
गगनकुमार थापा
मैले पार्टी विधानको व्यवस्थाअनुसार आफ्नो राजीनामा पार्टीका उपसभापति समक्ष पेश गरें र उहाँले त्यो राजीनामाको निर्णयका निम्ति केन्द्रीय समिति समक्ष प्रस्तुत गर्नुभयो। केन्द्रीय समितिमा मेरो राजीनामा प्रस्तुत भयो र यसमाथि छलफल पनि भइसकेको छ। मैले कुनै हतारोमा आएर राजीनामा दिएको होइन, न हतास भएर नै राजीनामा दिएको हुँ। विशेष महाधिवेशन नगरी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा हामी गएका थियौं, त्यो निर्वाचनको सामना हामीले कसरी गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका १८ जना उम्मेदवारले पनि राम्ररी बुझ्नुभयो भने निर्वाचित हुन नसकेर प्रतिस्पर्धा गरेका १४७ जना उम्मेदवारले पनि राम्ररी बुझ्नुभएको छ। जो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारका निम्ति मत माग्न आउनुभएन वा मत हाल्न जानुभएन, उहाँहरूले यसबारे अनुमान मात्र लगाउन सक्नुहुन्छ। त्यसैले विशेष महाधिवेशन गरेर कहीं कतै कमजोरी पो गर्यौं कि भन्ने कुरामा एक निमेष पनि अलमलिएर म यो निर्णयमा पुगेको थिइनँ। कुनै दबाबबाट पनि यो निर्णयमा पुगेको होइन।
जसले मत माग्नुभएन वा मत हाल्न जानुभएन, राजीनामा गरे पनि नगरे पनि यसबारे के टिप्पणी हुन्छन् भन्ने कुरा मेरा निम्ति सरोकार र प्राथमिकताका विषय रहेनन्। जुन साथीहरू अत्यन्त प्रतिकूल अवस्थामा पनि नेपाली कांग्रेसका निम्ति लाग्नुभयो, खट्नुभयो, ती साथीहरूको राय मेरा निम्ति स्वाभाविक रूपमा शिरोधार्य रहने नै भयो। त्यसैले मैले मेरो राजीनामाको सोच बनाइसकेपछि पहिलोपटक यो कुरा उपसभापति विश्वप्रकाश शर्मासँग नै आफ्नो भावना राखेको थिएँ। म निर्वाचनको लगत्तै राजीनामा दिन चाहन्थें तर केही प्राविधिक कुराले रोक्यो। योभन्दा अघिल्लो समितिका सभापति आदरणीय शेरबहादुर देउवाको हस्ताक्षरमा निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइएको बीचमा विशेष महाधिवेशन भयो र विशेष महाधिवेशन भइसकेपछि विशेष महाधिवेशनको निर्णयका आधारमा निर्वाचन आयोगमा सभापतिको रूपमा मेरो हस्ताक्षरबाट हामीले उम्मेदवारको चयन गरेर बुझाउनुपर्ने व्यवस्था रह्यो, जसको कारणले निर्वाचनका ती प्रक्रियाहरू पूरा गर्नु मेरो कर्तव्यभित्रको विषय थियो। निर्वाचनका ती जिम्मेवारीहरू पूरा गर्नासाथ चैत ३ गते जब हामीले समानुपातिक उम्मेदवारहरू टुंग्यायौं, त्यसको लगत्तै मैले राजीनामा प्रस्तुत गरें।
