दिनेश कोइराला

केन्द्रीय सदस्य नेपाली कांग्रेस

ad

 

तपाईं त राजनीतिक मान्छे, चलचित्र बनाउने सोच कहाँबाट आयो ? यसको मूल कथा र सन्देश के हो ?  

चलचित्र क्षेत्रमा मेरो पहिलेदेखि नै रुचि थियो । पहिला–पहिला हामीले टेलिसिरियल बनाएका थियांै । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मासँग मिलेर एक घण्टाको सर्ट मुभी पनि बनायौँ । पछिल्लो समय चलचित्र ‘बिगुल’ बनाएँ । त्यसको मेजर विषयवस्तु भनेको राजनीति हो । राजनीतिभित्रका सामूहिक मुद्दा हो । अहिले राजनीति सही ट्रयाकमा गएको छैन । मैले नेपाली कांग्रेसको केन्द्रीय समितिमा पनि धेरै कुरा राखेँ । विद्रोह पनि गरेँ । अब यही कुरा आमनेपाली जनताबीच राख्छु । देश यसरी चल्नुपर्छ भनेर सूक्ष्म रूपमा देखाएका छौँ र त्यसको सोलुसन बाटो पनि देखाएका छौँ । 

 

स्क्रिप्ट जेएनजी विद्रोहअघि लेख्नुभयो कि पछि ?

धेरैअघि मंसिरमा मैले कथा लेखेँ र वैशाख र जेठमा हामीले सुटिङ गर्‍यौँ र गीत सुटिङ बाँकी थियो, गीत भदौको पिहलो साता सक्यौँ । तर भदौको २२ गते जेनजी मुभमेन्ट भयो । हाम्रो फिल्मको मर्म पनि युवाहरू राजनीतिप्रति सचेत हुनुपर्‍यो । जब आन्दोलन हुन्छ युवा होमिन्छौँ, तर परिवर्तन भइसकेपछि युवाहरू चुप लाग्ने भइरहेको छ । राजनीति सबैले गर्न जरुरी छैन तर राजनीतिप्रति सबै सचेत हुनुपर्छ । युवा जाग सचेत होऊ, खबरदारी गर । अब तिम्रो पालो हो, नत्र देश खत्तम हुन्छ भनेका छौँ । 

 

जेनजी विद्रोह भयो, युवाहरू नेतृत्वमा आए तै पनि पुराना नेताले सत्यतालाई आत्मसात् गर्न नसकेका हुन् ?

भदौ २३ र २४ पछिको देश र परिवेश अलग हो । यसलाई स्विकार्न सक्नुपर्छ । भदौ २३–२४ देखि फागुन २१भित्रको अलग परिस्थिति हो । फागुन २१ पछिको परिवेश अलग हो । यसलाई हामीले स्विकार्नुपर्छ । यदि कसैले त्यसलाई स्विकार्दैन भने उसले दुःख पाउँछ । आउने दिनमा फेरि यही दुर्घटना बेहोर्न सक्छ । परिवर्तनलाई स्वीकार्न सक्नुपर्छ र आउने दिनहरूलाई चाहिँ आकलन गर्न सकेन भने त्यो नै दुःख पाउँछ ।  

 

तपाईं अहिले नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य मनोनीत हुनुभयो, पहिलो अर्को समूहमा हुनुहुन्थ्यो ?

अब नेपाली कांग्रेसको सभापति त गगन थापा हो । त्यसलाई कसैले इन्कार गर्ने अवस्था नै छैन । सभापतिसँग केही असहमति हुन सक्छ । आन्तरिक प्रतिस्पर्धा हुन सक्छ तर सभापति मान्दिनँ, सभापति हैन भन्न त सकिँदैन नि ! कांग्रेसभित्र रहेर, हिजो ‘विशेष महाधिवेशन मान्दिनँ’ भनेर निर्वाचन आयोग जानु, अदालत जानु स्वाभाविक होला । तर निर्णय भएर आइसकेपछि पनि गगन थापा सभापति होइन भन्नु त्यो मूर्खता हो । गगन थापाका कमजोरी होलान्, अथवा केही चित्त बुझ्दैन होला, ती कुरामा छलफल गर्न सकिन्छ । तर सभापति नै मान्दिनँ भन्नु त मूर्खता हुन्छ । 

 

केही नेताहरू नयाँ पार्टी खोल्ने कुरा गरिरहनुभएको छ ?

