मैले नाउँ बिर्सेको छैन भने शिक्षिकाको नाउँ भगवती खनाल हो । 

एकदिन उनकै फोन आयो । उनको कुराको सारांश थियो, मेरो कथा ‘स्वाद’ नवम कक्षामा राखिएको छ । ‘काष्ठ–मण्डप स्कुल’का छात्र–छात्राले मसित भेट्ने र मसित ‘स्वाद’ कथाबारे अन्तक्र्रिया गर्न चाहेछन् । 

ad

भगवतीजीले भनिन्– ‘विद्यार्थीहरूले भने, हामी लेखकसँग भेट्न पाउँछौँ ? मैले भनेँ– म ट्राइ गर्छु, त्यसैले फोन गरेकी ।’

फोनमा र भेटमा पनि भगवतीले बताइन्, ‘उपसंहार अर्थात् चौथो अन्त्य हामीले पढ्नुपथ्र्याे ।’ मैले भनेँ, किन नभेट्नु, कुन दिन भेट्ने मलाई अगि नै खबर गर्नुहोला ।’ दुई–तीन दिनपछि फेरि फोन आयो, भगवतीजीले भनिन्– वैशाख ३० गते मंगलबार मिल्छ ? 

मैले भनेँ– मिल्छ । 

३० गते वैशाख २०८३ का दिन ११ बजेतिर म काष्ठमण्डप स्कुलको प्रांगणमा पुगेँ । 

प्रवेश गर्नासाथ लाग्यो, स्कुल भव्य छ, अनुशासित छ र महत्वपूर्ण छ । यसरी पाठ्यक्रममा राखिएको लेखकलाई नै निम्त्याएर विद्यार्थीहरूसित अन्तक्र्रिया गराउनु एक राम्रो योजना लाग्यो, मलाई । पाठ्यक्रममा राखिएको आफ्नै कथाबारे विद्यार्थीहरूको जिज्ञासाबारे बोल्नु मेरो पहिलो नै अनुभव हुनुपर्दछ । 

स्कुलको वातावरण, राम्रो थियो, शान्ति थियो, हुन त शिक्षक–शिक्षिकाको निर्देशन त होला नै । तर यस्तो लाग्दथ्यो, सारा कार्यक्रम विद्यार्थीहरूकै आयोजनामा हुँदै छ । 

दुई छात्र आए र मलाई बाटो देखाउँदै हलतर्फ लगे । हल पनि राम्रो रहेछ । उनीहरूले नै मलाई मञ्चमा पु¥याए । मञ्चमा म एक्लै थिएँ । सामुन्ने तल नौ कक्षाका विद्यार्थीहरू बसेका थिए । 

दुई छात्राहरू मेरो परिचय दिन थाले, पालैपालो, मेरो लेखनका संख्या, कथा उपन्यास अनि मैले पाएका उपाधि, पुरस्कार, सम्मान तिनले विस्तारपूर्वक, स्लाइडसहित बताए । 

अन्य कति विद्यार्थीहरूलाई जानकारी नभएको हुनसक्छ, त्यसैले तिनले विस्तारमा बताएका होलान् । 

दुईमध्ये, कसले के–के बोल्यो, कतिबेर बोल्ने र एकले बोलेपछि कतिखेर अर्की छात्राले बोल्ने, सबको राम्रा रिहर्सल गरेका होलान् । कुनै त्रुटि भएन । तिनीहरूबाट । 

त्यसपछि मैले अलिकति बोलेँ आफ्नो छात्र बेलाका कुरा, ड्रेस कोड थिएन, त्रिजुद्ध हाइस्कूलमा त्यतिखेर । 

त्यसपछि छात्र–छात्राहरू ‘स्वाद’ कथाबारे प्रश्न गर्न थाले । माइक तिनका बीच पनि थियो, तर त्यति काम गरेनछ क्यार । आफ्नो ठाउँमा उभिएर विनामाइक सोध्दा तिनको कलिलो बोली आवाज मसम्म राम्ररी अउन मानेन । मैले प्रत्येकलाई मञ्चनजिक आएर बोल्ने संकेत गरेँ । 

पहिला गरिएको प्रश्न याद छ । कुनै छात्रले सोध्यो– ‘स्वाद कथाको उद्देश्य के हो ?’

मैले भनेँ– कुनै कथामा उद्देश्य स्पष्ट हुन्छ । पहिलेका कथामा देखिने गरी उद्देश्य हुन्छ । आजका कति कथामा उद्देश्य प्रच्छय, कोभर्ट हुन्छ । यो त्यस्तै कथा हो ।’

कथाको सम्झना गराउँदै कस्तो परिवारको कथा हो निम्नमध्यम परिवारको कथा हो । निम्नमध्यम वर्गीय परिवारका समस्या कस्ता हुन्छन् आदि बताएँ । 

कसैले पात्रबारे सोधे । एकजनाले सोधे– के यो मेरो बाल्यकालको कथा हो ? 

मैले भनेँ– मेरै भन्दै गएँ । एक घण्टा चानचुनको समय होला । त्यसपछि त्यो काल समाप्त भयो । 

भगवतीजीले कार्यक्रमपछि क्यान्टिनमा लगिन् । त्यसअगि एउटी छात्रा मिठाईको किस्ती लिएर आई । त्यसबखत मैले मिठाई खाइनँ । अहिले लाग्छ, एउटा खानुपर्ने । मन राख्न । हुनसक्छ, कसैको रिजल्टको खुसियालीको मिठाइ होस् । क्यान्टिनमा भोजनको व्यवस्था थियो । तर म घरबाटै खाएर गएकाले खाइनँ । तै पनि आग्रह गरे, केही आइसक्रिम, केही दही र फलका एकदुई टुक्रा खाएँ । मायाको चिनो भनेर एउटा निगाले कि बाँसको बिरुवा दिए । त्यो मलाई राम्रो लाग्यो, पर्यावरणीय उपहार ।

क्यान्टिनमा कसैले सोध्यो– स्वादको रोयल्टी पाइन्छ कि ?

मैले भनेँ– राख्दा अनुमति त लिँदैनन्, रोयल्टी कसले दिन्छ ? 

काष्ठमण्डप स्कुलको त्यो कार्यक्रम स्मरणीय थियो । म आफू पनि शिक्षक रहेको हुनाले विद्यार्थीबीच बस्न मलाई सुखद लाग्दछ । 

फोटो खिचाउने कार्यक्रम राखियो । विद्यार्थी, म बिदा हुँदा, कतिले नमस्ते गरे, प्रायः सबैले केहीले हात मिलाए । 

अन्त्यमा अल द बेस्ट भन्दै म बाहिरे निस्केँ । 

आउने बेलामा एउटा खाम पनि दिएका थिए । 

पछि खोलेर हेर्दा रु. ५००० रहेछ । पछि पत्रकार देवेन्द्र भट्टराईलाई सुनाउँदा, उनले भने– त्यो त भव्य स्कुल हो, त्यति तिनका लागि ठूलो होइन ।’

तै पनि स्वाद कथाको रोयल्टी ठानेँ त्यसलाई मैले, जुन नपाइने ठाउँमा पाइएको थियो ।