विनोद सिजापती

महाशिवरात्रिको अघिल्लो सन्ध्यामा ९९ वर्षको उमेरमा विश्वबन्धु थापाको देहावसान भयो । भोलिपल्ट, शिवरात्रिकै दिन, हिन्दू धार्मिक परम्पराअनुसार उहाँको अन्त्येष्टि सम्पन्न भयो । उहाँको जीवनचक्रमा प्रभाव पार्ने दुई व्यक्तिका भनाइबाट यो लेख आरम्भ गरेको छु ।

ad

उहाँकै आजीवन प्रेरणापुरुष बीपी कोइराला (सान्दाजुु)को भनाइ थियो- ‘डा. तुलसी गिरीले मलाई धोका दिएर राजासँग लाग्नुको कारण म बुझ्दछु । विश्वबन्धुले किन त्यसो ग¥यो, त्यसको कारण मैले अहिलेसम्म बुझ्न सकेको छैन ।’

त्यसैगरी दरबारियाहरू भन्थे, राजा महेन्द्रले आफ्नो डायरीमा लेखेका रहेछन्- ‘विश्वबन्धु पानी भरिएको लोटाजस्तो छ । समातेर राख्न सकिएन भने पानी पोखिन्छ ।’

टेडी (दीप) नगरमा ६ महिनाको शिशु हुँदा, मृत्युश्यामा पुगेकी आमाले (महारानी) टीका लगाइदिएका दाजु कृष्णप्रसादको पोल्टामा उहाँलाई सुम्पेकी थिइन् । कृष्णप्रसाद कोइराला (पिताजी)ले नै उहाँको नाम ‘विश्वबन्धु’ राखिदिनुभएको हो । कोइराला निवासमा विरलै भेट हुने बीपी कोइराला बाल्यकालदेखि नै उहाँका आदर्श पुरुष रहनुभयो ।

म्याट्रिक उत्तीर्ण गरेपछि उच्च अध्ययनका लागि उहाँ बनारस हिन्दू विश्वविद्यालय प्रस्थान गर्नुभयो । त्यहाँ बाल्यकालदेखि नै कोइराला निवासमा उठबस हुने मनमोहन अधिकारी (भान्दाजु)सँग सम्पर्कमा पुग्नुभयो । उहाँकै संगतमा भारतीय कम्युनिस्टहरूसँग निकटता बढ्यो । बनारस आउनुभएका सान्दाजुुसँग कम्युनिस्ट सम्बन्धबारे चर्चा भएपछि, बीपीकै निर्देशनमा उहाँले उक्त संलग्नता त्यागी प्रजातान्त्रिक समाजवादको बाटो रोज्नुभयो । बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक भई समाजवादी राजनीतिमा प्रशिक्षित हुनुभयो ।

बीपीकै प्रेरणामा विद्यार्थी अवस्थामै उहाँले नेपाली कांग्रेसको संस्थापक सदस्यता लिनुभयो । २००७ सालको क्रान्तिमा बन्दुक बोकेर सहभागी हुनुभयो । प्रजातन्त्र घोषणाको दिन सान्दाजुसँगै पटना–काठमाडौं उडेको विमानबाट उहाँ अवतरण गर्नुभएको थियो । त्यसपछि बीपी कोइराला गृहमन्त्री रहँदा २२ वर्षीय विश्वबन्धुलाई राणा शासनको गढ मानिने गोरखा जिल्लाको बडाहाकिम नियुक्त गरियो । पछि मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले उहाँलाई पोखराको बडाहाकिम बनायो ।

कांग्रेसभित्रको उतारचढावपछि उहाँ विराटनगर पुगेर सक्रिय राजनीतिमा लाग्नुभयो । गिरिजाप्रसाद कोइराला नेतृत्वको मोरङ जिल्ला कांग्रेसमा विवाद बढिरहेका बेला सान्दाजुले गिरिजाप्रसादलाई हटाई विश्वबन्धुलाई जिल्ला सभापति चयन गर्नुभयो । २५ वर्षकै उमेरमा उहाँ कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनीत हुनुभयो । पछि गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायसँगै पार्टी नेतृत्वमा सहायक महामन्त्री बन्नुभयो । सुवर्णशमशेर राणा सभापति निर्वाचित भएपछि उहाँ महामन्त्री मनोनीत हुनुभयो ।

