
आइन्स्टाइनले आफूलाई ज्ञानी ठानेनन्
सोक्रेटसले त आफू केही पनि जान्दिन नै भने
हाम्रै देवकोटाले भने– मलाई मिथक नबनाऊ
कति विनम्रता, कति सच्चा ज्ञानको कुरा होला
जे होला, एउटा जीवनले सबै कुरा कसरी बुझ्ने?
सके आफूलाई केही बुझ्ने हो
जीवनः आत्मबोध, आत्मजागरण।
गुच्चा खेल्दा खेल्दै अग्गा भएकाहरू
आफै ओमकार भएका छन् यहाँ
सृष्टिको सबै ज्ञान आफैँमा अन्तर्निहित भएको
यो उद्घोष गरेर आफैँ उफ्रिरहेका छन्
खै ! के हो यो?
प्रहसन हो या प्रदोहन?
भ्यागुता उफ्रे जस्तो उफ्रेर
ट्वारट्वार ट्वारट्वार गरिरहेका।
आफ्नो प्रश्नको जवाफ आफै प्रश्न गरेर दिन्छन्–
मैले जस्तो जानेको कोही छ यहाँ ?
सर्वाधिक ज्ञान भएर होला
नाम मात्र लिएमा कुल्ला गर्नुपर्ने बिल्लाधारी
बिहान उठेदेखि ढाडेहात लगाउने यी सर्व आहारी
आकुलव्याकुल बकुल्लाभगत कठमुल्लाबादी
कान्तिपुरको बदलिँदो परिस्थिति–
रजाईगर्ने नवीनतम ज्ञानको दीक्षा लिन
हस्तिनापुरको ओम्लाँको जोहो
विभिन्न बहानामा आदेश परमादेश ग्रहण गर्न
सङ्कट मोचनको लागि लोचनपथ मार्गीहरू
आफ्नो भालमा चन्दन लेपनको लागि
प्रतिस्पर्धी बनेकाहरूको सरसल्लाहयुक्त जाइआई
तीव्र बनिरहेको एकपछि अर्कोको
यस्तो अनवरत ओहोरदोहोरमा
खानपिन ऐसआरामको जोगाड मात्र होइन
राजनीतिको पनि होम–डेलिभरी
यस्तो अचुक प्याकेटको जोरजम्माबाट
अभिलाषा केवल आफ्नो गमलामा पुष्प फुलाउने
बाँकी उतै बुझाउने
अन्त सबैतिर उजाड भएर के फरक पर्छ?
आफू मरेपछि सलतनत जेसुकै होस्।
हामी आजाद छौ
कुनै रूपबाट पनि बाँधिनु पर्दैन
के बाध्यता छ र?
जे बित्यो, बित्यो
न हामीलाई झम्टिनु छ कसैलाई
न कसैको घृणाको फोकाहरू बेहोर्नु छ
न अल्झिनु छ कसैसँग
न कसैको आशारामा जिउनु छ
पञ्चशीलको आफ्नै धरतीमा, आफ्नै आकाश
जनतालाई बनाइएको निरञ्जन निराकार
यही आकाशको ग्रह चक्करमा
पाप गृहमा खुट्टा फैलाएका
क्षुद्र ग्रहहरूको घनचक्कर
यसरी पुष्ट देखिएको आजादी
फुस्सा हुँदै गएको आम जिन्दगानी
झन् पिलन्धरे बनेका रक्तविहीन अनुहारहरू
छोडाउँदै गएको प्याज जस्तो
खाली खाली, सबै खाली !
बाँकी–
मान्छे नै हुन छोडिसकेका यी
जो शून्यमा शून्य जोडेर शून्य भएका छन्
प्रोग्राम गर्दिए अनुसार चल्ने रोबोट जस्तो
यिनको वरद नेतृत्वमा–
खोइ ! कति आजाद भएका रहेछौँ हामी
यहाँ त वसन्त नै उजाड हुँदै गएको छ।









Facebook Comments