
निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै नेपाली कांग्रेस पार्टीको बागडोर औपचारिक रूपमा युवा नेता गगन थापाको हातमा पुगेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन र विशेष महाधिवेशनको वैधानिकतासँगै थापा कांग्रेसको नयाँ सभापति बनेका छन्, जसले दशकौँदेखि कायम ‘संस्थापन पक्ष’को विरासतलाई चुनौती दिँदै नेतृत्व लिन सफल भएका छन् । सभापति थापाले यसलाई ‘तख्तापलट’ नभई पार्टीलाई नागरिकको भरोसायोग्य बनाउने ‘हस्तक्षेप’का रूपमा व्याख्या गरेका छन् । ‘हामीले जुत्ता फेरेका मात्र हौँ, हिँड्ने बाटो र लक्ष्य उही लोकतन्त्र नै हो,’ थापाले भनेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाको कार्यकालको बिदाइसँगै कांग्रेसभित्र अब ‘पुस्तान्तरण मात्र होइन, रूपान्तरण’को बहसले वैधानिकता पाएको छ । थापासँग गरिएको कुराकानीको सम्पादित अंशः
निर्वाचन आयोगको निर्णयसँगै शेरबहादुर देउवा औपचारिक रूपमा पार्टी सभापतिबाट बिदा हुनुभएको छ । तपाईं सभापति बन्नु्भयो कस्तो महसुस भइरहेको छ ?
साँच्चै भन्नुपर्दा, यति चाँडै र यसरी यो जिम्मेवारीमा आइपुग्छु भन्ने कहिल्यै सोचेको थिइनँ । म अर्को वर्षको नियमित महाधिवेशनको तयारीमा थिएँ, जहाँ प्रतिस्पर्धा गर्ने मेरो दृढ संकल्प थियो । तर घटनाक्रमहरू यसरी विकसित भए कि पार्टीलाई दुर्घटनाबाट बचाउन र आमनागरिकको भरोसा कायम राख्न यो बाटो रोज्नुप¥यो । अलि असजिलो त लागेकै छ, किनकि हाम्रो समाज र राजनीतिले यति तीव्र परिवर्तनलाई सहजै स्विकार्न समय लगाउँछ ।
तपाईं र विश्वप्रकाश शर्मा देउवालाई भेट्न जानुभएको थियो । त्यो अन्तिम संवाद कस्तो रह्यो ?
हामी दुई दाजुभाइ हिमालयन जाभामा बसेर एउटा योजना बनाएर गएका थियौँ । हाम्रो मनमा ठूलो तनाव थियो । हामी उहाँलाई एउटै कुरा बुझाउन चाहन्थ्यौँ, ‘हामीलाई पद चाहिएको होइन, पार्टीको धुरी बदल्न खोजेको हो ।’ तर भित्रको वातावरण अर्कै थियो । उहाँले हाम्रो कुरालाई व्यक्तिगत आकांक्षाको रूपमा मात्र बुझ्नुभयो । ‘तिमीहरू नै त हुने हो नि पछि’ भन्नुभयो, तर हामीले ‘म’ होइन ‘हामी’ र ‘अहिले’को कुरा गरिरहेका थियौँ ।
तपाईंले बारम्बार पार्टीको ‘धुरी’ बदल्ने कुरा गर्नुभयो । के यो देउवाको जुत्तामा खुट्टा हालेको जस्तो होइन र ?
हो, तर यो जुत्तामा खुट्टा हाल्ने मान्छे कुनै बाहिरको होइन । मेरै पार्टी भित्र, वडाबाट काम गर्दै आएको एउटा सामान्य कार्यकर्ता हो । शेरबहादुर दाइ आफैँ पनि त कुनै बेला गिरिजाबाबुविरुद्ध विद्रोह गरेरै आउनुभएको हो नि ! उहाँले नै सिकाएको हो- प्रश्न गर्न र हस्तक्षेप गर्न । त्यसैले यो तख्तापलट होइन, यो त पार्टीलाई नागरिकको घरभित्र छिर्न योग्य बनाउने एउटा प्रयास मात्र हो ।
अब देउवा पक्षले यसलाई कसरी लिन्छ ? कतै पार्टी विभाजनको खतरा त छैन ?