नयाँ पार्टी त कसैले व्यक्तिगत रूपमा खोल्ला । त्यो सबैको स्वतन्त्रता कुरा हो । तर कांग्रेस फुटेर जाँदैन । कांग्रेस फुटाउने हिम्मत कसैको छैन ।  

 

नयाँ पार्टीको नाम राष्ट्रिय कांग्रेस, चुनाव चिह्न शंखको चर्चा छ त ?

अहिलेको परिस्थितिमा कसैले त्यस्तो दुस्साहस गर्छ जस्तो लाग्दैन । फागुन २१ पछिको देश र परिवेश अलग छ । यदि कसैले भदौ २२ गते अगाडि सोचेर त्यो राजनीति गरेर अगाडि जान्छु भन्छ भने त्यो सम्भव छैन । त्यो दिवासपना हुन्छ । 

अहिले पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिहरूले नयाँ पार्टी खोल्ने कुराको बजार चर्चा त सुन्नुभएको होला ?

उहाँहरू पार्टी खोल्न जानुहुन्छ जस्तो मलाई लाग्दैन । किनभने कांग्रेसका लागि हिजोको दिनमा संघर्ष र योगदान गरेका दुःख गरेका नेताहरू हुनुहुन्छ । उहाँहरूमा केही कुरा असन्तुष्टि होला, त्यो स्वभाविक रूपमा लिन्छु र लिनु पनि पर्छ । हिजो दुःख गरेको पार्टीमा संघर्ष गरेको व्यक्तिहरूलाई एकैचोटि यो परिवर्तन हुँदै गर्दा उहाँलाई केही असहमति अथवा असजिलो हुन सक्छ । झड्का पनि लाग्यो होला । उहाँहरूले कांग्रेसलाई टुक्राएर फुटाएर अर्को पार्टी खोल्छु भनेर जानुहुन्छ जस्तो मलाई लाग्दैन । मलाई विश्वास छैन ।

तर, लगातार समानान्तर गतिविधि भएकै छन् नि ?

भेलाहरू परम्परागतमा हिजो पनि चलिआएको हो । त्यही रूपमा यो भेला गरेको भन्नुभएको छ, उहाँहरूले । सम्पर्क कार्यालय हिजो गगन थापाजीहरूको पनि थियो, विश्व प्रकाशहरूको पनि थियो । अहिले शेखर कोइरालाको पनि सम्पर्क कार्यलय छ । सम्पर्क कार्यालय खोल्ने, समानान्तर गतिविधि गर्दै हिँड्ने कुरा विगतमा पनि गलत थियो । त्यसकारण आज यो अवस्था आयो । कांग्रेसको राजनीति खस्केको छ । त्यो लाइनमा अब जानुहुँदैन । अब नयाँ देश, नयाँ परिस्थिति भएको छ । नयाँ तरिकाले जानुपर्छ । अब त्यसरी भेला गुट पनि अन्त्य गर्नुपर्छ र आन्तरिक रूपमा छलफल गर्ने बहस गर्ने र असहमति कुरा राख्ने सहमति ल्याउने त्यो गर्नुपर्छ । सायद त्यो प्रयास पनि भइरहेको छ । सभापति गगन थापाजीले पनि आह्वान गर्नुभएको छ । सायद अब केही समयमा मिल्छ जस्तो लाग्छ । 

 

इतरपक्षले समानान्तर गतिविधि जारी राख्ने अनि संस्थापनले कारबाहीको चेतावनी दिइरहेको छ, कसरी मिल्छ ? 

