
विनोद सिजापती
विशेष महाधिवेशनले नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापालाई चयन गर्यो । सभापति निर्वाचित भएलगत्तै पार्टीले संसदीय निर्वाचन २०८२ को सामना गर्नुपर्यो । नेपाली कांग्रेसले अन्य स्थापित राजनीतिक दलहरूले जस्तै सो निर्वाचनमा पराजय भोग्यो । निर्वाचन परिणाम सार्वजनिक भएको महिनादिन नबित्दै थापाले दलले व्यहोरेको हारप्रति नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिए । उनको राजीनामालाई केन्द्रीय समितिको बैठकले अस्वीकार गर्यो । उक्त घटनाक्रमलाई उनका केही विरोधीले ‘नाटक’को संज्ञा दिए ।
गगन थापाले दिएको राजीनामाको महत्व बुझ्नका लागि नैतिकताको चस्मा लगाउन आवश्यक हुन्छ । विगतको नजिर के थियो भने निर्वाचनमा दलले हासिल गरेको सफलताको श्रेय नेतृत्वले लिने, तर पराजय बेहोर्नुपरेको खण्डमा नेतृत्वले कुनै जिम्मेवारी बहन नगर्ने । ‘विगतको अवस्थामा दललाई पुर्याउने’ संकल्प गरेर सुनपानी छर्केपछि उनीहरू सहज भएर सभापति पदलाई निरन्तरता दिँदै आएका थिए । एमाले सभापति माधवकुमार नेपालले संविधानसभा निर्वाचनमा दलले बेहोरेको हारको जिम्मेवारी लिएर राजीनामा गरेका थिए । त्यसयता कुनै पनि दलका नेताले त्यस प्रकारको उत्तरदायित्व बहन गरेका छैनन् । विगत एक दशकभन्दा लामो अवधिमा नैतिक मूल्य मान्ने चलनको चरम अभाव हुँदै आएको छ । त्यसकारण गगनकुमार थापाले दिएको राजीनामा धेरैका लागि अनौठो हुनु स्वाभाविक हो । त्यसैगरी कांग्रेस नेतृत्वले उनको राजीनामा स्वीकार नगर्नु पनि केहीका लागि प्रायोजित नाटक नै हुन सक्छ ।
केन्द्रीय समितिको बैठकले गगन थापाको नेतृत्वको निरन्तरता आवश्यक ठान्यो, त्यसकारण उनको राजीनामा सर्वसम्मतिले अस्वीकृत गर्यो । यस वास्तविकतालाई आत्मसात् गर्न सानो छाती भएकाले सक्ने कुरै भएन । यस लेखमा वर्तमानमा किन गगन थापाको नेतृत्व नेपाली कांग्रेसलाई आवश्यक छ, त्यसका कारण प्रस्तुत गरिएको छ ।
स्थापनाकालदेखि नै नेपाली कांग्रेस पार्टीमा बिपी कोइरालाको वर्चस्व रह्यो । बिपीका समकालीन चार नेता थिए । ती हुन्– सुवर्णशमशेर राणा, मातृकाप्रसाद कोइराला, गणेशमान सिंह तथा सूर्यप्रसाद उपाध्याय । उमेरलाई आधार मान्दा बिपी अरू चारैजना कान्छो हुनुहुन्थ्यो । उहाँभन्दा सुवर्णशमशेर चार वर्ष, दाजु मातृका दुई वर्ष, गणेशमान सिंह ६ वर्ष तथा सूर्यप्रसाद उपाध्याय सात वर्षले जेठा थिए ।
राजनीतिक पृष्ठभूमिलाई आधार मान्दा गणेशमान सिंह प्रजापरिषद् पार्टीमा सक्रिय हुँदा बिपी विद्यार्थी हुनुहुन्थ्यो । शैक्षिक योग्यतालाई आधार मान्दा बिपीभन्दा पहिल्यै मातृकाप्रसादले स्नातक तहको अध्ययन समाप्त गरिसकेका थिए । सुवर्णशमशेरले अंग्रेजी विषयमा स्नातकोत्तर र सूर्यप्रसादले कानुन विषयमा स्नातकोत्तर गरिसकेका थिए । ती सबै नेपालमा जागिर खाएर जीवनयापन गर्दै राणा शासन रहुन्जेल देशवासीको उत्थान हुने गुञ्जायस नभएको निष्कर्ष निकालेर राजनीतिमा होमिएका थिए । बरु बिपीले नेपाल भूमि नटेकीकनै भारतमा बसेर राजनीतिक जीवन सुरु गर्नुभएको थियो ।
