धनी, गरिब, ठूलो, सानो, महापण्डित, अपठित 
त्यसको के अर्थ हुन्छ र ? 
जब स्पन्दन एउटै या एउटै सेरोफेरोमा हुन्छ
कृष्ण र सुदामाको जस्तो ।

भर्खर जन्मेको शिशुलाई आमाले स्पर्श गर्दा 
स्पन्दनको बाढी आउँछ आमा र शिशु दुबैमा 
दुवैले त्यत्तिकै फोकस गर्नुपर्ने हुन्छ 
आमाका लागि–
छताछुल्ल भएर बाहिर नजाओस् भनेर
शिशुका लागि–
संवेगात्मक बमबारीबाट जोगिन 
बाँच्नको लागि अझ बढी फोकस गर्नुपर्छ 
एउटै स्पन्दन या सेरोफेरो बाँच्न सक्छ– 
बाबु–आमाको छोरा–छोरी प्रति,
त्यस्तै दाजुभाइ दिदीबहिनीबीच पनि, 
आफन्तहरूसँग हुन सक्छ, 
स्कुल–कलेजको सहपाठी होस् या सहकर्मीसँग, 
राजनीतिक रूपमा बेठिक 
या अराजनीतिक रूपमा ठिक 
स्पन्दनयुक्त चुम्बकीय क्षेत्र यदि घनीभूत छ भने 
या पर गइसकेको छैन भने मात्र पनि

ad

तर बाबुको प्रेम खतरनाक पनि हुनसक्छ 
धृतराष्ट्रजस्तो अन्धो, होइन, विवेकहीन अँध्यारो हुँदा
या गान्धारीको जस्तो दृश्य किरण पोखिँदा
सँगै सुत्ने सँगै उठ्ने अर्धांगिनीसँगको सम्बन्धले 
लामो यात्रा तय गरे पनि
मुटुको स्पन्दनले एक अर्कालाई नभेटेको हुन सक्छ
फगत सतहमा फैलिँदै गएको आवेग मात्र हुन सक्छ ।

सम्बन्धका अनेक जाति प्रजाति छन् 
कुनै उपयोग गरेर फ्याँक्ने हुन्छन् 
कुनै दान दातव्य असुल्ने हुन्छन् 
कुनै भोट चाहिने बेलाको
कुनै हुन्छन् साथी भनेर सम्बोधन गर्ने 
तर साथीलाई ‘सेकेन्ड फिडल’ मान्यता दिने
अर्थात् आफूभन्दा तल दोस्रो दर्जाको ठान्ने 
त्यस्तो सम्बन्धबाट मात्रै आनन्द लिन सक्ने
अनि खेलौनासरह प्रयोग गर्ने अधिकार ठान्ने
कुरा मात्र गरिदिँदा पनि ‘साथी’को इज्जत बढेको ठान्ने
उसैको पैसामा ऊसँग भोजन गर्दा मात्र पनि
उसलाई सातौँ आसमानमा पु¥याएको ठान्ने
एउटा अनौठो पागलपन सवार ! 
यो भन्दा ठुलो मित्रताको पाखण्डता के हुन सक्छ ?
के थाहा पाखण्डी स्वरूपलाई
माछालाई पानी जस्तो
एउटै तहको पारस्परिकता चाहिन्छ मित्रताको लागि
अनि मात्र प्रेम अंकुुरित हुन्छ

नजिकको सम्बन्धको आनन्द लिन 
अर्कोलाई दोषी ठहर गर्नुपर्ने 
संवेदनाहरू भत्किँदै जाँदा बाँकी एउटा खण्डहर मात्र 
रित्तिएका संवेदनाको ठाउँमा घृणा भरिँदा 
आक्रोशको ज्वालामुखीबाट लावा दुष्टताको
यस्तो दुष्टता–
विरासतमा आएको कुण्ठा होस् या स्वआर्जन
बलियोको अझै मुक्त स्तुति गान गर्ने
कमजोरलाई घात गरेर मात्र मात चढ्ने
यस्ता विकृति चेहराहरूको पुच्छरवाला चंगाजस्तो उडानलाई
के भन्ने ? 
हे ! कति माथि उड्ने धर्तीको आस नगरीकन ?

जोसुकैबीचको सम्बन्ध होस्
जसरी सम्बोधन गरिएको किन नहोस् 
आपसी सम्बन्ध बाँच्न 
एकअर्काले बराबरीको लेभल नाप्न सक्नुपर्छ
संवेदनशीलताको झन्कार सुन्न सक्नुपर्छ
बल्ल न्यानोपनले झंकृत गर्न सक्छ त्यो स्पन्दनलाई
त्यो स्पन्दनमा फुलेको फूल रुन सक्छ साथीलाई चोट लाग्दा
यसरी पीडा घट्न जान्छ
हाँस्न सक्छ साथीको खुसीमा 
अनि मात्र खुसी दोब्बरले बढ्न जान्छ 
उठाइरहेका हुन्छन् एकअर्कालाई नथाक्ने ती हातहरूले 
पञ्चतन्त्रको यो कथन–
‘साथी त्यो हो जो संकटको समयमा साथ दिन्छ ।’

तर मान्छेको दुर्बलता–
एउटाको टल्केको जुत्ताको उज्यालोमा 
अर्कोले अनुहार देखे मात्र मित्र ठहरिने
यस्तो अनन्त संयोजनमा बनेका अनन्त सम्बन्धहरू
सन्त कवि तुलसीदासको यो दोहा–
‘सुर नर मुनि सब कै यह रीति । 
स्वारथ लागि करहिं सब प्रीती ।।’
त्यसैले स्टक किनेको जस्तो बनेको
कतै निर्माण गरिदिने एक अरबको भवन
कतै मालपानीको गाडी 
कतै होली वाइनको चुस्की
खै ! कतै के, कतै के– भित्र बाहिर 
स्टकको भाउ बढेपछि मुनाफा गर्ने जमातको
दृश्य–अदृश्य प्रतिस्पर्धामा संवेदनाको चीरहरण
मृत सागरमा पौडी नखेलेर तैरिरहेका मान्छेको जस्तो 
जोखिमयुक्त जनजीविका 
अनेकौँ मञ्चित नाटकहरू 
दुर्भाग्य छ दुर्बलताको– 
सम्बन्धहरूको थपडी बजिरहेको ।