
राजु कोइराला
नेपालको राजनीतिलाई लामो समयदेखि आवेग, व्यक्तिवाद र अस्थिरताले गाँज्दै आइरहेको छ । दलमा लागेका व्यक्तिहरूले राजनीतिलाई सेवाभन्दा पेसाका रूपमा अँगालेर जीवनभर त्यसैलाई आफ्नो अभीष्ट सिद्ध गर्ने माध्यम बनाउँदै आएका कारण आमजनमानसमा राजनीतिप्रति वितृष्णा र घृणा बढ्दै गएको छ । जसरी खोला बग्दै गर्दा त्यहाँ भएका फोहोर किनारा लाग्दै जान्छन् र तल पुग्दासम्म पानी संग्लो बन्दछ । राजनीति पनि त्यस्तै हो, यसलाई पनि आफ्नै बहाबमा बग्दै जान दिने हो भने खराब प्रवृत्ति भएकाहरू किनारा लाग्दै जान्छन् र राजनीति संग्लिन्छ अनि युवा आकर्षण बढ्दै जान्छ । त्यसबाट मुलुकले विकास र समृद्धिको लय समात्न सक्छ ।
विगतका दशकहरूमा नेपालको राजनीतिमा युवाको सहभागिता कम थिएन, तर यो अक्सर व्यक्तिकेन्द्रित, भीडका निर्णयमा आधारित वा आवेगपूर्ण प्रतिक्रियामा सीमित रहँदै आएको छ । आजको परिदृश्यमा जेनजी पुस्तामा युवा चेतना र सक्रियता उल्लेखनीय रूपमा बढेको देखिन्छ । युवा पुस्तामा राजनीतिक चेत देखिनु सकारात्मक संकेत हो, तर यससँगै एउटै गम्भीर प्रश्न पनि उठेको छ—के केवल आवेग, आक्रोश र लोकप्रियता मात्रले राज्य सञ्चालन गर्न सकिन्छ ? इतिहासले देखाएको छ कि अनुभवविहीन, आवेगी वा केवल व्यक्तिकेन्द्रित राजनीतिक गतिविधिले दीर्घकालीन दृष्टिकोण निर्माण गर्न सक्दैन र राजनीतिक स्थायित्व ल्याउन सक्दैन । त्यसैले आज नेपालका लागि आवश्यक छ— मध्यमार्ग, विवेकपूर्ण, संस्थागत सोच बोकेको युवा नेतृत्व ।
बीपी कोइरालाको राजनीतिक दर्शन नेपाली लोकतन्त्रको आधारशीला हो । उहाँले लोकतन्त्रलाई केवल सत्ता प्राप्तिको माध्यम होइन, नैतिक अनुशासनसहितको स्वतन्त्रता र सामाजिक न्यायको प्रणालीको रूपमा बुझ्नुभएको थियो । उहाँ भन्नुहुन्थ्यो, लोकतन्त्र केवल मतदानको प्रक्रिया होइन, यो मानव स्वतन्त्रता, सामाजिक न्याय र जिम्मेवार राज्यको संयोजन हो । यो भनाइ बीपीको समयमा मात्रै होइन, आज पनि उत्तिकै सान्दर्भिक छ । आज पनि नेपालमा राजनीतिक बहस प्रायः व्यक्तिकेन्द्रित, भीड र सामाजिक सञ्जाल ट्रायलमा सीमित हुँदै गएको छ । बीपी कोइरालाको मतानुसार लोकतन्त्र अधिकार मात्र होइन, उत्तरदायित्व पनि हो । युवा, विद्यार्थी र युवा नेतृत्वले यस सिद्धान्तलाई आत्मसात् गर्न आवश्यक देखिन्छ । बीपीको दृष्टिकोणले आजका युुवालाई पनि मार्गनिर्देश गर्न सक्छ ।
