
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई समयअनुकूल रूपान्तरण गर्न नयाँ रणनीतिक खाका अघि सारेका छन्। उनले परम्परागत सोच र कार्यशैलीलाई सुधार्दै आधुनिक, प्रविधिमैत्री र समावेशी संरचना निर्माणमा जोड दिएका हुन्।
विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय चुनाव समीक्षा कार्यक्रममा बोल्दै थापाले अनुभव र ऊर्जाको सन्तुलन आवश्यक रहेको बताए। उनले ‘विजडम’ (अनुभव) र ‘युथ’ (जोश) को संयोजनमार्फत पार्टीलाई सुदृढ बनाउने अवधारणा सार्वजनिक गरे।
उनका अनुसार ६० वर्षभन्दा माथिका अनुभवी नेताहरूको ज्ञान र योगदानलाई संस्थागत गर्न ‘विजडम काउन्सिल’ गठन गरिनेछ। “पुराना नेताहरूलाई अलग्याउने होइन, उनीहरूको अनुभवलाई संस्थाको सम्पत्तिका रूपमा उपयोग गर्नुपर्छ,” उनले स्पष्ट पारे।
त्यसैगरी, ३० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन ‘युथ काउन्सिल’ निर्माणमा पनि उनले जोड दिए। युवापुस्ताको सोच, चाहना र ऊर्जा पार्टीभित्र समेट्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
थापाले सदस्यता प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रविधिको व्यापक प्रयोग गरिने जानकारी दिए। लाखौं सदस्य भए पनि आधारभूत विवरण व्यवस्थित नभएको अवस्थालाई सुधार गर्दै अब सदस्यता नवीकरण प्रक्रिया पूर्णतः डिजिटल र पारदर्शी बनाइने उनले बताए।
यस योजनाअनुसार विदेशमा रहेका नेपालीहरूले पनि सहज रूपमा अनलाइन माध्यमबाट सदस्यता नवीकरण गर्न सक्नेछन्। प्रत्येक सदस्यको ‘डिजिटल पहिचान’ सुनिश्चित गर्ने लक्ष्यका साथ यो प्रणाली अघि बढाइने उनले उल्लेख गरे।
पार्टीको छवि सुधार्न सुशासन अपरिहार्य रहेको बताउँदै थापाले कांग्रेस नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहहरूले उदाहरणीय काम देखाउनुपर्नेमा जोड दिए। “इतिहासमा गर्व गर्न सक्छौँ, तर व्यवहारमा आधुनिक र स्वच्छ देखिनु पनि उत्तिकै आवश्यक छ,” उनले भने।
कार्यक्रममा उठेका गुनासा र सुझावलाई सकारात्मक रूपमा लिएको बताउँदै उनले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। आगामी महाधिवेशनलाई लक्षित गर्दै सबैलाई समेटेर लैजाने जिम्मेवारी आफ्नो रहेको उनले स्पष्ट पारे।










Facebook Comments