गुरु बराल 

नेता, नेपाली कांग्रेस

ad

कानुनी लडाइँ सकिएपछि नेपाली कांग्रेस अब कता पुग्छ ? 

नेपाली कांग्रेस पार्टी इतिहासमै अत्यन्तै सानो, होचो र कमजोर भएको छ, अत्यन्त हामी दुखित छौं । हाम्रा आन्तरिक जीवनमा हामीले एक आपसमा मन मिलाउन सकेनौं र आन्तरिक झगडामा रुमल्लिएका कारण कांग्रेस पार्टी, देशको लोकतन्त्र र मुलुकको अस्मितामाथि नै प्रश्न चिह्न उब्जिएको कठिन अवस्थामा अहिले हामी उभिएका छौं । 

अदालतले विवाद टुंगाइसके पछाडि अब नेपाली कांग्रेस कसरी अगाडि बढ्छ ? 

नेपाली कांग्रेस मात्र होइन मुलुकको सिंगो राजनीति र संसारको सबै राजनीति कानुनी आधारमा मात्रै अडेको हुँदैन । यहाँ राजनीतिक विचार मूल्य मान्यता र राजनीतिक समीक्षाको पनि खाँचो हुन्छ । हो, अदालतले एउटा पक्षलाई वैधता दियो, कानुनी राज्य मान्ने पार्टीका सिपाहीका हिसाबले कानुनी रूपमा अब विवाद निरूपण भएका छन् । तर राजनीतिक रूपमा पार्टी एक गराउने, सशक्त गराउने र सबै तह र तप्कामा न्याय स्थापित गरेर लैजाने अदालतबाट मान्यताप्राप्त पक्षको काँधमा जिम्मेवारी आएको छ ।

यो जिम्मेवारीलाई अहं रूपमा सशक्त र पुरानै अवस्थामा कांग्रेस फर्काउने जिम्मेवारी उहाँहरूको छ । नीतिगत रूपमा कसरी जाने भन्ने कुरा उहाँहरूले नै तय गर्नुहोला, त्यसपछि हामी संवाद र छलफलमा जुटौंला भनेर प्रतीक्षारत छौं ।

तपाईंहरू पूर्वसंस्थापनको पनि त जिम्मेवारी होला नि ?

हामीले भन्यौं नि हाम्रो जिम्मेवारी हिजोसम्म एउटा कानुनी वैधताको लडाइँ थियो । हामीले अदालतको कानुनी वैधताको कुरालाई मानेका छौं । तर एउटा त सत्य के हो भने भृकुटीमण्डपको ‘विशेष अधिवेशन’मा शतप्रतिशत कांग्रेस पनि थिएनन् । हामी त बहुमत नै थिएन भन्ने पक्षमा अहिले पनि अडिग छौं । सर्वोच्च अदालतले जुन जुन आधारहरू टेकेर निर्णय गर्‍यो, ती निर्णय पनि विरोधाभासपूर्ण छन् । कांग्रेसको एउटा ठूलो तह र तप्का त्यहाँबाट बाहिर छ । ती सबैलाई एक ठाउँमा लगेर सबैको विश्वास न्याय र राजनीतिक रूपमा समाधानको बाटो खोज्न जरुरी छ ।

अहिले संस्थापन भनेर आफूलाई स्थापित गरेका साथीहरूलाई एक कांग्रेस, न्यायसंगत कांग्रेस र राजनीतिक रूपमा पनि सशक्त कांग्रेस बनाएर लाने अभियानमा जुट्नुहोस् भनेर म तपार्इंको मिडियामार्फत जो अपिल गर्न चाहन्छु ।

तपाईंहरूको समूहलाई अहिले ‘चौम’ भन्छन् नि ! यो शब्द सुन्दा कस्तो लाग्छ ?