भारतीय समाजवादी नेताहरूको प्रभावमा महात्मा गान्धीबाट दीक्षित बिपी अहिंसा र सत्याग्रहमा विश्वास गर्नुहुन्थ्यो । सशस्त्र क्रान्तिप्रति उहाँको आस्था वा विश्वास पटक्कै थिएन । राणा शासनको अन्त्य सशस्त्र क्रान्तिविना सम्भव छैन भन्ने निष्कर्ष निकालेर सुवर्णशमशेर र सूर्यप्रसादले नेपाली प्रजातान्त्रिक कांग्रेस दल गठन गर्नुभएको थियो । उक्त दलको उद्देश्य नेपालमा सशस्त्र क्रान्ति गर्नु थियो । बिपीलाई सशस्त्र क्रान्तितर्फ अग्रसर तुल्याउने कार्यको श्रेय सुवर्णशमशेर र सूर्यप्रसादलाई जान्छ । बर्गेनिया सम्मेलनको सर्वसम्मत निर्णयले २००७ सालको क्रान्तिको नेतृत्व मातृकाप्रसादलाई तोकेको थियो । क्रान्ति अवधिभर बिपीको भूमिका मातृकाको निर्देशनअनुरूपको हुन्थ्यो ।
जब बिपीले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाविरुद्ध आवाज उठाए, त्यसबेला मातृकाले नेतृत्व गरेको सरकारको मन्त्रिमण्डल सदस्य सुवर्णशमशेर, सूर्यप्रसाद र गणेशमान सिंह नै थिए । बिपीको आह्वानलाई शिरोपर गरेर उनीहरूले मन्त्री पद त्यागे । बिपीले मातृकालाई पार्टीबाट निष्कासन गर्ने कदमको पछाडि पनि उनीहरूकै सक्रिय सहयोग थियो ।
राजा त्रिभुवनले कांग्रेसलाई विभाजित तुल्याउन अनेक हतकण्डा अपनाए । त्रिभुवनकै सहयोगमा मातृकाले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेर दोस्रोपटक प्रधानमन्त्री नियुक्त भए । मातृकाले पुराना मित्रहरूलाई मन्त्री बन्न प्रस्ताव गरे । तर तीनैजना बिपीलाई साथ दिएर सत्ताबाट अलग भए ।
क्रान्तिको नेतृत्व गर्ने कांग्रेस विभाजन गर्न राजा महेन्द्रले पनि अनेक हतकण्डा अपनाए । उनले प्रजापरिषद् दललाई सक्रिय तुल्याउने रणनीति अख्तियार गरे । टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री नियुक्त गरे । टंकप्रसादबाट कांग्रेस टुक्र्याउने वा बिपीजस्तै लोकप्रिय हुने सम्भावना राजाले देखेनन् । त्यसपछि उनले दिल्ली सम्झौताको विद्रोह गर्दै बागी भएर चीनमा शरण लिएका मुक्तिसेनाका एक कमान्डर डा. केआई सिंहलाई देशमा भित्र्याए । उनलाई संयुक्त प्रजातन्त्र पार्टी दल गठन गर्न लगाएर प्रधानमन्त्री नियुक्त गरे । महत्वाकांक्षी राजा महेन्द्र बिपी हाबी भए आफू ओझेलमा पर्ने त्रासमा थिए । तैपनि समकालीन प्रमुख कांग्रेस नेताहरूले बिपीको साथ छाडेनन् ।