नेपालको लोकतान्त्रिक इतिहासमा सबैभन्दा लामो त्याग तपस्या र योगदान गरेको दल हो, नेपाली कांग्रेस । कांग्रेसले बीपीको यही सिद्धान्तलाई सही रूपमा अघि बढाउन सक्ने हो भने नेपालको लोकतान्त्रिक प्रणाली सफल हुन्छ । ०४६ सालमा प्रजातन्त्र पुनस्र्थापित भएपछि कांग्रेसमा देखिएको व्यक्तिवादी राजनीतिका कारण नै मुलुकको लोकतान्त्रिक प्रणालीले आशातीत सफलता पाउन नसकेको हो । लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने दायित्व बोकेको कांग्रेस व्यक्तिवाद, नातावाद, कृपावाद र संरक्षणवादमा लागेका कारण ०५२मा ‘कम्युनिष्ट अतिवाद’को जन्म हुन पुग्यो । त्यही दशकमा तुलनात्मक रूपमा उदार मानिएका राजा वीरेन्द्रको वंशनाश भएपछि अर्को उग्रवादको जन्म भयो ।
व्यापारबाहेक केही नजानेका ज्ञानेन्द्र शाहलाई जनताले विभिन्न आशंकाका बीच पनि राजा मान्न तयार भए । तर, ज्ञानेन्द्र शाहले राजा बनेको डेढ वर्ष पनि नपुग्दै जनचाहनाविपरीत सक्रिय बन्न थाले र लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास गरे । त्यसविरुद्ध कांग्रेसका युवा विद्यार्थी पुस्ताको नेतृत्व गर्दै गगन थापाले गणतन्त्रको वकालत गर्न थाले । सुरुमा उनको आवाजलाई पार्टीभित्रैबाट दबाउने प्रयास भए पनि अन्ततः सिंगो कांग्रेस पार्टीले नै गणतन्त्रको स्वामित्व लिएपछि मुलुकले अग्रगामी लय समात्न थाल्यो । माओवादीको १० वर्षे द्वन्द्व अन्त्य गर्दै मुलुकमा कांग्रेसको नेतृत्वमा गणतन्त्र स्थापना भयो ।
कांग्रेसमा पहिलोपटक गणतन्त्रको आवाज बोल्ने तिनै गगन अहिले नेपाली राजनीतिमा एउटा स्पष्ट, मध्यमार्गी आवाजका रूपमा देखापरेका छन् । जेनजी आन्दोलनको भावनालाई समेट्न सक्ने र लोकतन्त्रको मर्मलाई पनि आत्मसात् गर्न सक्ने भएकाले नेपालको राजनीतिमा गगन एउटा भरोसायोग्य नेता हुन् ।
विद्यार्थी राजनीतिकालदेखि नै उनले संस्थागत राजनीति, विचार विमर्श र सामाजिक उत्तरदायित्वको महत्वलाई स्पष्ट रूपमा जोड दिँदै आएका छन् । पछिल्लो समय गगनले उठाएको मध्यमार्गी दृष्टिकोण स्पष्ट, ठोस र स्थायित्वपूर्ण छ । मध्यमार्गी राजनीतिले आवेगलाई होइन, नीति र समाधानलाई प्राथमिकता दिन्छ । यसले हिंसा र द्वन्द्वलाई नाश गर्न सक्छ, तर प्रतिवादको अधिकार सुनिश्चित गर्छ । यसले बिनाआधारको आरोप र दाबीको सट्टा तथ्य र उत्तरदायित्वलाई प्राथमिकता दिन्छ । यसले व्यक्तिगत लोकप्रियताको सट्टा संस्थागत सुदृढीकरणलाई महत्व दिन्छ ।
आज राजनीतिक आवरणमा हिंसाको औचित्य साबित गर्ने प्रयास, गाली–गलौजलाई साहसको संज्ञा, सामाजिक सञ्जालमार्फत व्यक्त हुने गरेका अनैतिक र गैरजिम्मेवार क्रियाकलाप आदि विकृति देखिएका छन् । यसलाई लोकतन्त्र होइन, अराजक अभ्यास मात्र भन्न सकिन्छ । यस्ता अभ्यासहरूले राष्ट्रिय मनोबल, नीति निर्माण र सामाजिक शान्तिमा चोट पुर्याउँछन् । गुण्डागर्दी शैली, अर्धभूमिगत बैठक, चलचित्र–जस्तो प्रदर्शन र उत्तेजनात्मक भाषणले लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ । लोकतन्त्रमा विरोध हुन्छ तर हिंसा हुँदैन । आलोचना हुन्छ तर चरित्रहत्या हुँदैन ।