मिडिया मेनुपुलेसनले अहिले मुलुकको राजनीति निर्वाचन परिणाम, आर्टिफिसियल पोलिटिकल पपुलिजममा देश चलेको छ । र अब कसले के भन्छ म त्यति धेरै महत्व दिन्न । चौधौं महाधिवेशनबाट निर्वाचित कार्यसमिति भन्न खोजेको होला । ठिकै छ, यसलाई धेरै टीका–टिप्पणी म गर्न चाहन्नँ । 

अहिले पनि तपाईंहरूको गुटगत भेला त भइरहेका छन् । फेरि १५ गते भेला बोलाउँदै हुनुहुन्छ । यसको उद्देश्य के हो ?

मैले भनेँ नि राजनीतिक रूपमा समस्या छँदै छन् । कानुनी निरूपणको कुरा सकियो । राजनीतिक रूपमा सबैले आत्मसमीक्षा गर्न जरुरी छ । हामी  रूपान्तरणको विरोधी होइन नि ! जसरी मिडिया म्यानुपुलेसन गरेर हामीलाई रूपान्तरणको विरोधीजस्तो देखाइयो । त्यो त निर्वाचनको परिणाम र अहिले देशमा जुन खालका काला बादलहरू मडारिएका छन् त्यसले त देखायो । त्यो हिजो गल्ती थियो । तर कसैको कुत्सित मनसाय पूरा गर्नका लागि रचिएका ती चक्रव्यूहमा कांग्रेस सिंगो पार्टी फस्यो । अहिले इतिहासमा सबैभन्दा निम्छरो भयो, कांग्रेस पार्टी । अब त्यो विन्दुबाट पहिला समीक्षा सुरु गर्ने कि नगर्ने ? त्यो राजनीतिक प्रश्न भयो नि त । साथीहरूको आवेग र उत्तेजनाका कारणले चरम महत्वकांक्षा र अरूको बहकावका कारणले कांग्रेस मात्र बर्बाद भएको हैन । लोकतन्त्रमाथि पनि कस्तो कालो बादल मडारिएको छ हेर्दै हुनुहुन्छ । विदेशीको खुलेआम हस्तक्षेप कसरी बढेको छ त्यो पनि हेर्दै हुनुहुन्छ ।

एकचोटी कहाँ फर्काउन चाहेँ भने ७९ असार ६ गते आदरणीय निवर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको क्याबिनेटले एउटा पेचिलो निर्णय गरेको छ । कि संयुक्त राज्य अमेरिकाबाट प्रस्तावित एसपिपी स्टेट पार्टनरसिप प्रोग्राम अगाडि नबढाउने भनेर । क्याबिनेटबाटै निर्णय गर्नुपर्ने कस्ता खालका दबाब थिए होला ल भन्नुस् त । म जेसुकै हूँला मेरो राजनीतिक जीवन जेसुकै होला जेसुकै दुःख कष्ट बेहोर्नुपर्ला, तर राष्ट्रहितविपरीतको निर्णय गर्न दिन्नँ गर्दिनँ भनेका कारण देउवाजीले यी दुःख बेहोरेको हो नि त । चक्रव्यूहको बहकावमा विशेष अधिवेशनका रचयिता साथीहरू पनि पर्नुभयो । जो कानुनतः अहिले वैध हुनुहुन्छ । हाम्रा कारणले, हाम्रा महत्वकांक्षाका कारणले, हामी प्रयोग भएका कारणले, हामी बहकिएका कारणले मुलुक लोकतन्त्र र पार्टी सबै बर्बाद भयो । त्यसो भएर सरी भन्न त पर्ला नि राजनीतिक रूपमा । 

तपाईंको बुझाइ कानुनी रूपमा वैधता पाए पनि अझै राजनीतिक रूपमा वैध हुनुहुन्न भन्ने तर्क हो ?