निर्वाचन २०१५मा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि राजा महेन्द्रले बिपीको सट्टा सुवर्णशमशेरलाई प्रधानमन्त्री नियुक्त गर्न अनेक चलखेल गरे । राजालाई चुनौती दिँदै सुवर्णकै प्रस्तावमा कांग्रेसको संसदीय दलको नेताको रूपमा बिपी सर्वसम्मत छानिनुभयो । सरकार गठन भएको १८ महिना नपुग्दै राजाले सेनाको सहयोगमा सरकारलाई अपदस्त गरे । महेन्द्रले सुवर्णलाई पटकपटक प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि सुवर्ण तयार नभएपछि राजाले सूर्यप्रसादलाई पटकपटक प्रधानमन्त्रीको प्रस्ताव गरे । सूर्यप्रसादले पनि ती प्रस्ताव लत्याउँदै आफ्नो नेताको साथ छाडेनन् ।
मैले बिपीका ती समकालीन मित्र तथा सहयोगीहरूसँग किन उनीहरूले अनन्तकालसम्म बिपीलाई साथ दिए भनेर सोधेको थिएँ । सबैको एउटै उत्तर थियो– ‘बिपी एउटा यस्ता नेता थिए जसलाई कसरी नेपाली कांग्रेसलाई प्रभावकारी रूपमा संगठित तुल्याएर राष्ट्रको उत्थानको साधन बनाउन सकिन्छ भन्ने ज्ञान थियो । उहाँले पार्टीलाई परिचालन गरेर राष्ट्रलाई गन्तव्योन्मुख तुल्याउने ब्लुप्रिन्ट तयार गर्नुभएको थियो । बिपीका लागि पार्टी सभापति तथा प्रधानमन्त्री पदको आवश्यकता केवल देशवासीको उन्नतिका लागि थियो । उक्त पदमा आसीन भएपछि कसरी दल तथा राष्ट्रलाई डोर्याउने भन्ने स्पष्ट विवेक थियो उहाँमा । नेपाली कांग्रेसलाई देश विकासको सारथी तुल्याएर राष्ट्रलाई निर्दिष्ट दिशा उन्मुख तुल्याउने दक्षता केवल उहाँसँग मात्र थियो ।’
बिपीका उत्तराधिकारीहरूमा ती गुणहरूको चरम अभाव थियो । उनीहरूका लागि दलको सभापति पद प्राप्त गर्नु संसदीय दलको नेता बन्नका लागि मात्र थियो । संसदीय दलको नेताको हैसियत प्राप्त गरेपछि जुनसुकै सौदाबाजी गरेर भए पनि सत्ताको बागडोरमा हाबी हुने प्रवृत्ति थियो । दलको उपादेयता राष्ट्रको उन्नतिका लागि नभई सत्ताको भर्याङमै सीमित रह्यो । उनीहरूका लागि प्रधानमन्त्री पद प्राप्ति आफैंमा अन्तिम उद्देश्य रह्यो । तर पद प्राप्तिपछि के गर्ने भन्ने विषयमा कांग्रेसका चार प्रधानमन्त्रीमध्ये कसैले पनि स्पष्टता आवश्यक ठानेनन् । आफ्नो, आफन्तको तथा आफ्ना गुटका सदस्यको हित गर्ने कार्यमा सीमित रहे । कृष्णप्रसाद भट्टराई केही हदसम्म अपवाद हुनुहुन्थ्यो, जसले उक्त पदको दुरुपयोग निहित स्वार्थपूर्तिका लागि गर्नुभएन ।
विशेष महाधिवेशनले गगनकुमार थापालाई सभापति चयन गर्ने कार्यको श्रेय विश्वप्रकाश शर्मालाई जान्छ । विश्वप्रकाशले विषम परिस्थितिमा पनि सुवर्णशमशेरले बिपीलाई दिएको साथकै शैली अख्तियार गरे । यसो त विगतमा जसरी निःस्वार्थ भएर बिपीलाई सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय आदिले साथ दिएका थिए, यस कालखण्डमा गगन थापाका पितापुस्ताका ओमकार श्रेष्ठ, गोपालमान श्रेष्ठ लगायत कतिपय कांग्रेसजनले उनलाई साथ दिए । त्यसैगरी उनका अग्रज गुरुराज घिमिरे, प्रदीप पौडेल आदिले पनि । उमेर, अनुभव तथा विगतको राजनीतिक पृष्ठभूमि आदि सबैलाई थाती राखेर धेरै कांग्रेसजनले गगन थापालाई साथ दिए । त्यसरी साथ दिनुको प्रमुख कारण थियो– थापामा रहेको संगठनलाई सुदृढ तुल्याएर राष्ट्रवासीको उत्थानमा समर्पित हुने चाहना, उनले प्रदर्शन गरेको नेतृत्व दक्षता तथा क्षमता ।
