फासफुस बितेको पुसको अन्तिम बुधबार
फेरि आएँ यो प्रिय जगहमा कैले नअघाउने गरी 
हाम्रो महाकविले देखेको ‘कान्तिको शान्ति’ खोज्न 
‘माछापुच्छ्रे ! हिमशिखरको बादशाह’ लाई भेट्न 
‘महिषी अन्नपूर्ण हिमाल’को सौन्दर्य मुग्ध हुन

उनले देख्दाको ‘वरपर सबै पश्चिम राज्य खाली’
छैन अहिले ‘खाली’ भरिभराउ छ प्रायः सबै पोखरेली
डाँडाको तल पाटन भनिने हरिया फाँटहरू
वरिपरि यस्तै पाटनहरूले भरिएको रसिला फाँजहरू
चारैतिरका पहाडले गुथेका हरिया थुम
यसरी चिटिक्क बनेको यो धरा पोखरा उपत्यका 

ad

डाँडाको घना जंगलमा गाई–भैँसी ब्याउन छाडिएका 
आफ्नो बस्तु चिनेर एकपटक नुन खुवाउन जाने गरेका 
ब्याएपछि घर ल्याउँदा बिगौती खानेहरू
त्यसपछि मुख मोसेर बचाएको दूध
घिउ बनाएर बेच्नुपर्ने नुन तेलको जोहो गर्न
जंगलका हल्का भिराला पाखाहरू
बीचबीचमा बसेका स–साना बस्तीहरू
त्यहीकै ढुंगा माटो, खर र लकडीका घर
अझ तलका नदी र तालका फाँटहरूमा 
झुलिरहेका धनका बाला
आफैँले उब्जाएको दाल चामल
आफैँले कमाएको नुन तेल 
आफैँले बनाएको कपडा
उदांग गरिबीको बीच स्वावलम्बी अर्थतन्त्र नेपालीको
यसैको जगमा रूपान्तरित हुनुपर्ने जनजीविका 
अहिले सुकुलगुन्डा अर्थतन्त्र बनेको छ
अन्तको अन्त्र–तन्त्र–मन्त्र प्रदत्त रूपान्तरणले

शैलराज कति शान्त नीलो आकाशले चुम्न आउँदा पनि 
सभ्यताको पहिलो सूर्योदयले स्पर्श गर्न आउँदा पनि 
आफ्नो धवल–शुद्धताले किरणलाई आकाशमै फर्काइदिएर 
जाडोको घाम न्यानो पार्दै
धरतीलाई सस्यश्यामला बनाएका
एक्लै उभिएर देखाएको निर्दोषता 
प्रकृतिको सर्वाधिक उन्नयनको शक्ति
यही हो शैलराजको तागत
जस्तोसुकै चुनौती पनि सामना गर्न सक्ने 

सेतो हिमशृंखला मात्र होइन बादलुसँग लुकामारी गर्ने 
सेती पनि लुकुमारी खेलिरहेकी यहाँ 
सेती, अति सेती, चुलबुल जादुगर्नी 
भर्खरै देखिएकी उनी कहिले लुक्छिन् कताकता
न आवाज सुनिन्छ उनको, न उनीलाई देखिन्छ कतै
पर पुगेपछि फेरि निस्किन्छिन् फैलिएर आफूलाई देखाउँदै
प्रेमको गीत गाएर निरन्तरताको सन्देश दिँदै
अरूलाई पनि सँगालेर उपत्यकाबाट बिदा लिन्छिन्

उपत्यका नछोडेर अडिग भएर बसेको फेवा 
हिमशृंखलालाई तलबाट सधैँ हेरिरहेर–
सँगसँगै भएर अलि परसम्म फैलिएको
आफ्नो छातीको दर्पणमा सधैँ शैलराजलाई राखेर
पन्चासे डाँडाबाट खोज्दै आएको हर्पन खोला
आफैँलाई सकेर बचाएको छ फेवा ताललाई 
अग्लोमा बस्न चाहने धनीहरूले छाडेको ताल वरिपरि 
बसेका ती गरिबहरू झाडी झुप्राहरूमा
त्यहाँ वरपर छैनन् अब
जुन महाकविले देखेका थिए हवाईमार्गबाट पुग्दा 
त्यसको चौध वर्षपछि स्थलमार्गबाट पुगेको लर्कोले 
ताल वरिपरि सबैतिर सके
अहिलेकाले त कानुनलाई नुन खुवाएर शैलराजलाई नै छेके
अग्ला इमारत बनाई अझ निमोठ्दै प्रकृतिको वरदानलाई
 
धर्ती रहोस् नरहोस् मेरो मुलुक रहनुपर्छ 
मुलुक रहोस् या नरहोस् म रहनुपर्छ 
यसैको सेरोफेरोबाट निस्केको लोभको तापले
प्रकृति र राजनीतिको विश्वव्यापी तापक्रम बढेको
हिमशिखरको ताज पग्लिँदा 
बादशाहको त्यस्तो सुन्दर सफेद मुहारमा  
आजकल कतैकतै कालो देखिँदै गएको

अद्वितीय प्राकृतपोखराको विश्व सुन्दरताले
न्युटनको तेस्रो नियमजस्तो
जति म यहाँ आउँछु त्यति नै फेरि आउन मन लाग्छ
उग्र शक्तिरूपी तालबाराही 
र, करुणादायी विन्ध्यवासिनीद्वारा सुरक्षित
मेरो प्रियदर्शिनी ! 
यात्रा जारी रहेसम्म म भेट्न आइरहनेछु ।