काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले नेतृत्व नछाड्ने स्पष्ट संकेत दिएका छन्। पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुनर्गठनको बहस तीव्र भइरहेका बेला ओलीले आफूलाई नेतृत्व छाड्न दबाब दिन आवश्यक नरहेको धारणा राखेका हुन्।

बैठकमा पदाधिकारीहरूले राखेका धारणा सुनिरहेका क्रममा ओलीले “मलाई सम्झाउनुपर्दैन, म नेतृत्व छाड्ने अवस्थामा छैन” भन्ने आशयको अभिव्यक्ति दिएको एक पदाधिकारीले बताएका छन्। उनका अनुसार ओलीले पार्टी संकटमा रहेका बेला नेतृत्व परिवर्तनको बहसलाई उचित नठानेको संकेत गरेका थिए।

ad

सचिवालय बैठकमा पछिल्ला दिनहरूमा अधिकांश नेताहरूले पार्टी पुनर्गठन, पुस्तान्तरण र नेतृत्व शैलीबारे गम्भीर प्रश्न उठाइरहेका छन्। महासचिव शंकर पोखरेल ले बैठकमा वर्तमान संरचना र कार्यशैलीमा पार्टी आन्दोलन अगाडि बढ्न नसक्ने धारणा राखेका थिए। उनले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएको स्रोतहरूले बताएका छन्।

यद्यपि पोखरेलले प्रत्यक्ष रूपमा राजीनामाको माग नगरे पनि नेतृत्व पुनर्संरचनाको विषयलाई स्पष्ट रूपमा उठाएको बताइएको छ। एमालेभित्र पछिल्लो समय संगठनात्मक पुनर्गठन, नेतृत्व पुस्तान्तरण र कार्यशैलीबारे बहस तीव्र बन्दै गएको छ।

बैठकमा सचिव महेश बस्नेत ले भने अध्यक्ष ओलीको बचाउ गरेका थिए। उनले संकटपूर्ण अवस्थामा नेतृत्व परिवर्तनको माग गर्नु गैरजिम्मेवार कदम हुने टिप्पणी गर्दै अध्यक्षमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिको आलोचना गरेका थिए। विशेष महाधिवेशन गरेर नेतृत्व फेरिएका दलहरूको अवस्था पनि उत्साहजनक नरहेको उल्लेख गर्दै उनले केवल नेतृत्व परिवर्तनलाई समाधानका रूपमा लिन नहुने धारणा राखेको बताइएको छ।

त्यसैगरी उपमहासचिव लेखराज भट्ट ले पुस्तान्तरणको प्रस्ताव अघि सारेका थिए। उनले ६० वर्षभन्दा माथिका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्दै पार्टी पुनर्गठनको पक्षमा आवाज उठाएको स्रोतहरूले जनाएका छन्।

शनिबारको बैठकमा नौ जना पदाधिकारीहरूले धारणा राखेका छन् भने अझै केही सचिवहरूको बोल्ने क्रम बाँकी रहेको बताइएको छ। बैठक पुनः आइतबार अध्यक्ष ओलीको गुण्डुस्थित निवासमा बस्ने तयारी छ।

एमालेभित्र जारी यो बहसले अब पार्टीको भावी नेतृत्व, शक्ति सन्तुलन र संगठनात्मक दिशा कता मोडिने भन्ने विषयलाई थप चासोको केन्द्रमा ल्याएको छ।