सनत रेग्मी नेपाली साहित्यका वरिष्ठ लेखक मात्र होइनन्, मेरा एक घनिष्ट मित्र पनि हुन् । 

सनत रेग्मीसित पहिलो भेट मेरो कहिले भयो, ठ्याक्क मिति तोकेर भन्न त कठिन छ । तर मैले उनलाई नेपालगन्जमा भेटेको सम्झना छ । त्यसबखत उनका पिता पनि सक्रिय थिए । 

ad

उनले मलाई बिहान भोजनको निमन्त्रणा गरेका थिए । ब्राह्मण परिवारका सनत रेग्मीका पिता पूजापाठ नियमित गर्ने एक धर्मभीरू ब्राह्मण थिए, मैले उनको भान्छामा पिर्कामा बसेर खाएको थिएँ । 

सनत रेग्मीको त्यसबखत पुस्तकको व्यापार थियो । व्यापार त पछि बन्द भयो । तर सनतजीको साहित्य–ज्ञानमा त्यसले वृद्धि गएकै हुुनुपर्दछ । प्रतिमा छँदै थियो, त्यस कारण उनी लेख्न थाले । 

सनत रेग्मी कथाकारका रूपमा नेपाली साहित्यमा स्थापित छन् । प्रायः सम्पादक वा समालोचकहरू उनका बारेमा कलम चलाउन बाध्य भए । डा. ईश्वर बरालजस्तै वरिष्ठ विशिष्ठ विद्वान् समालोचकले उनीबारे राम्रो लेखेका छन् । उनका कतिपय कथाहरू चर्चित छन् । प्रायःजसो उनका कथाहरू आफ्नै सेरोफेरोद्वारा सम्पूर्ण समाजको तस्बिर देखाउन समर्थन छन् । 

एकपटक म धेरै लामो समय विश्वविद्यालयको कामले नेपालगन्ज बस्नुपरेको थियो । त्यस अवधिमा सनत रेग्मीसँग अझै घनिष्ट हुन पाएँ । 

उनी एक सरल प्रकारका व्यक्ति हुन् । साहित्य र साहित्यकारलाई मान्थे । नेपालगन्जमा बस्दा जबजब उनको भान्छामा खान्थे । एक कचौरा दूध भोजनमा सामेल रहन्थ्यो । प्राचीन परिवारको अवरोधझैँ लाग्थ्यो । 

आफ्नो कृतिहरूका लागि सनतजीले सम्मानहरू पनि प्राप्त गरेका छन् । म सबभन्दा उनको प्रतिमाको ठूलो कदरका रूपमा उनी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव समेत भए । सम्भवतः उनको प्रतिभाको एक ठूलो र महत्वपूर्ण कदर मात्र होइन, पदाधिकारीका रूपमा उनको सर्वाेच्च उपलब्धि हो । उनले त्यो पद शान्त र सही किसिमले चलाएका थिए । 

उनी पदाधिकारी भएको समयका एक–दुई महत्वपूर्ण र सकारात्मक घटनाको म पनि साक्षी छु, बाह्य रूपमा । 

हामी चाहन्थ्यौँ, एक विशिष्ट प्रज्ञा पुरस्कार ठूला नेपाली कथाकार उपन्यासकार गोविन्दबहादुर गोठालोले पाऊन् । गोविन्दबहादुर गोठालेलाई किन हो, प्रज्ञाको मानार्थ सदस्य बनाएर पन्छाइएको थियो । यद्यपि, गोठाले नेपालीका एक ठूला कथाकार हुन्, ऐतिहासिक रूपमा । 

उक्त पुरस्कार पाएमा गोठालेलाई केही सन्तोष हुन्थ्यो । तर, अन्य विद्वान्को नाउँ बढी बलियोसँग पुरस्कारका लागि नाउँ आइरहेको थियो । 