प्रश्न उठ्छ– यदि गगन थापालाई अघि नसारिएको भए कांग्रेसले यो निर्वाचनमा कस्तो नियति भोग्नुपथ्र्यो ? कांग्रेस मतदातासामु कसरी उपस्थित हुन्थ्यो ? के ‘कार्यवाहक सभापति’को पगेरी लगाएका नेताको नेतृत्वमा कांग्रेस यस निर्वाचनमा होमिने क्षमता राख्थ्यो ? उक्त अवस्थामा कांग्रेसले मतदातासामु के कस्तो एजेन्डा लिएर उभिन्थ्यो ? हारेको दाउमा कांग्रेस–एमाले मोर्चाबन्दी गरेर निर्वाचनमा सामेल हुन्थे । त्यस अवस्थामा कांग्रेस सदस्यलाई मतदाताले कुन नजरले हेर्थे ? अघिल्लो निर्वाचनमा माओवादीका उम्मेदवारको प्रचारमा जबरजस्ती खटिएजस्तै यसपटक एमालेका उम्मेदवारको समर्थनमा लाग्दा कांग्रेस कार्यकर्ताको मनोदशा कस्तो हुन्थ्यो ? त्यस अवस्थामा कांग्रेसले के हालको भन्दा बढी मतदाताको रोजाइमा पर्ने सम्भावना थियो ?
गगन थापाको उपादेयताको विषयमा चर्चा गर्दा बिर्सन नहुने वास्तविकता के हो भने उनले निर्वाह गरेको भूमिका अर्को कुन कांग्रेस नेताले गरिरहेको छ ? भोलिका दिनको विषयलाई भविष्यवाणी गर्न कठिन हुन्छ । तर निकट विगततर्फ फर्केर आजको राजनीतिक धरातलमा खडा भएर बिना कुनै पूर्वाग्रह भन्ने हो भने कांग्रेसमा मात्र होइन, अन्य कुनै पुरानो दलमा पनि थापाजस्तो लोकप्रियता तथा जनविश्वास आर्जन गर्न सफल अर्को नेता पाइँदैन ।
देश बालेनमय भएको छ । २०१७ पछि पनि देश यसैगरी राजा महेन्द्रमय भएको थियो । राजा सर्वसत्तावादी थिए, सत्तासीन भएपछि उनी कवि, साहित्य तथा कलाप्रेमी हुँदै खेलकुदप्रेमी भएर जनतासामु प्रस्तुत भए । उनलाई चुनौती दिने सामथ्र्य भएका नेता या त शरणार्थी भएर विदेशिन बाध्य भए, अन्यथा जेल सजाय र गैरकानुनी हत्याको सिकार । निश्चय नै आजको युगमा राजा महेन्द्रजस्तो क्रूर निरंकुश शासन हुन सम्भव छैन । बालेन्द्र शाहलाई लोकप्रियता र बहुमतको आडमा निर्वाचित भएका भिक्टर ओर्बान, तैय्यप एर्दोगान, पुटिन, नरेन्द्र मोदी तथा डोनाल्ड ट्रम्पजस्तै शासक बन्नबाट रोकेर देशलाई जोगाउने सामथ्र्य गगन थापाबाहेक अरू कोसँग छ ?
सिद्धार्थ गौतम बुद्धको जन्मभूमिमा कुनै एउटा नेता नै निर्विकल्प नेता हुन सक्दैन । भोलिका दिनमा गगनकुमार थापाभन्दा प्रभावशाली अर्को नेताको उदय हुँदैन भन्ने छैन । तर उक्त दिन नआउन्जेलका लागि गगन थापाको नेतृत्व कांग्रेस दल तथा राष्ट्रलाई आवश्यक छ । त्यसकारण उनी सक्रिय राजनीतिबाट विश्राम लिने छुट वर्तमान नेपालले दिँदैन ।










Facebook Comments