स्वतन्त्रताका नाममा पार्टीको ह्विप, चेन अफ कमान्ड र क्याडर संरचनालाई अस्वीकार गरेर सुरु भएको केही राजनीतिक उदयहरूपछि संरचनागत राजनीतिमा फर्कन खोज्दा वैचारिक विचलन मात्र देखिन्छ । यो स्वतन्त्रता होइन, अवसरअनुसार विचार परिवर्तन हो । यस्तो प्रवृत्तिले दीर्घकालीन राजनीतिमा कमजोर कडी मात्र उत्पन्न गर्छ । प्रशासनिक पात्रलाई राजनीतिक प्रतीक बनाउने प्रयास, अदृश्य शक्ति केन्द्रसँगको साँठगाँठ र पैसामुखी सोचले निजामती तटस्थता नष्ट गर्छ । राज्य संयन्त्र प्रयोगशालामा परिणत हुनु सिर्जनात्मक होइन, खतरनाक अभ्यास हो ।
हालै कांग्रेसका दुई महामन्त्रीहरूले हालै नीति र संगठन सुदृढीकरणको आवाज बुलन्द गर्दै विशेष अधिवेशनको घोषणा गरेका छन् । यस घोषणाले कांग्रेसको संस्थागत सुधार, जिम्मेवार नेतृत्व र नीति निर्माणमा ध्यान केन्द्रित गरेको छ । हालैको विशेष अधिवेशन घोषणामार्फत गगन थापाले संस्थागत राजनीति, युवा शक्ति र स्पष्ट नीति निर्माणमा बल दिएका छन् । यसले राजनीतिको गहिराइ, जवाफदेहिता र विचारशील नेतृत्वलाई बल दिन्छ । संस्थागत संगठन सुदृढ पार्ने, निर्णय प्रक्रियालाई पारदर्शी बनाउने र युवा ऊर्जा तथा अनुभवी सोचलाई एकै ठाँउमा ल्याउने प्रयासले बीपी कोइरालाको लोकतान्त्रिक मूल्यसँग मेल खान्छ ।
युवा सहभागिता मात्र होइन, विवेकपूर्ण युवा नेतृत्व अहिलेको नेपालमा अत्यन्त आवश्यक छ । आवेगी, हिंसात्मक, अराजक र व्यक्तित्वकेन्द्रित राजनीतिक अभ्यासले दीर्घकालीन स्थायित्व र नीतिगत सफलता दिन सक्दैन । नेपाललाई चाहिएको छ संस्थागत, विवेकपूर्ण र मध्यमार्गी युवा नेतृत्व, जसले हिंसाको जवाफ हिंसाले होइन, गालीको जवाफ गालीले होइन, आगोको जवाफ आगोले होइन भन्ने मूलभूत सिद्धान्तलाई आत्मसात् गर्नेछ ।
लोकतन्त्र केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो भन्ने बीपी कोइरालाको चेतावनी आज पनि सान्दर्भिक छ । अब युवाले केवल हेर्ने होइन, बुझेर, संस्थागत जिम्मेवारीसहित अगाडि बढ्ने समय आएको छ । विवेक, नीति र संस्थाले मात्र लोकतन्त्र सुरक्षित गर्छ । मध्यमार्गी नेतृत्व, जेन्जी र अनुभवी राजनीतिक सोचको मेलमै आजको नेपालको विकास, स्थायित्व र सामाजिक न्याय सुनिश्चित हुनेछ ।










Facebook Comments