मेरो अपेक्षा छ- अब कुनै अड्डा-अदालत वा मुद्दा-मामिला होइन । शेरबहादुर दाइले ठन्डा दिमागले सोच्नुपर्छ । हामी सबै कांग्रेस नै हौँ । कसैले पार्टी फुटाएको छैन । म उहाँलाई विनम्र आग्रह गर्छु, ‘गगनले अब नेतृत्व गर्छ, मेरो शुभेच्छा छ भनेर एउटा आह्वान गरिदिनुस्’ । उहाँलगायत सबै वरिष्ठ नेताहरूलाई समेटेर लैजाने जिम्मेवारी र प्रतिबद्धता मेरो हो ।
के साँच्चै एउटा सामान्य परिवारबाट आएको मान्छेले यो विशाल संगठन सम्हाल्न सक्छ भन्नेमा तपाईं आश्वस्त हुनुहुन्छ ?
म पूर्ण रूपमा विश्वस्त छु । किनकि म एक्लै छैन, मसँग परिवर्तन चाहने लाखौँ कार्यकर्ताको भावना र पार्टीको संस्कार छ । हिजो जसरी देउवाजीले कठिन समयमा पार्टी सम्हाल्नुभयो, आज म त्यही अवस्थामा उभिएर पार्टीलाई नयाँ उचाइमा पु¥याउने संकल्प गर्दछु ।
तपाईंहरूले विशेष महाधिवेशनको माग गर्दा एउटा कुरा प्रस्टसँग भन्नुभएको थियो, ‘हामीलाई गाली खान मञ्जुर छ, विष पिउन मञ्जुर छ, तर नागरिकका बीचमा शिर ठाडो बनाएर जाने वातावरण बनाइदिनुस् ।’ त्यो वातावरण भनेको के थियो ? के तपाईंहरूले गगन थापालाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुपर्छ भनेर अडान लिनुभएको हो ?
बिल्कुलै होइन । म यो कुरामा एकदम क्लियर छु र त्यो कोठामा रहेका अरू नेताहरूले पनि यो सत्य भन्नुहुनेछ । हाम्रो प्रस्ताव ‘गगन हुनुपर्छ’ भन्ने थिएन । हाम्रो प्रस्ताव त ‘अब हिजोकै प्रधानमन्त्री दोहोरिनुहुन्न है’ भन्ने एउटा सन्देश नागरिकलाई दिऊँ भन्ने मात्र थियो । हामी चाहन्थ्यौँ कि फागुन २१ मा रुख चिह्नमा मतदान गर्ने मतदाताले यो विश्वास पाओस् कि कांग्रेस ठूलो पार्टी हुँदा देशले नयाँ नेतृत्व पाउनेछ । जसरी हामीले विगतमा कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थियौँ, त्यसरी नै कुनै योग्य नेतालाई अघि सारौँ भन्ने हाम्रो आग्रह थियो । हामी त केवल समाजको आवाजलाई पार्टीभित्र ठाउँ दिन चाहन्थ्यौँ ।
तपाईं र विश्वप्रकाश शर्माजी समय मागेरै सभापतिलाई भेट्न जानुभएको थियो । वातावरण कस्तो थियो ?
हामी धेरै तनावमा थियौँ । १०-१० मिनेटसम्म हामी दुवै नबोली बस्यौँ । हामीलाई पार्टीको एकता पनि जोगाउनु थियो र परिवर्तन पनि सुनिश्चित गर्नु थियो । हामीले जोखिम उठाएका थियौँ, त्यसैले मूल्य चुकाउन पनि तयार थियौँ । तर सभापतिजीको ‘स्टेट अफ माइन्ड’ (मनस्थिति) फर्दर कुरा नगर्ने भइसकेको थियो । उहाँले पटक-पटक ‘धन्यवाद भाइ, अब जाऊ’ भनेजस्तो भाव देखाउनुभयो । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दा पनि नेतृत्वले हामीसँग संवाद गर्नुभन्दा ‘टफ पोजिसन’ (कडा अडान) लिनु नै दुर्भाग्यपूर्ण थियो ।
तपाईंहरूलाई त ‘विदेशी शक्तिले चलाएको’ र ‘पार्टी फुटाउन खोजेको’ आरोप पनि लाग्यो नि ?