म यो गर्नुपर्थ्यो भन्ने निष्कर्षमा किन पुगें भने यो उत्तरदायित्वको विषय थियो, जवाफदेहिताको विषय हो। हामी नभएको भए के हुन्थ्यो? हामीले समय बढी पाएको भए के हुन्थ्यो? हामी अत्यन्त प्रतिकूल अवस्थामा निर्वाचित भएर आयौं। आएको भोलिपल्ट वा पर्सिपल्ट हामीले उम्मेदवार चयन गर्नुपर्यो। हामी तत्कालै निर्वाचनको मैदानमा जानुपर्यो। हामीले अलिकति बढी समय पाएको भए के हुन्थ्यो? यी तर्कहरू छन्, तथ्यहरू पनि छन्। यसले केही कुरा व्याख्या पनि गर्छ। तर फेरि पनि सत्य के हो भने म नेपाली कांग्रेस पार्टीको सभापति हुँ। म यो टोलीको कप्तान हुँ। र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौं। यो भएको भए के हुन्थ्यो, त्यो भएको भए के हुन्थ्यो भन्ने विश्लेषणका ठाउँहरू छन्। तर जवाफदेहिता भनेको मैले त्यसको जिम्मेवारी लिनुपर्छ। त्यसकारणले मैले अनौपचारिक छलफलमा पनि पार्टीका आदरणीय उपसभापति ज्यू, अर्का उपसभापति ज्यू, महामन्त्री ज्यू लगायत जतिसँग पनि मेरो भेटघाट भयो, मैले यही कुरा भनें। औपचारिक रूपमा पनि मैले केन्द्रीय समितिभित्र त्यसकारणले मेरो राजीनामा बुझाएँ।
यो बीचमा मैले के महसुस गरें भने मलाई पार्टीका मेरा साथीहरू, केन्द्रीय समितिका तपाईंहरू र योभन्दा बाहिरका साथीहरूको ठूलो पंक्तिले यो बीचको तीन–चार दिनको सुनौलो समयमा जुन अपार माया, विश्वास, स्नेह र भरोसा प्रकट गर्नुभयो, त्यो मेरो निम्ति ऊर्जा हो। तर म त्यो निष्कर्षमा किन पुगें भने त्यो मेरो जवाफदेहिताको विषय हो। मैले यो कुरा गर्नुपर्छ। मैले आफ्नो कर्तव्य जे ठानें, त्यो कुरा गरें। विधानको व्यवस्थाअनुसार केन्द्रीय समितिको बैठक तपाईंहरू बस्नुभयो। तपाईंहरू बस्नुभएको बैठकमा दुई दिनसम्म यसबारे सघन छलफल गर्नुभयो र एउटा निर्णयमा पुग्नुभयो। जुन निर्णयमा विशेष महाधिवेशनको केही जिम्मेवारी अझै बाँकी रहेको हुनाले यो बेलामा विशेष महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशनको जिम्मेवारी पूरा गर्नुपर्छ र त्यसपछि महाधिवेशनले अरू बाँकी रहेको बाटो देखाउँछ भन्ने लगायत तपाईंहरूकै बैठकले निर्णय गरिसक्नुभयो। मैले जुन राजनीतिक जिम्मेवारी र जवाफदेहिताको कसीबाट आफ्नो राजीनामा बुझाएको थिएँ, अनौपचारिक ढंगले पनि पार्टीका नेतालाई आग्रह गरेको थिएँ कि तपाईंले यसलाई स्वीकार गर्नुपर्छ र अधिवेशनमा लिएर जानुपर्छ। मेरो राजीनामा पत्रमा पनि त्यही कुरा लेखेको थिएँ। मेरो अपेक्षाभन्दा भिन्न तर केन्द्रीय समितिले निर्णय गरेको छ। यो निर्णय गरिसकेपछि मैले आफ्नो कर्तव्य जे ठानें त्यो गरें। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले जे कर्तव्य ठीक होस् भन्ने ठान्यो, उसले गर्यो। अब यसबारे ठीक वा बेठीक भनेर थप गलफती गरिरहन वा दोहोरी खेलिराख्न आवश्यक छैन भन्ने म ठान्दछु। तपाईंहरूले गर्नुभएको निर्णय मेरो अपेक्षाभन्दा विपरीत थियो तर मैले त्यो निर्णयको सम्मान गर्नुपर्छ। अब यो ठीक वा बेठीक के हो भन्ने कुरा नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनले टुंगो लगाउनेछ। मभन्दा ठूलो केन्द्रीय कार्यसमिति हो, केन्द्रीय कार्यसमितिभन्दा ठूलो महाधिवेशन हो। त्यसैले निर्वाचनसँग जोडिएर मैले गरेको निर्णय र त्यसउपर केन्द्रीय कार्यसमितिले गरेको निर्णयको एउटा अध्याय समाप्त भयो र एउटा नयाँ अध्याय आजबाट प्रारम्भ भएको छ। हामी एउटा महाधिवेशनको जिम्मेवारी लिएर आएका थियौं। महाधिवेशनतर्फ अब हाम्रो पार्टीलाई हामीले अगाडि बढाउने हो। र त्यही महाधिवेशनकै हलमा के निर्णय ठीक थियो, के बेठीक थियो भन्ने सबै कुराको छलफल र छिनोफानो त्यही हुनेछ।
पार्टीजीवनमा महाधिवेशन हाम्रा निम्ति सर्वाधिक महत्वपूर्ण फोरम हो। यो महाधिवेशन कहिले गर्ने, कसरी गर्ने भन्नेबारे आजको बैठकमा मेरा केही प्रस्ताव छन्। तर ती प्रस्तावमा प्रवेश गर्नुभन्दा पहिले म राष्ट्रिय राजनीतिको सन्दर्भमा नेपाली कांग्रेस पार्टीले आजको मितिमा बोल्नुपर्ने केही कुराबारे विचार राख्छु र केही गर्नुपर्ने निर्णयहरूबारे प्रस्तावहरू यहाँ राख्छु। अब फेरि एकपटक नेपाली माटोमा सहादत दिएर हामीलाई आफ्नो मत व्यक्त गर्न सक्ने राजनीतिक प्रणाली दिने ती तमाम अमर सहिदहरूप्रति, २००७ सालभन्दा अगाडिदेखिको लामो यात्रामा भदौ २३–२४ गतेसम्म सहादत प्राप्त गर्ने सबै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। त्यसको त्यही पछिल्लो शृंखलामा निर्वाचन सम्पन्न भएको छ। जुन उत्साहका साथ नेपाली नागरिकले प्रजातन्त्रमा निर्वाचनमा सहभागी भई प्रतिबद्धता देखाउनुभयो, म त्योप्रति ठूलो सम्मान प्रकट गर्न चाहन्छु। यो निर्वाचनबाट सुविधाजनक ढङ्गले पाँच वर्षका निम्ति सरकार सञ्चालन गर्ने म्यान्डेट राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। म पार्टीको तर्फबाट र व्यक्तिगत रूपमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वलाई हार्दिक बधाई दिन चाहन्छु। संविधानको मर्म, भावना र नौजवानहरूको विद्रोहको मर्मअनुसार उहाँहरूले यो कार्यकालमा सफलतापूर्वक सरकार सञ्चालन गर्नुहुन्छ भन्ने शुभेच्छा पनि प्रकट गर्न चाहन्छु।