अब राजनीतिक रूपमा वैध भनेको के हुन्छ भन्नुस् न । हामीले पहिला एउटा समीक्षा गर्नुपर्‍यो । ५२ देखि ६२ सम्म मुलुकमा जुन खालको द्वन्द्व मडारिएको थियो । देश हत्या, हिंसा र आतंक रगतको आहालमा चुर्लुम्म डुबेको थियो । हाम्रो नेता आदरणीय गिरिजाबाबुले यो हत्याहिंसा र आतंकको आहालबाट मुलुकलाई निकाल्नुपर्‍यो भनेर शान्ति सम्झौतामार्फत कांग्रेसका आधारभूत कुरालाई पनि स्थगन गरेर हामी शान्ति प्रक्रियामा आएको हो । मुलुकलाई हत्या हिंसा र आतंकको बाटोबाट बाहिर निकाल्न त सफल भयौं तर हामीले बिपी कोइरालाका आदर्शहरूलाई स्थगन गर्दाखेरि मुलुकको राष्ट्रियता कमजोर भयो । धर्मसंस्कृति मूल्य मान्यता दिन–प्रतिदिन क्षीण हुँदै गए, समाज थप विकृत हुँदै गयो, त्यति मात्र होइन नेपाली कांग्रेसको एउटा ठूलो जनमत हामीसँग रिसायो, हामीसँग उनीहरूको ठूलो गुनासो रह्यो । त्यो गुनासो आफ्नो ठाउँमा थियो तर मुलुकले गति लिएको भए राष्ट्रियता बलियो भएको भए, समाजको सौहार्दतादेखि नागरिक हक अधिकारहरू प्रयोग गर्ने कुरामा अझै सशक्त भएको भए आफ्ना धर्म, संस्कृति, मौलिकता अझै संरक्षित भए ती कुरालाई पनि हामीले मनन गर्थ्यौँ होला । तर ६२–६३को सम्झौतामा हामीले कांग्रेसका मूल्य–मान्यतालाई स्थगन गरेर शान्तिसँग ती कुरा साट्यौं । ठ्याक्कै २० वर्षे यात्रामा मुलुक झन् बर्बादीतिर गयो । त्यसो भएर अब हामी सम्पूर्ण यो वा त्यो पक्ष होइन । बिपी कोइरालाका आदर्श मूल्य मान्यताहरूलाई स्थापित गर्दै एकताका साथ १५औं अधिवेशनमा गयौं भने राष्ट्रिय राजनीति वैदेशिक नीति र नेपाली कांग्रेसको विरासत फर्काउन सक्छौं भन्ने मिसनका साथ जाऊँ भनेर म तपाईंको मिडियामार्फत साथीहरूलाई आह्वान गर्न चाहन्छु । 

६२–६३ देखि ८२ सम्मको कुरालाई हेर्दा, यो १९ वर्ष तपाईं अहिले जहाँ हुनुहुन्छ त्यही नेतृत्वले किन गर्न सक्नुभएन ? तपाईंले प्रश्न त्यता पनि गर्नुपर्छ होला नि ?

मैले महसुस गरेँ । मैले भनेँ यो किन गर्न पर्ने मजबुरी निर्माण भयो । ५६–५७–५८ सम्म कहाँ थियो देश ? तत्कालीन रूपमा त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नु थियो । त्यो द्वन्द्वबाट देशलाई बाहिर निकाल्नु थियो । द्वन्द्वरत पक्ष हाम्रा केही आइडियोलोजिकल कुरामा सहमत हुन सकेनन् । हामी त्यही अडानमा बसिराख्यौं भने देश अझै ठूलो हिंसामा होमिने भयो भन्ने मान्यताका साथ हामीले त्यो सम्झौता गर्न पुगेको हो । तर देश भौतिक द्वन्द्वबाट त निस्कियो तर आमरूपमा समाजका सबै अवयवहरू खलबलिए, सबै अस्तव्यस्त भयो । हामीले बिपी कोइरालाको आदर्शलाई त्याग्दाखेरि राष्ट्रियता कमजोर भयो । पार्टी कमजोर भयो । हाम्रा शुभेच्छुकको जनमत हामी गुमाउन पुग्यौं । ती सबै फर्काउने हो भने अब एक ठाउँमा आउनुपर्‍यो । फेरि समीक्षा पनि त गर्नुपर्‍यो ।

 बिपीकै आर्दशमा फर्किने हो भने राजालाई पनि ल्याउनुपर्ने होला, घाँटी जोडिएको भन्नुभएको थियो बिपीले त ?