यो आरोपले नै मेरो कुरा पुष्टि गर्छ- कि नेतृत्वसँग अब सूचना र विश्लेषणको क्षमता रहेन । उहाँ सूचनाका लागि आसेपासेमा निर्भर हुनुभयो । यत्रो वर्ष सँगै काम गरेका महामन्त्रीहरूलाई ‘परिचालित’ देख्नु भनेको ठूलो दृष्टिभ्रम हो । जब नेतृत्वले आफ्नै साथीहरूलाई चिन्न छाड्छ र ‘देशी-विदेशी षड्यन्त्र’को पुरानो टेप रेकर्डर बजाउन थाल्छ, तब बुझ्नुपर्छ कि उहाँको समय सकियो । ५४ प्रतिशत मानिसहरू त्यसै आएका होइनन्, उनीहरू त तलको समुदायमा भएको उथलपुथल बोकेर आएका हुन् ।
तपाईंले ‘डरको किल्ला भत्काउनुपर्छ’ भन्नुभयो । के कांग्रेसभित्र कार्यकर्ताहरू अझै डराउँछन् ?
भृकुटीमण्डपमा आएर नाच्ने, ताली बजाउने तर हस्ताक्षर गर्न डराउने सयौँ साथीहरू हुनुहुन्थ्यो । आफ्नै पार्टीभित्र डराउनुपर्ने यो कस्तो लोकतन्त्र ? त्यसैले हामीले भन्यौँ- यो डरको किल्ला भत्काउनैपर्छ । हिजो गिरिजाबाबुको पालामा पनि हामीले परिवर्तनको मुद्दा उठाउँदा मैले नेविसंघको महामन्त्री पद गुमाउनुपरेको थियो । योपटक पनि जोखिम उस्तै थियो । तर, पार्टीमा ‘जीवन’ छ भने प्रश्नहरू उठ्छन् र उठ्नुपर्छ ।
भदौ २३ र २४ को त्यो अप्रिय घटना (आक्रमण)पछि तपाईंले शेरबहादुर देउवाजीलाई असोज २८ मा मात्र भेट्नुभयो । एक महिनाभन्दा लामो संवादहीनता र तनावपछि उहाँलाई भेट्दा कुन मनस्थितिमा पाउनुभयो ?
मलाई अहिले पनि त्यो क्षण सम्झँदा अलिक भावुक बनाउँछ । उहाँ शारीरिक र मानसिक रूपमा निकै कमजोर देखिनुहुन्थ्यो । एउटा उमेर पुगेको अभिभावक, जसले आफ्नो घरमा आक्रमण भोग्नुप¥यो- त्यो पीडा उहाँको अनुहारमा देखिन्थ्यो । तर असोज २८ गते जब हामीले उहाँको बिदाइको भाषण तयार ग¥यौँ, उहाँ मंसिरमै महाधिवेशन गर्न तयार हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो, ‘मैले लेख्न खोजेको हो, तर केही मानिसले मलाई लेख्न दिएनन् ।’ मैले उहाँलाई भनेँ, ‘दाइ, अरूको भारी तपाईं नबोक्नुस्, विधानअनुसार महाधिवेशनको कुरा लेखौँ, बाँकी लडाइँ हामी लडौँला ।’
तर तपाईंहरूले त उहाँ अस्वस्थ भएको बेला संवेदना नराखी नेतृत्व फेर्ने कुरा गर्नुभयो भन्ने आरोप पनि लाग्यो नि ?