सभापतिको पनि एउटा आफ्नो दृष्टिकोण होला । तर एउटा विन्दुमा आएर मिल्छ । म सेतोलाई कालो, कालोलाई सेतो भन्दिनँ । स्वाभाविक रूपमा पार्टीको नेतृत्व चयन गर्ने बेलामा, महाधिवेशनमा यो मान्छे आइदिए हुन्थ्यो यो लिडर आइदिए हुन्थ्यो चाहना हुन्छ, अलग कुरा हो । तर मेरो यो नेता हो, उसले जे भन्छ त्यो अन्धभक्त भएर म कहिले लाग्दिनँ, लागेको पनि छैन । पार्टी सभापति अहिले गगनजी हुनुहुन्छ । हिजो शेरबहादुर दाइलाई पनि हामीले सहयोग गरेकै हो । उहाँसँग असहमति कुरा छन् भने उहाँसँग राखिन्छ, बसिन्छ, छलफल गरिन्छ । तर उहाँलाई असहयोग गर्न, उहाँलाई असफल बनाउन, उहाँलाई कमजोर गराउन लागिँदैन । अहिलेको परिस्थतिमा गगन थापालाई असफल बनाउनु भनेको कांग्रेस कमजोर हुनु हो । 

 

डाक्टर शेखर कोइराला पक्षको चाहिँ के हो राजनीतिक धारणा ? 

मान्छे सबैको आफ्नो स्वभाव हुन्छ । सबैभन्दा पहिलो कुरा, राजनीति केका लागि ? कसैले भन्छ– राजनीतिक पद नभई हुँदैन । शेखर कोइरालामा केही कमी—कमजोरी भएकै हो । उहाँमा नेतृत्व लिएर अगाडि जाउँला भन्ने चाहना थियो । त्योअनुसार लाग्नु पनि भएको थियो । तर विशेष महाधिवेशनबारे उहाँको स्पष्ट धारणा थियो– विशेष महाधिवेशन कि त केन्द्रीय समितिले गर्नुपर्‍यो, होइन भने केन्द्रीय समितिले त्यसको ओनरसिप नलिए, पार्टी फुट्न सक्छ । म पार्टी फुटाउने लाइनमा जाँदिनँ । त्यसकारणले केन्द्रीय समितिले नै यो विशेष महाधिवेशनले ओनरसिप लिनुपर्छ भन्ने उहाँको धारणा थियो । तर त्योअनुसार भएन । अहिले पनि उहाँको मलाई बरु कुनै पद चाहिँदैन । पार्टी फुट्न हुँदैन । पार्टी मिलाउनुपर्छ, विष पिएर पनि पार्टी एक गराउने प्रयासमा लाग्छु भन्ने उहाँको धारणा छ । यद्यपि उहाँले भूमिका निर्वाह गर्न सक्नुभएको छ कि छैन ? कि आन्तरिक रूपमा गर्नुभएको छ तर बाहिर नदेखिएको हो त्यो आफ्नो ठाउँमा छ । अहिलेको यो भूमिकाले उहाँलाई घाटा भयो होला तर पार्टीको लागि जुन भूमिका निर्वाह गर्नुभएको छ । यसले परिणाम ल्याउँछ । उहाँले दुइटै समूह मिलाउने भूमिका गर्नुहुन्छ । र अहिलेको मैले यसो हेर्दा आशाको केन्द्र, फुट्न लागेको पार्टीलाई जोड्ने एउटा माध्यम भनेको शेखर कोइराला हुन सक्नुहुन्छ । 

 

अहिले फेरि कांग्रेसमा प्रतिशतको भागबन्डा सुरु हुन लागेको हो ?

केही साथीहरूबाट यस्ता कुरा मैले पनि सुनेको छु । तर प्रतिशतको भागबन्डा गलत हो । यो अन्त्य गर्नुपर्छ ।   सभापतिले सबैलाई समेटेर लैजानुपर्छ । र सभापतिले पनि सबैलाई समेटेर लैजाने कुरा पनि गरिरहनुभएको छ ।  

१५औँ महाधिवेशनपछिको सभापति पनि गगन थापा नै हो ?