यो प्रतिकूल अवस्थामा पार्टीभित्रका पनि केही अप्ठ्यारा थिए, पार्टीबाहिरका अप्ठ्यारा थिए, समयको दबाब थियो। यस्तो बेलामा पनि नेपाली कांग्रेसका साथीहरू जो अविरल खट्नुभयो, दिनरात पार्टीले गरेको निर्णयअनुसार उम्मेदवारलाई बोकेर जानुभयो, पार्टीको पक्षमा मत माग्नुभयो, ती पार्टीका तमाम साथीहरूप्रति हार्दिक आभार प्रकट गर्छु। मतदाताहरूले अनेकौं अप्ठ्याराका बीच पनि नेपाली कांग्रेस पार्टीलाई यत्रो माया गर्नुभएको छ, भरोसा गर्नुभएको छ, ती तमाम मतदाताहरूप्रति पनि हार्दिक सम्मान प्रकट गर्छु। यो प्रतिकूल अवस्थामा पनि जुन साथीहरू निर्वाचित भएर आउनुभएको छ, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पनि, समानुपातिकतर्फ पनि, पार्टीको तर्फबाट उहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु र शुभकामना दिन चाहन्छु। यो निर्वाचनले नेपाली कांग्रेस पार्टीलाई एउटा विशिष्ट जिम्मेवारी दिएको छ। हामीलाई अहिले सङ्घको प्रमुख प्रतिपक्षको नयाँ जिम्मेवारी दिएको छ। प्रजातन्त्रमा सरकारको जे जिम्मेवारी हुन्छ, प्रतिपक्षको जिम्मेवारी त्योभन्दा भिन्न हुन्छ तर कम हुँदैन। हामी सबैले अनुभव गरेका छौं, सरकारसँग बढी ताकत भएको बेलामा प्रतिपक्षको झन् बढी जिम्मेवारी हुन्छ।
त्यसैले यो निर्वाचनपछि हाम्रो एउटा नयाँ भूमिका र जिम्मेवारी आएको छ, जुन हामीले सफलतापूर्वक निर्वाह गर्नुपर्नेछ। यो जिम्मेवारीमा हामीलाई मार्गनिर्देशन संविधानले गर्छ, पार्टीको विधानले गर्छ र हाम्रो प्रतिज्ञाले गर्छ। यो निर्वाचनमा हामी एउटा प्रतिज्ञा लिएर मतदाताहरूका बीचमा गएका थियौं कि हामी पाँच वर्ष तपाईंको मतको सम्मान यसरी गर्छौं भनेर। त्यो मतले हामीलाई सरकार सञ्चालन गर्ने जिम्मा दिएन तर प्रतिपक्षको जिम्मेवारीमा पुर्याएको छ। त्यसैले त्यो प्रतिज्ञामा जे भनेका छौं, त्यसबाट हामी बाँधिएका छौं। हामीले त्यो प्रतिज्ञामा भनेको मूल सार के थियो भने २०८२ देखि २०८७ सम्मको पाँच वर्षको अवधिमा नेपालमा सुशासन, विकास र सेवा प्रवाहको गति पहिलेको भन्दा तीन–चार गुणा बढी हुनुपर्छ। तर सँगसँगै हामी आश्वस्त भएर अगाडि बढ्नुपर्छ भने गतिमा जानुपर्छ तर दुर्घटना हुनुहुन्न। राष्ट्रिय स्वतन्त्र पार्टीले यो पाँच वर्षका निम्ति ड्राइभिङ सिटमा बस्ने जिम्मेवारी पाएको छ। देशको सुशासन, विकास र सेवा प्रवाहको गतिमा लैजाने जिम्मेवारी उहाँहरूले पाउनुभएको छ। यसमा नेपाली कांग्रेस पार्टीको पूर्ण साथ रहन्छ। जहाँ गति कम भयो बढाउनुपर्छ भन्ने हामी महसुस गर्छौं, कतिपय ठाउँमा हाम्रो दबाब रहन्छ, कतिपय ठाउँमा हाम्रो प्रोत्साहन रहन्छ, प्रश्न गर्नुपरेको ठाउँमा प्रश्न पनि रहन्छ। तर मूलतः हाम्रो साथ रहन्छ।