त्यो सरासर गलत प्रचार थियो । उहाँमाथि आक्रमण हुँदा निन्दा गर्ने र नागरिकलाई अपील गर्ने हामी दुईजना (विश्वप्रकाश र म) मात्र थियौँ । बाँकी साथीहरू त घरबाट बाहिर निस्कने आँटसम्म गर्नुभएको थिएन । हामीले त केवल पार्टीलाई जीवन दिन खोजेका हौँ । असोज ३ को बैठकमा हामीले नेतृत्व फेर्ने कुरा गर्दा उहाँको स्वास्थ्यप्रति होइन, पार्टीको भविष्यप्रति चिन्ता गरेका थियौँ ।
शेरबहादुर देउवाजी सिंगापुरबाट फर्किएपछि झन् सक्रिय भएर आउनुभयो । यो ‘इनर्जी’ उहाँले कहाँबाट पाउनुभयो होला ?
उहाँले सबैको नाडी छाम्नुभयो र विस्तारै आफूलाई फेरि स्थापित गर्नुभयो । मैले उहाँलाई रमाइलो शैलीमा भनेको थिएँ, ‘दाइ, विधानको कभर राखेर किन आउनुहुन्छ ? बरु एमाले अध्यक्ष ओलीजीले जस्तै सीधै आउनुस्, विशेष महाधिवेशन फेस गर्नुस् ।’ मेरो आपत्ति के थियो भने, पार्टीको कामजति सबै उहाँको निजी निवासमा हुने, तर पार्टी कार्यालय रित्तो हुने । हामीले तत्कालीन कार्यवाहक सभापतिलाई पनि भन्यौ, ‘दाइ, निर्णय गर्नुस्, महाधिवेशन गराऔँ ।’ तर उहाँहरूले पेलपाल गर्ने र अल्झाउने बाटो रोज्नुभयो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । निर्वाचन आयोगले तपाईंलाई आधिकारिकता दिइसकेको अवस्थामा यसलाई कसरी लिनुहुन्छ ?
यो केवल एउटा प्रतिक्रियात्मक रोष मात्र हो । आजको मितिबाट नेपालको संविधान, कानुन र कांग्रेसको विधानले मलाई सभापतिको रूपमा चिन्छ । अरू कसैले बोलाएको ‘कार्यवाहक’ बैठकलाई अब कानुनले चिन्दैन । म त चाहन्छु यो तिक्तता रोकियोस् । यो कसैको हार होइन । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहजस्ता हाम्रा वरिष्ठ नेताहरू हाम्रा अभिभावक हुनुहुन्छ । उहाँहरूले हामीलाई सिकाउनुभएको हो, हामीमा उहाँहरूकै अंश छ । त्यसैले, मुद्दा-मामिला गरेर कार्यकर्तालाई द्विविधामा नपारौँ । म उहाँहरूलाई उच्चसम्मानका साथ अभिभावकको रूपमा साथै लिएर हिँड्न तयार छु ।
निर्वाचन आयोगको निर्णय कुरिरहँदा एउटा चर्चा थियो- यदि निर्णय तपाईंको पक्षमा आएन भने शेरबहादुर देउवा समूह वा तपाईंको समूहले ‘नेपाली कांग्रेस बीपी’को ‘कलश’ चिह्न लिएर चुनाव लड्ने तयारी गरेको थियो रे ! के तपाईंहरू साच्चै त्यस्तो ‘प्लान बी’मा हुनुहुन्थ्यो ?
कहिल्यै होइन । हामी त एउटा कुरामा एकदमै प्रस्ट थियौँ । निर्वाचन आयोगले प्रचलित विधि र कानुन नै हेर्छ । महाधिवेशनभन्दा ठूलो वैधानिक निकाय अर्को हुँदैन भन्नेमा हामी विश्वस्त थियौँ । पार्टीको लिगेसी र विचार ‘ट्रान्जेक्सनल’ (लेनदेन) हुँदैन । मलाई धेरै नयाँ शक्तिमा लाग्नुभएका साथीहरूले ‘नयाँ पार्टी खोलौँ, हामी आउँछौँ’ भनेका थिए, तर मैले जहिले पनि एउटै कुरा भनेँ, ‘म नेपाली कांग्रेस बदल्ने हो, छोड्ने होइन ।’ मेरो लागि कांग्रेसलाई बदल्नु नै ‘प्लान ए’ र ‘प्लान बी’ दुवै थियो ।
तपाईंले बालेन शाह र रवि लामिछाने जस्ता वैकल्पिक शक्तिका पात्रहरूसँग पनि संवाद गर्नुभयो । के तपाईं उहाँहरूसँग मिलेर कुनै ‘अल्टरनेटिभ फोर्स’ बनाउने तयारीमा हुनुहुन्थ्यो ?