त्यतिखेर बिपी कोइरालाले राष्ट्रियताका सवालमा मेरो राजासँग घाँटी जोडिएको छ भन्नुभयो । त्यति मात्रै भन्नुभएन, आमनागरिक हरेक परिवारको घरमा एक हल गोरु हुने, एउटा दुहुनो गाई हुने कल्पना गर्नुभएको थियो । ६० वर्षको यात्रामा अहिले त्यसको परिभाषा फेरिएको छ ।  गोरुका सट्टा ट्रयाक्टर आयो होला । गाईको सट्टा दूध किन्ने हैसियत निर्माण गर्नुपर्‍यो होला । त्यस्तै, राष्ट्रियताको सवालमा अरू के विकल्प निर्माण गर्न सकिन्छ, कसरी कुन फरेन पोलिसीले, कुन आइडियोलोजीले राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने समीक्षाका साथ जानुपर्‍यो ।  मिडियामा अहिले यहाँ राजा चाहियो संवैधानिक राजा चाहियो भनेर बोलेर हुने कुरा हैन । नेपाली कांग्रेसले अब तल्लो तहसम्म आमकांग्रेसमा जनमत सर्वेक्षण गरेर राष्ट्रियताका पक्षमा, धार्मिक स्वतन्त्रताका पक्षमा र कांग्रेससँग रिसाएको जनमतलाई पुनः फर्काउने पक्षमा जाँदा त्यो जनमतबाट कुन खालको परिणाम आउँछ त्यसपछि हामीले आफ्नो अवधारणा बनाएर जानुपर्छ भन्ने मेरो मान्यता हो ।

अझै पनि पार्टी मिलिरहेको छैन । एउटा भेलामा तपाईंले पनि नयाँ पार्टी खोलेर अघि बढ्नुपर्छ भनेर अभिव्यक्ति दिएको कुरा आयो नि ?

त्यो कार्यक्रममा मेरो बोल्ने पालै आएको थिएन । को साथीले बाहिर आएर मिडियामा भन्दिनुभयो त्यही चर्चामा आयो । प्रजातान्त्रिक समाजवाद, धार्मिक स्वतन्त्रतासम्मका कुरालाई पार्टीमा पुनःस्थापित गरेर १५औं अधिवेशनबाट यसलाई दस्ताबेजीकरण गरेर, संविधानमा पनि यी कुरा दर्ज गरेर जानुपर्छ भन्ने मान्यता बोकेर हिँड्ने मान्छे म पार्टी विभाजनको पक्षमा लागौंला ! पार्टी विभाजन हुने-नहुने भन्ने अहिलेको वर्तमान सभापतिको कोर्टमा बल छ । उहाँले सबै पक्षलाई मिलाएर जान तयार हुनुहुन्छ मिलाएर जान सक्नुहुन्छ । 

विशेष महाधिवेशनबाट गगनले नेतृत्व नलिएको भए अहिले घण्टीभन्दा तल रहेको कांग्रेस माटोभन्दा तल पुग्थ्यो भन्ने तर्क पनि सुनिन्छ नि ?  

यो मिडिया मेनुपलेसन भन्ने यही हो । गगनजीले नेतृत्व नलिएका भए माटोभन्दा मुनि भनेको के हो ? मैले जे बोले पनि बिक्छ मैले जे न्यारेसन दिए पनि हुन्छ । यसरी समाज बन्दैन । ८९ सिट जितेको कांग्रेसलाई ३८ सिटमा झार्दा पनि अझै होस छैन । झगडा नगरेका भए आफ्ना अभिभावकलाई गलहत्याउँछु नभनेका भए, अभिभावकलाई मात्र होइन मुलुकका अरू ठूला पार्टीलाई नखेदेका भए र यो पार्टी मुलुक जल्दै गर्दाको अवस्थामा उहाँहरूले मुलुक जलेकाप्रति खेद प्रकट गरेर सम्पूर्ण साथीहरूलाई एकता हुन आह्वान गरेका भए कांग्रेस पहिलो पार्टी हुन्थ्यो नि त । संसारका कुनै मुलुकमा पनि लोकप्रियतावादले सुखद् परिणाम ल्याएको छैन । त्यो दुखद् परिणाम यो मुलुकमा पनि आउँछ । कांग्रेसमा त देखिई नै हाल्यो । 

अब १५औं महाधिवेशन असोजको १६–१९को तयारीमा लाग्ने कि अझै राजनीतिक एकता भएको छैन भन्दै बसिरहने त ? 