गगन थापाको काँधमा अहिले ठुलो चुनौती छ । नम्बर एक, कांग्रेसलाई एक बनाउने चुनौती छ । जो नेतृत्व हो, उसको ठुलो भूमिका हुन्छ । उहाँलाई पार्टी मिलाउन चुनौती छ । नम्बर दुई, कांग्रेस जेठो पार्टी हो । सिट संख्या कति छ त्यसको सरोकार छैन । तर कांग्रेस यो देशको अभिभावक पार्टी हो । र देशको अभिभावकत्व कांग्रेसले गर्न पर्छ । त्यसको लिडरसिप गगन थापाले गर्नुपर्छ र गर्नुहुन्छ पनि उहाँभित्र त्यो क्षमता छ । त्यसकारणले कांग्रेस एक भएर यो देशलाई सही ट्रयाकमा लैजानका लागि प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह पनि गर्न सक्छ कांग्रेसले । कांग्रेसले अभिभावक भूमिका पनि निर्वाह गर्न सक्छ । करिब दुई तिहाई सिट ल्याएको छ, रास्वपाले । अहिले सानातिना कुरामा विरोध गर्नुहुँदैन । सय दिन काम गर्न दिनुपर्छ । कांग्रेसको कारणले अथवा प्रमुख प्रतिपक्ष दल कारणले यो काम गर्न सकेनौँ है भन्ने ठाउँ दिनुहुँदैन । सय दिन हेरौँ काम गर्न दिऊँ । रास्वपाले राम्रो काम गरे, देश राम्रो भयो, जनता खुसी भए, समस्या समाधान भए, देशको मुहार परिवर्तन भयो भने स्वागत गर्छ कांग्रेसले । अब तपाईंको प्रश्नमा जाऊँ, १५औँ महाधिवेशनबाट गगन थापा पनि हुन सक्नुहुन्छ । अरू पनि आउन सक्छ । अब चुनावमा जान्छौँ, जित्ने, हार्ने अवस्था के हुन्छ, इक्वेसन कसरी बन्छ, तर मलाई लाग्छ, उहाँ विशेष महाधिवेशनबाट आइसकेपछि र १५औँको प्रबल दाबेदार पनि हो र उहाँको सम्भावना पनि देखिन्छ । 

 

१५औँ महाधिवेशन डाक्टर शेखर कोइराला पनि चुनाव लड्छु भनेर आउँदा तपाईं कता लाग्नुहुन्छ ?

१५औँ महाधिवेशनमा गगन थापा र शेखर कोइराला बीचमा चुनाव हुन्छ जस्तो मलाई लाग्दैन । किनभने अहिले पनि शेखर कोइरालाले के भन्दै हुनुहुन्छ भने अब उहाँलाई पदको भन्दा पनि पार्टी जोगाउनु छ । राजनीतिमा कि पद हुन्छ कि प्रतिष्ठा हुन्छ । हेर्नुस्, गिरिजाबाबु ४८ सालमा प्रधानमन्त्री बन्नुभयो । ५१ सालमा पार्टी सभापति बन्नुभयो । तर सबैभन्दा आलोचित लिडर गिरिजाबहादुर हुनुहुन्थ्यो । तर ६२–६३ सालमा त्यो १० वर्षको बीचमा उहाँको पद केही थपिएन । मृत्युवरण गर्दै गर्दा उहाँ युगपुरुष बन्नुभयो । त्यसैले राजनीतिमा पद र प्रतिष्ठा अलग कुरा हो । पदले मात्र त्यसको उचाइ बढ्दो रहेनछ । उचाइ त त्यसको एजेन्डाले, उसको भूमिकाले बढ्दो रहेछ । गिरिजाबाबु ५३ साल पछि त कुनै पद थपिएको हैन । जसले जीवनभर पुतला जलायो, गाली गर्‍यो उसैले महान् युगपुरुष बनाइदियो ।  

 

क्रियाशील सदस्यता अध्यावधिकमा विवाद देखिएको छ, अध्यावधिक गर्ने कि नगर्ने ?

अध्यावधिक गर्नुपर्छ । त्यसमा कुनै दुविधा हुँदैन, किनकि केन्द्रीय समितिले पोलिसी बनायो, त्यसमा जाँदा के फरक पर्छ र ! यो मेजर कुरा हैन, पहिला पनि स्वयं उपस्थित भएर नवीकरण गर्नुपर्छ भन्ने थियो । त्यसमा धेरैको विरोध थियो । त्यसलाई फ्लेक्जिबल बनाइयो । अहिले अनलाइनबाट गर्न सकिन्छ । घरमै बसीबसी गर्न सकिन्छ । समस्या त हुँदैन । पार्टीलाई डिजिटलाइजेसन गरौँ भन्ने कुरा नराम्रो होइन । 

 

सम्पत्ति छानबिन समिति बनेको छ, पुराना नेता यसैबाट डामिन्छन् भन्ने एकखालको आकलन गर्न सकिन्छ ? 

