अस्ति आफ्नै घरमा छिर्न दिएनन् प्रवेश निषेधको ब्यानर टाँगेर 

अहिले गृह प्रवेश गराउन आएका छन् रातो कार्पेट बिछाएर 

ad

निषेध र प्रवेशको स्याम्पल वितरण अब एक्जाम्पल मात्र रहेन 

मूल प्रवाह नै बनेर ओगटेको सबै क्षेत्र सबै ठाउँ दूषित पारेर ।  

 

कहिले निषेधमा साथ दिने पुरस्कृत हुने

त कहिले प्रताडित हुने

त्यस्तै छ स्वागत गर्दाको पनि

कहिले कित्ताकाट, कहिले चकलाबन्दी गरेर खेलिने खेलमा

कहिले जुट्ने, कहिले फुट्ने 

आफ्नो अनुकूलताको बकम्फुसे व्याख्या 

गोटी चालको भेटी हाल्ने परम्परा र विधिको शासन । 

 

के जायज ?

के नाजायज ?

आफ्नो अनुकूलताअनुसार परिवर्तन हुने

हनुमानको विराट र सूक्ष्म रूपजस्तो

या, बाँदर राजा सङ्–उ–कंगको मिथकीय छडीजस्तो 

निषेध पनि जायज, प्रवेश पनि जायज 

वकिलको बहसजस्तो

नाजायज फगत समय बन्यो ।

 

कहिले कसलाई को अनुकूल 

कहिले कसलाई को प्रतिकूल

कसैको लागि घुकिरहने कुकुरहरूलाई के थाहा ? 

बलवान् समय छ भन्ने 

यो निषेध र स्वीकृतिको खेलमा 

समयले न कसैलाई पर्खन्छ 

न गइसकेको समय घर फर्कन्छ

कोही चुपचाप, कोही आह्लादित 

मालिक कसलाई मान्ने दुबिधामा थाकेका कुकुरहरू

बीचबीचमा ङ्यार्रङुर्र गरिरहेका ।

 

शक्ति उन्मत्त हुँदाको बेला 

प्रवेश–निषेधको खेला

क्लान्त, असहाय भएको बेला 

घर फर्काउने स्वागतको भेला 

जालझेलको गोरु नारेर उब्जाएको फसल 

डुक्रने, खाने, बेच्ने समयको पसल अब गइसक्यो । 

 

फाँटमा झरिसकेको छ नदी अब फैलिएर बहन 

समयले खोजिसक्यो युवा–ऊर्जा अगुवाइ गर्न

जहाँ कहीँ जुनसुकै नाम लिएर किन नहोस्

असंगठित जन–आवाजलाई मुखरित गर्न युवा संगठित हुँदै

कतै के, कतै के नाम

कतै कक्रोच अर्थात् साङ्लेको नाममा संगठित हुँदै

अर्को प्रलय–बाढी ल्याइरहेको

नाममा के राखेको छ र ?

सपना समाते युवा–ऊर्जा प्रणालीकृत हुन् । 

 

जेरी बनाएकोजस्तो घरीघरीको चालबाजी 

पृथ्वी गोलजस्तो सबैलाई गोल बनाएको जालसाजी

जायज–नाजायज कहिले नटुंगिने 

छोड ! अब मलाई शिखण्डी बनाउने यो त्रिमूर्ति खेल 

शिर बस्र्यो कहिलेदेखि बल्ल देख्यौ समयको भेल

ए जायज–नाजायजहरू अब विश्राम गर !

युगकवि सिद्धिचरणले भनेझैँ–

‘पीढी युवाको अब चुप छैन’