असोजको तेस्रो हप्तालाई १५औं महाधिवेशनको मिति तोक्नुभएको छ । हाम्रो जनमत घट्यो, हाम्रो झगडाका कारणले, महत्वकांक्षाका कारणले, हाम्रा कमजोरीका कारणले घट्यो । अहिले नेपाली जनताले, नेपाली कांग्रेसका आमकार्यकर्ताले मन परिवर्तन गरिसकेका छैनन् । मत परिवर्तन गरेको हो । प्रत्यक्षमा ७९को निर्वाचनभन्दा नै हामी १०–१२ लाख मत घटायौं । अब नेपाली कांग्रेसका मतदाताको कार्यकर्ताको घरघरमा गएर बिपीवादलाई हामी पुनस्र्थापित गर्छौं भन्ने प्रतिबद्धताका साथ कांग्रेसमै रहन र कांग्रेसको सदस्य बन्न र कांग्रेसमा क्रियाशील हुनको लागि घरदैलो अभियान सुरु गरेर जान जरुरी छ । 

अहिले साथीहरूले जसरी लाइन लाएर सदस्यता लिने र डिजिटल कांग्रेस भन्नुभएको छ, अहिलेसम्म त मत मात्रै परिवर्तन गरे अब आमकार्यकर्ताले मन पनि परिवर्तन गरेर दल छोड्ने अभियान चल्यो भने के गति होला हाम्रो । त्यसो भएर समीक्षा गरेर, संयमित भएर, टिक्ने खालका निर्णय गरेर जान जरुरी छ । 

अब ३६४ दिन कांग्रेस, चुनावको दिनमा गैरकांग्रेस हुन्छ भनेर किन राख्ने त त्यस्ता सदस्य ? 

हामी  राजनीतिक परिणाममा सबैभन्दा कमजोर भएको बेला हो । हामी चुनाव हारेका हौँ, नेपाली कांग्रेस पार्टीलाई नेपाली जनताले झापड हान्ने अधिकार छ, अहिले त्यो झापड हानेको हो । केका लागि झापड हानेको भने झगडा नगर सुध्रिएर, परिष्कृत भएर आऊ तिमीले बोकेर हिँडेको आइडियोलोजी भएन, तिम्रा आदर्श छोड्यौ भनेर हानेको झापड हो । यो झापडलाई हामीलाई खेदे, हामीलाई छोडे भनेर बुझ्यौँ भने सबैभन्दा ठूलो गल्ती हुनेवाला छ, कांग्रेसलाई । नेपाली कांग्रेसमा लगानी गरेको जनमत छ । उसले जीवन दियो, ज्यान दियो, जवानी दियो, सम्पत्ति दियो, समय दियो, परिश्रम दियो त्यसरी निरन्तर नेपाली कांग्रेसलाई सात सालभन्दा अगाडिदेखि हालका मितिसम्म निरन्तर एउटा परिवारले एउटा व्यक्तिले एउटा वंशले लगानी गरेको छ । अविछिन्न उत्तराधिकारीजस्तो छ, कांग्रेस पार्टी । जहाँ लगानी छ, त्यसकाप्रति अपेक्षा पनि राख्न पाउँछ । आक्रोश पोख्न र कहिलेकाहीँ घुक्र्याउन धम्क्याउन नि पाउँछ । त्यो उसको अधिकार हो । अहिलेको निर्वाचनको परिणाम त्यही हो । त्यसैलाई आधार बनाएर तँ आजदेखि मेरो सदस्य रहिनस् भन्ने हो भने कुन लोकबाट ल्याउने हो भोटर, मतदाता, जनता, कार्यकर्ता ? त्यसो भएर हामीले पहिला समीक्षा गर्नुपर्‍यो । यसका लागि त छाती उदार चाहियो । आत्मालोचित पनि हुनुपर्‍यो । परिष्कृत हुन नि तयार हुनुपर्‍यो । गल्ती पनि स्वीकार गर्न तयार हुनुपर्‍यो । जनताका बीचमा माफ मागेर कोही सानो भइन्न ।