सरकारसँग मेरो माग छ– भ्रष्टाचारविरुद्ध एकदम कडा हुनुपर्छ । निष्पक्ष छानबिन हुनुपर्छ । मेरो दल, तेरो दल, म, मेरो, तेरो केही नभनीकन जसले गलत गरेको छ, दोषी छ उसले सजाय पाउनैपर्छ । जसले कमजोरी गरेको छैन उसले क्लिन चिट पाउनैपर्छ । पुरानो सबै खराब, नयाँ सबै राम्रो भन्ने होइन । आज नयाँ दलका सांसदहरू हेर्नुस् त, उठ्दाउठ्दै, गुड्दागुड्दै, लड्दालड्दै आइरहेका सांसदहरू पनि छन् । एउटा सत्य के हो भने एमाले कांग्रेसका नेताहरू जो राजनीतिमा प्रवेश गरे ९९ प्रतिशत इमानदार मान्छे प्रवेश गरेका थिए । तर पद आइसकेपछि बिग्रेका हुन् । तर अहिले नयाँहरू जन्मिँदै खराब देखिएका छन् । त्यहाँ पनि छानबिन हुनुपर्‍यो । अहिले पनि नयाँ पार्टीमा अस्ति सम्पत्ति विवरण हेर्नुभयो भने जिब्रो टोक्नुहुन्छ । हिजो जसले लुट्यो, खायो उसकै छोराछोरी आज इमानदार अलि मिलेको छैन । एमाले कांग्रेस माओवादीका नेपोबेबी अनि उहाँहरूलाई के भन्ने ? नयाँ हुँदैमा सबै राम्रो मानिदिनुपर्ने ? यो हुँदैन । सरकारले हिजो जति पनि राज्यमा बसेका पार्टी÷व्यक्तिमाथि छानबिन गरोस्, दोषीलाई कारबाही गरोस् हामी स्वागत गर्छौं । कांग्रेसभित्र कसैले गल्ती गरेको छ भने सजाय देओस्, हामी विरोध गर्दैनौँ । तर निष्पक्ष गर्नुपर्‍यो । मान्छेको नेतृत्व गर्ने अगाडिबाट हो । पशुको नेतृत्व गर्ने पछाडिबाट लठ्ठीले हिर्काएर । तर मान्छेको लिड गर्नेले आफू उदाहरण नै बन्नुपर्छ । सरकार, रास्वपाभित्र पनि छानबिन गर्नुपर्छ । जुन अस्ति, सम्पत्ति विवरण पेस भएको छ । त्यसको स्रोत खोज्नुपर्छ ।

नयाँ प्रधानमन्त्रीको काम गर्ने शैली कस्तो लागिरहेको छ ? 

बालेनका केही कमीकमजोरी त्रुटिचाहिँ होलान् । हुन सक्छ, मान्छेको स्वभाव हो । तर जसरी बढेका छन्, मैले नियत खराब देखेको छैन । किनभने सरसर्ती हेरिएको छ । कुनै बिचौलियालाई भेटेको छैन । हिजो माओवादी नै हेर्नुस्, सर्वहारा नेता भन्थे । तर उनीहरूको संगत उठबस् कस्तो हुन्थ्यो । तर अहिले बालेनमा चाहिँ देखेको छैन । यद्यपि उनले गरेका एक्सनमा केही कमीकमजोरी होलान् । मान्छे सर्वगुणी त कहाँ हुन सक्छ र ? भगवान् त कोही हुन सक्दैन नि ! प्रश्न गर्ने ठाउँ धेरै छन्, तर मलाई नियतमा खराब लाग्दैन । सय दिन उहाँलाई काम गर्न दिनुपर्छ ।