सनत रेग्मी र मैले सल्लाह ग¥यौँ, के गर्ने ? हामीले सोच्यौँ र समाधान निकाल्यौँ । मैले भनेँ– सनतजी यो वर्षलाई आख्यान वर्ष हो, आख्यानको शतवार्षिकी हो । यस्तोमा गोठालेजस्ता इतिहास बनाउने आख्यानकारलाई सम्मानित नगर्दा न्यायपूर्ण हुँदैन । सनत रेग्मी यही उचित तर्क लिएर गए । गोविन्दबहादुर गोठालेले प्राप्त गरे । हामीलाई पनि प्रसन्नता भयो, योग्यताको कदर भयो । 

दोस्रोपटक भन्छु, तर यो पहिलो घटना हो, नेपालीको पहिलो मानिएको उपन्यास वीरचरित्र १९६० मा प्रकाशित भएको थियो । तर त्यसको लेखन १९५६ मै पूरा भएको थियो । 

मैले माध्यमिक कालका श्री शरचन्द्र शर्मालाई भनेँ । १९५६ मा केही मनाऊँ । उसले सहमति दिए । केके कारणले हो त्यो हुन सकेन । 

अर्काे समय थियो, १९६० वीरचरित्रको प्रकाशनवर्ष । 

मैले यो कुरा सनत रेग्मीलाई भनेँ । सनत रेग्मी आख्यानकार थिए । उनीबाट पनि आफ्नो जिम्मेवारीको बोध भयो उनी र म कमलमणि दीक्षितकहाँ गयौँ । केही वास्तविक रूपमा उत्साहित भए । सहमत भए । वीर चरित्रको शताब्दी संस्करण प्रकाशित गर्ने अठोट व्यक्त गरे । जगदम्बा प्रकाशनबाट । 

कमलमणि दीक्षितले वीर चरित्रको भूमिकामा सनत रेग्मीको नाउँको उल्लेख पनि गरेका छन् । जसबाट थाहा हुन्छ, नेपाली आख्यान शताब्दी समारोह त्यहीँबाट सुरु भयो । 

यसलाई सनत रेग्मीको आख्यानप्रतिको आस्था नै भन्छु म । 

द्वारिका श्रेष्ठको जंगल लनमा आख्यान शताब्दी समारोह सम्पन्न भयो, सफलतापूर्वक । त्यस समारोहमा कमल दीक्षित, लीलबहादुर क्षेत्री, धुरवाँ सायमी आदिजस्ता देशका मूर्धन्य साहित्यिक हस्ती उपस्थित थिए । 

उद्घाटन समारोहको दीप प्रज्वलन धुस्वाँ सायमी र लीलबहादुर क्षेत्रीले गरेका थिए । 

त्यत्रो त्यो महत्वपूर्ण र अनिवार्य समारोह, सनत रेग्मी सक्रिय नभएको भए, हुन्थ्यो–हुँदैन थियो, अथवा त्यति भव्यता साथ हुन्थ्यो हुँदैन थियो, म भन्न सक्दिनँ । 

उनको सम्मान धेरै भएको छ, तर उनको प्रतिभाअनुसार गर्न सकिएको छैन, मलाई यही लाग्दछ । 

मैले चिनेदेखि उनको व्यवसायसमेत पुस्तकसम्बन्धी रह्यो । त्यसले पनि उनको पठनपाठनको रुचिमा अभिवृद्धि भयो । पठनले उनको लेखनलाई सघाउ पु¥यायो । 

उनलाई कतैकतै आँचलिक कथाकार पनि भनेको पाइन्छ, खासगरी उनको चर्चित कथा लछमिनियाको गौथलाई लिएर । तर मलाई यो उपयुक्त लाग्दैन । उनी एक समग्र कथाकार हुन् । त्यस नाताले आँचल नगर, महानगर वा विश्व ब्राह्माण्ड नै उनको कथाको विषय हुन सक्छ । उनका कथाहरू हेर्दा पनि यही लाग्छ, उनी केवल आँचलिक कथाकार होइनन्, केवल कथाकार भने हुन् । 

(बाँकी अर्काे अंकमा)