पार्टीलाई एक ढिक्का बनाउन, कमिटी मर्ज गरौं भन्नुभएको छ के साँच्चिकै कांग्रेस फुटेको हो र एकीकरण गर्नलाई ?

कांग्रेस बाहिर सग्लो पनि देखिएको छ । तर मनचाहिँ जोडिएको छैन, मन फुटेकै छ, विभाजित छ, मन दुखेको छ । विश्वसनीय वातावरण निर्माण गर्दै मन माझामाझ गर्नुपर्‍यो नि ! मन माझामाझ गर्नका लागि अत्यन्तै ठूलो तप्का भृकुटीमण्डपभन्दा बाहिर थियो । त्यसलाई कसरी पार्टीमा समाहित गर्ने हो त ? त्यो विश्वसनीय वातावरण कसरी निर्माण गर्ने हो त ? हिजो भएका कमीकमजोरीलाई अब हामीले परिष्कृत भएर आयौं भनेर कसरी भन्ने हो त ? एउटा म्यासेज त दिनुपर्ला नि त । त्यो म्यासेज नदिइकन ल अब अधिवेशनमा जाऊँ भनेर गाडी चल्यो अब रोकिन्न भन्नु, त्यो गाडीको ब्रेक छ कि छैन ? त्यो गाडीको क्लज कस्तो छ, टायर कस्तो छ, नहेरीकन जान सकिएला र ? जसको कोर्टमा बल छ त्यही पक्षले विश्वसनीय वातावरणमा अगाडि बढाएर लिएर जान सक्यो भने मात्रै सशक्त कांग्रेस बनाउन सकिन्छ ।

रास्वपाको दुईतिहाइ जतिको सरकार बनेको छ, एक महिनाको अवधिलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ ? 

मैले अस्ति एउटा समाचार हेरेको थिए । इरानमा अमेरिकाले दुई–तीनवटा ठूला सामरिक महत्वका ठाउँमा बमबारी गर्न लागेको थियो । इरानी जनताहरू इरानको झण्डा बोकेर, जहाँजहाँ बम हान्दै थियो त्यहाँँ गएर उभिए । मैले नेपालको भदौ २३–२४ सम्झिएँ । नेपाली झण्डा बोकेर, नेपाली गीत गाएर नेपालका सामरिक महत्वका सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकादेखि वडा तहका राजनीतिक दलका कार्यालय पनि नेपाली झण्डा ओढेर जलाउन ध्वंस गर्न हिँड्यो । त्यही जगमा उभिएको सरकार बनेको छ । त्यसो भएर यो सरकारले केही राम्रा कुरा प्रारम्भ गर्न खोजेको हो कि जस्तो देखिएको त छ । तर विश्व राजनीति हेर्दाखेरि हामी जिओपोलिटिक्सको चक्रव्यूहमा छौं । त्यो चक्रव्यूहमा अझै सरकार भासिने देखेको छु । यो सरकारका रवैयाले जसरी व्यवसायी आतंकित छन् यावत् सबै क्षेत्र एकैचोटि तहसनहस हुने अध्यायमा पुगेको छ । सरकारको सय दिन पुगेको छैन धेरै तिखो टिप्पणी नगर्दै गर्दा पनि साथीहरूलाई संयमित भएर राष्ट्रिय परिस्थिति अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रो जनताको अपेक्षालाई मध्यनजर गरेर काम गर्नका लागि अपिल गर्न चाहन्छु ।