२०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो र बीपी संसदीय दलका नेता बने । विश्वबन्धु थापा प्रमुख सचेतक नियुक्त हुनुभयो । चुनाव प्रचारका क्रममा गोरखा पुग्दा उहाँको भाषण सुन्न ठूलो भीड जम्मा भयो । संयोगवश त्यही बेला ‘देश दर्शन’मा पुगेका राजा महेन्द्रले उहाँको लोकप्रियता देखेपछि भेटघाटको सिलसिला बढ्यो ।

२०१७ साल पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गर्दा उहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्थ्यो । खबर पाउनेबित्तिकै काठमाडौं फर्कनुभयो र विमानस्थलमै पक्राउ पर्नुभयो, तर पछि रिहा गरिनुभयो । त्यसपछि दरबार बोलावट भई डा. तुलसी गिरीसँगै राजाको प्रत्यक्ष शासनमा सहभागी हुनुभयो । पञ्चायती व्यवस्थाको राजनीतिक, सामाजिक र आर्थिक खाका कोर्ने जिम्मेवारी उहाँलाई दिइयो । ‘सुपर’ राष्ट्रिय निर्देशन मन्त्रालयसमेत उहाँकै जिम्मामा रह्यो ।

तर दलमाथिको प्रतिबन्ध हटाउने र आममाफी दिने विषयमा राजासँग मतभेद भएपछि २०२१ साल असोज १० गते उहाँले पदत्याग गर्नुभयो । आत्मशुद्धीकरणका निम्ति उपासना गर्नुभयो र त्यसपछि नख्खु जेलमा छ महिना कैद बस्नुभयो ।

पछि ‘गाउँ फर्क राष्ट्रिय अभियान’को केन्द्रीय सभापति नियुक्त हुनुभयो । राजा वीरेन्द्रले पञ्चायती संविधान संशोधनपछि उक्त अभियानलाई अझ सशक्त बनाउनुभयो र थापालाई पुनः नेतृत्व दिनुभयो । तर अभियान प्रमुख रहँदा दसैँमा सान्दाजुसँग टीका थाप्न गएको विषयले दरबार र कट्टर पञ्चहरू असन्तुष्ट भए । उहाँले राजीनामा प्रस्ताव गर्नुभयो ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा उभिनुभयो । पछि सान्दाजुको आग्रहमा पुनः कांग्रेस प्रवेश गर्नुभयो । तर बीपीको देहावसानपछि कांग्रेस त्याग गर्नुभयो । उहाँको कथन थियो- ‘राजा पनि प्रजातन्त्रवादी हुन सक्छन् भन्ने भ्रममा परेर मैले त्यो बाटो रोजेँ ।’

अर्को प्रसंगमा भन्नुभयो- ‘बीपीको स्वर्गारोहणसँगै कांग्रेसमा मेरो भूमिका समाप्त भयो ।’

जीवनको उत्तरार्धमा उहाँ ध्यान–साधनामा तल्लीन रहनुभयो । दीर्घकालदेखि बिरामी जेठा पुत्र सुशीलको हेरचाह आफ्नै निगरानीमा गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध अनुयायीहरूलाई इतिहासको पांग्रा उल्ट्याएर राजसंस्थाको पुनस्र्थापनाको माग नगर्न सल्लाह दिनुहुन्थ्यो ।

विश्वबन्धु थापा-एक जटिल, बहुआयामिक, आदर्श र यथार्थबीच डुलिरहने राजनीतिक यात्राका प्रतीक । उहाँको जीवनले नेपाली राजनीतिका अनेक मोड, भ्रम, निष्ठा र आत्मसंघर्षलाई उजागर गर्छ ।
उहाँप्रति हार्दिक श्रद्धाञ्जली ।