मैले उहाँहरूसँग जहिले पनि नेपाली कांग्रेसको महामन्त्रीका रूपमा संवाद गरेँ । मेरो उद्देश्य ‘ल्याटरल इन्ट्री’ (बाहिरका योग्य मानिसलाई पार्टीमा भित्र्याउने) गराउनु थियो । म चाहन्छु, पार्टी कुवाजस्तो नहोस् । बाहिरका ऊर्जाशील मानिसहरूलाई कांग्रेसमा ल्याउनु मेरो ड्युटी (कर्तव्य) हो । रामेश्वर खनालदेखि अरू थुप्रै विज्ञहरूलाई पार्टीमा जोड्ने प्रयास मैले पहिलेदेखि नै गरेको हुँ । यसलाई ‘साँठगाँठ’ भन्नु गलत हो, यो त पार्टीलाई जीवन्त बनाउने ‘समावेशी विचार’ मात्र हो ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार ‘प्रोजेक्ट’ गरेर जान्छ ? के गगन थापा नै आगामी प्रधानमन्त्रीको दाबेदार हो ?
हाम्रो प्रस्ट मान्यता छ- ‘कप्तानविनाको टिम’ लिएर चुनावमा जानुहुँदैन । बेलायत वा भारतमा जस्तै, मतदाताले कसलाई भोट दिँदै छु र मेरो भोटले को प्रधानमन्त्री बन्दै छ भन्ने कुरा पहिले नै थाहा पाउनुपर्छ । कांग्रेसलाई भोट दिनुको अर्थ ‘फेरि शेरबहादुर दाइ नै होइन है’ भन्ने सन्देश हामीले दिनैपर्छ । पार्टीको ‘ड्यु प्रोसेस’ (पद्धति)बाट केन्द्रीय समितिले यसको औपचारिक निर्णय गर्नेछ । अहिले हाम्रो पहिलो प्राथमिकता पार्टीलाई एकढिक्का बनाउनु हो । मलाई शेरबहादुर देउवाको आशीर्वाद र पूर्णबहादुर खड्काको शुभेच्छा पनि चाहिन्छ । उहाँहरू रिसाउनुभएको छ, चित्त दुखाउनुभएको छ, तर उहाँहरूलाई समेटेर अघि बढ्नु मेरो जिम्मेवारी हो ।
तपाईंले ‘शेरबहादुर देउवाको आशिर्वाद चाहिन्छ’ भन्नुभयो, तर उहाँहरू त तपाईंको विरुद्धमा निर्वाचन आयोग जानुभएको थियो । यो तिक्तता कसरी मेट्नुहुन्छ ?
राजनीतिमा विचारको टक्कर हुन्छ, तर मनको ढोका थुन्नुहुँदैन । उहाँहरू हाम्रा आदरणीय नेता हुनुहुन्छ । म उहाँहरूसँग झुकेर होइन, उहाँहरूलाई सम्मान गरेर र उहाँहरूको अनुभवलाई उपयोग गरेर अघि बढ्नेछु । कांग्रेस एउटा परिवार हो, र परिवारभित्रको झगडाले घर नै भत्काउनुहुँदैन भन्नेमा म सचेत छु ।
सभापतिज्यू, अब त टिकट वितरण गर्ने अन्तिम अधिकार तपाईं र संसदीय बोर्डको हातमा छ । के पूर्वसभापति शेरबहादुर देउवा र आरजु देउवालाई यसपटक कांग्रेसले टिकट दिन्छ ?
