताको अधिकारको कुरा हो ।

अब नेपाली कांग्रेस पार्टी एक हुन्छ कि विभाजन हुन्छ ?

एक हुन्छ । समान्तर गतिविधि भनेको, उहाँहरू पनि अब नियमित महाधिवेशनकै तयारीमा होला । हामी पनि नियमित महाधिवेशनकै तयारीमा छाँै, सबैजना । अब भोलि नियमित महाधिवेशनमा त सबैजना भाग लिन पर्छ भनेर तयारी होला । बाहिर आधिकारिक त केही पनि आएको छैन । 

तर तपाईंहरूले नियमित महाधिवेशन गराउन सक्नुहुन्न भन्छ अर्को पक्षले ?

त्यस्तो आधिकारिक भर्सन त आएको छैन । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले पनि चुनाव गर्न सक्नुहुन्न भनिएको थियो, उहाँले गर्नुभयो नि । हामी त्यो निर्वाचनबाट आयौँ यहाँ । यो त पार्टीभित्रको कुरा हो । सभापति गगन थापाले गर्न नसक्ने भन्ने कुरा हुँदैन । नियमित महाधिवेशनमा सबैजना भाग लिनुहुन्छ ।

तर सुदूरपश्चिमले सदस्यता अध्यावधिक गर्दैनौँ भन्छ । तपाईंहरू सदस्यता अध्यावधिक नगरी अधिवेशनमा सहभागी हुन दिँदैनौँ भन्नुहुन्छ, कहाँनेर कुरा मिल्यो ? 

सदस्यता अध्यावधिक गर्नुपर्छ । गर्नुहुन्छ उहाँले । अध्यावधिक गरेपछि आधिकारिक फोन नम्बर हुन्छ, इमेल हुन्छ, मेल एड्रेस नभएका मान्छेको हात–हातमा फोन हुन्छ । भोलि हामी त्यो क्रियाशील सदस्यसम्म जान सक्ने एउटा माध्यम हुन्छ । पहिला–पहिला कस्तो सिस्टम थियो भने क्रियाशील सदस्यहरू सबैको भरिदिने, फोन नम्बर हुँदैन थियो । एउटैले दुई–चारवटा फोन नम्बर भरेको अवस्थामा हामीले उहाँहरूसँग भेट्न नसक्ने, म्यासेज पठाएको रिले हुन नसक्ने, यस्ता कुराहरू थियो । हामीले यो सबैको व्यवस्था गरेका छौँ, अहिले । सबैजना आफ्नो वडा–वडामा जानुहुन्छ । अध्यावधिक गर्नुहुन्छ । म पनि सोमबार अध्यावधिक गरेर काठमाडौं फर्किन्छु । सबैजना नेपाली कांग्रेस नै हो । सबैको माया भनेको रुखमाथि नै छ । अहिले दुई–चारजनाले भन्नुभयो भने यो हुँदैन भन्ने कुरा चाहिँ हुँदैन । सबैजनाले गर्नुहुन्छ जस्तो लाग्छ मलाई । सबैजना साथै हिँड्नुहुन्छ ।