काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी संगठनलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यसहित क्रियाशील सदस्यता अद्यावधिक अभियान अघि बढाइएको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले बदलिँदो राजनीतिक प्रतिस्पर्धामा सक्षम रहन संगठनलाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताए। उनका अनुसार यस अभियानले सदस्य र पार्टीबीचको सम्बन्धलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन आन्तरिक प्रणालीलाई आधुनिक बनाउने लक्ष्य राखेको छ।

ad

महामन्त्री पौडेलले सदस्यता अद्यावधिक अभियान काँग्रेसको डिजिटलाइजेसन प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको स्पष्ट पारे। उनले भने, 'यस अभियानको मूल उद्देश्य सदस्य विवरण सुरक्षित राख्नु, योगदानको अभिलेख व्यवस्थित गर्नु र पार्टी–सदस्य सम्बन्धलाई सुदृढ बनाउनु हो।'

उक्त प्रक्रिया नयाँ सदस्यता वितरण मात्र नभई पहिलेदेखि सदस्य बनेका र वैध सदस्यता भएका व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि समावेश गर्दछ। पौडेलले सदस्यहरूको टेलिफोन नम्बर, सामाजिक सञ्जाल पहिचान, रुचि र योगदान गर्न चाहेको क्षेत्र लगायतका तथ्यांक आधुनिक संगठन सञ्चालनका लागि अपरिहार्य भएको बताए।

अन्ततः महामन्त्रीले पार्टी पङ्क्ति र सदस्यहरूलाई अभियान सफल बनाउन सक्रिय सहभागिताको अपील गरे।