टिकट दिने वा नदिने भन्ने निर्णय हाम्रो संसदीय बोर्डले गर्नेछ । तर मेरो व्यक्तिगत र वैचारिक मत के हो भने- नेताहरूको एउटा पंक्तिले अब ‘विश्राम’ लिनुपर्छ । यो कुनै अपमान होइन, बरु एउटा स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । विश्वप्रकाश शर्माजीले ‘एउटै क्षेत्रबाट तीनपटकभन्दा बढी लड्दिनँ’ भन्नुभएको छ, यो एउटा उदाहरणीय सोच हो । देउवा दाइ सातपटक जितिसक्नुभएको छ । उहाँको आकांक्षा र हक आफ्नो ठाउँमा होला, तर हामीले ‘सेलेक्टिभ’ हुनुभन्दा पनि एउटा मापदण्ड बनाएर नयाँ साथीहरूलाई मौका दिनेबारे गम्भीर छलफल गर्नेछौँ ।
तर उहाँहरूका मान्छेहरूले त तपाईंहरूलाई कारबाही गर्ने निर्णयसमेत गरेका थिए । के अब टिकट वितरण गर्दा तपाईंहरूले उनीहरूसँग बदला लिनुहुन्छ ?
बिल्कुलै हुँदैन । सभापतिलाई साथ दिनु अपराध होइन । हाम्रो त केवल ‘सोचाइको भिन्नता’ मात्र हो । कारबाहीको बदलामा टिकट रोक्नेजस्तो सानो सोच हामी राख्दैनौँ । कतिपय साथीहरू निर्वाचन लड्नैपर्ने अवस्थामा पनि हुनुहुन्छ, कतिलाई नागरिकको भावनाअनुसार रोक्नुपर्ने पनि होला । हामी बदलाको कोणबाट होइन, ‘जित्ने र योग्य’ उम्मेदवारको कोणबाट मात्र सोच्छौँ ।
तपाईंले सधैँ ‘प्री-इलेक्सन अलायन्स’को विरोध गर्दै आउनुभएको थियो । तर राष्ट्रिय सभामा त कांग्रेस र एमाले मिल्ने कुरा छ । यो दोहोरो मापदण्ड भएन र ?
राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचनलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । प्रतिनिधिसभामा नागरिकले सीधै ‘रुख’ चिह्न रोज्न पाउनुपर्छ भन्ने मेरो अडान कायमै छ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै लड्छ र हामी ‘रुख’बाहेक अन्य चिह्नमा भोट माग्दैनौँ । राष्ट्रिय सभाको हकमा, हिजोको नेतृत्वले गरिसकेका केही निर्णयहरूको निरन्तरतालाई हामीले सम्मान गर्नुपर्ने हुन्छ । तर मेरो प्राथमिकता अहिले पनि सबै दलहरू एक्ला-एक्लै लड्नुपर्छ भन्ने नै हो ।
एमाले अध्यक्ष केपी ओलीले कांग्रेसमा नयाँ समूहले देउवाजीलाई ‘ह्यारास’ गरेको भनिरहनुभएको छ । यसमा तपाईंको के टिप्पणी छ ?
यसको बारेमा धेरै नबोलौँ । अर्को पार्टीको अध्यक्षले हाम्रो आन्तरिक लोकतान्त्रिक अभ्यासलाई कसरी हेर्नुहुन्छ, त्यो उहाँको कुरा भयो । हामीले देउवा दाइलाई सम्मानका साथ बिदाइ गरेका हौँ, ह्यारास गरेका होइनौँ । पार्टीको अधिवेशन र त्यसको निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ । अब हाम्रो ध्यान कसरी पार्टीलाई एकढिक्का बनाउने र जनताको बीचमा जाने भन्नेमा मात्र केन्द्रित छ । पार्टीहरू सार्वजनिक संस्था हुन्, त्यसैले टिप्पणी हुनु स्वाभाविक हो । तर हरेक टिप्पणीको एउटा मर्यादा र सीमा हुन्छ । हामीले एमालेको अधिवेशनको प्रशंसा नै गरेका हौँ । हामीले पनि आफ्नो विधानसम्मत अर्को अधिवेशन गरेर नयाँ नेतृत्व ल्याएका हौँ । एमाले एउटा प्रतिस्पर्धी र कतिपय ठाउँमा सहयात्री दल पनि हो । उहाँहरूले हाम्रो वैधानिक परिवर्तनलाई सहज रूपमा लिइदिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।
तपाईं शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित हुनुभएको थियो, तर पछि उहाँसँगको सम्बन्धमा उतारचढाव आयो । विशेष महाधिवेशनसम्म आइपुग्दा उहाँको भूमिकालाई कसरी लिनुहुन्छ ?
मैले शेखर दाइलाई जहिले पनि एउटा ‘ट्रान्जिसनल लिडर’ (संक्रमणकालीन नेता)का रूपमा हेरेँ । उहाँले नै पहिलोपटक विशेष महाधिवेशनको आवश्यकता औँल्याउनुभएको थियो । तर राजनीतिमा एउटा विन्दुमा पुगेपछि ‘म फर्किएँ भने सबै फर्किन्छन्’ भन्ने सोच्नु गलत हुन्छ । कार्यकर्ताको आफ्नै चेतना हुन्छ । उहाँ अहिले प्रतिपक्षमा हुनुहुन्छ, तर म चाहन्छु, उहाँले ‘साथीहरू मूल घर फर्कनुस्’ भनेर आह्वान गरिदिनुहोस् । अब आधिकारिकताको विवाद सकिएको छ, हामी सबै एक ठाउँमा हुनुपर्छ ।
तपाईंको आफ्नो चुनावी क्षेत्र काठमाडौँ-४ नै हो कि यसपटक क्षेत्र परिवर्तन गर्नुहुन्छ ?
मेरो प्राथमिकता र कर्मथलो काठमाडौँ-४ नै हो । यहाँका साथीहरू र मतदाताले मलाई हरेक अप्ठ्यारोमा साथ दिनुभएको छ । यद्यपि अब सभापतिका रूपमा पार्टीमा छलफल होला, तर म आफ्नै क्षेत्रबाट मत माग्न जान चाहन्छु । विश्वप्रकाशजीले एउटै क्षेत्रमा धेरैपटक लड्न हुन्न भन्ने बहस चलाउनुभएको छ, त्यो आफ्नै ठाउँमा होला, तर मेरो लागि मेरो क्षेत्र नै प्रधान हो ।
यो विशेष महाधिवेशनपछिको नेतृत्वको कार्यकाल कहिलेसम्म रहन्छ ? नियमित महाधिवेशन कहिले हुन्छ ?
यो नेतृत्व आगामी नियमित महाधिवेशनसम्मको लागि हो । निर्वाचनको लगत्तै पछि हामीले महाधिवेशन गर्नुपर्ने हुन्छ । अहिले निर्वाचनका कारण मात्र केही समय धकेलिएको हो । वैशाख मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी हामी अघि बढ्छौँ ।
अन्त्यमा, नयाँ दल र मतदाताहरूलाई के भन्न चाहनुहुन्छ ?
कक्षा १० मा पढ्ने भन्दा १ मा पढ्ने सधैँ नयाँ हुन्छ भन्नु भ्रम हो । नयाँ भनेको त्यो हो, जसले आफूलाई समयअनुसार बदल्न सक्छ । यो विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनसँगै नेपाली कांग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी बनेको छ । हामी मतदाताकहाँ जाँदा ‘नेपालको सबैभन्दा नयाँ पार्टीलाई भोट हाल’ भन्छौँ, र त्यो पार्टी कांग्रेस नै हुनेछ । हामी बीपीको मूल्य-मान्यतालाई जोगाउँदै सुशासन र बदलावको भोक मेट्ने गरी प्रस्तुत हुनेछौँ ।










Facebook Comments