गतिसँगसँगै नेपाली कांग्रेसको अर्को महत्वपूर्ण प्रतिज्ञा थियो। देशले पटक–पटक दुर्घटना बेहोरेको छ। हामी जहिले पनि बहुमत प्राप्त गर्छौं, कहिलेकाहीं अब अलिकति सजिलो हुन्छ भन्ने ठान्छौं, अब देशले गति लिन्छ भन्ने ठान्छौं, तर कुनै न कुनै द्वन्द्वमा पर्छौं। यो पाँच वर्ष नेपाल कुनै पनि दुर्घटनामा पर्नुहुन्न, कुनै पनि द्वन्द्वमा पर्नुहुन्न, कुनै पनि अतिवादको चपेटामा पर्नुहुन्न। यो नेपाली कांग्रेसको अर्को भूमिका हो, जुन हामी सचेत र सतर्क भएर निर्वाह गर्नेछौं। नयाँ सरकार बन्न अझै केही दिन बाँकी छ। सरकार बनिसकेपछि सरकारले अगाडि सार्ने कार्यक्रमहरूमा हाम्रो साथ रहन्छ। आवश्यक परे आफ्ना धारणा त्यही बेला राख्नेछु। तर आजको बिन्दुमा सुशासनको सन्दर्भमा एउटा–दुइटा कुरा गर्न आवश्यक छ भन्ने म ठान्दछु। २०८२ सालदेखि २०८७ सालसम्मको एउटा नयाँ अध्याय सुरु भएको छ। यो सामान्य अवस्थामा भएको निर्वाचन होइन, विशिष्ट अवस्थामा भएको निर्वाचन हो। यो मध्यावधि पनि होइन, एउटा ठूलो आन्दोलनपछि भएको निर्वाचन हो। यो निर्वाचनपछि बन्ने सरकारसँग मात्र होइन, हामी सबैसँग नागरिकहरूको विशिष्ट अपेक्षा छ। विशेष गरी सुशासनका बारेमा विशेष अपेक्षाहरू छन्। मैले अघि पनि भनिसकेँ, फेरि दोहोर्याउँछु, ती अपेक्षा पूरा गर्ने कुरामा हामी आफ्नो भूमिका निर्वाह गर्नेछौं। हामी बरु एक कदम अगाडि हुनेछौं, तर पछाडि हुनेछैनौं।
सुशासनको सन्दर्भमा हामीले हाम्रो प्रतिज्ञामा भनेका थियौं कि २०८२ सालपछि एउटा नयाँ अध्यायको प्रारम्भ हुन्छ, यो कटअफ पोइन्ट हो। तर २०८२ भन्दा अगाडिको अवधिलाई हामी कसरी हेर्छौं? २०८२ भन्दा अगाडिका विषयहरू हामीले यत्तिकै छाड्यौं भने यसले कहीं न कहीं गिजोल्नेछ। त्यसैले २०८२ भन्दा अगाडिको विषयलाई पनि टुंग्याउनुपर्छ। २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा नयाँ सरकार बनेको देखि २०८२ सालसम्म जति पनि विविध सरकारहरू बने, फरक–फरक जिम्मेवारी लिएर सार्वजनिक जीवनमा भूमिका निर्वाह गरेका सबैको सम्पत्ति छानबिन गर्ने, अनुसन्धान गर्ने र गलत ढङ्गले आर्जन गरेको सम्पत्ति जफत गर्ने भन्ने हाम्रो प्रतिज्ञा थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यही कुरा भनेको छ। नेपाली कांग्रेस पार्टी यो विषयमा नयाँ बन्ने सरकारले तत्काल यो आयोग बनाउनुपर्छ भन्ने पक्षमा छ। हाम्रो साथ रहन्छ, हाम्रो माग पनि रहन्छ।
दोस्रो विषय, २०४६ सालपछि यहाँसम्म आइपुग्दा करिब ३५ वर्षको अवधिमा थुप्रै राम्रा काम भएका छन् तर अवरोधहरू पनि आए। यो बीचमा हामीले ठूलो हिंसा, द्वन्द्व, राजनीतिक सङ्क्रमण, प्रत्यक्ष शासन, अधिनायकवादी शासन, त्यसको प्रतिरोधको राजनीति, संविधान निर्माणको लामो सङ्क्रमणकाल थुप्रै कुरा बेहोरेका छौं। तर यही ३५ वर्षको अवधिमा नागरिकहरूका बीचमा एउटा ठूलो प्रश्न र गुनासो पनि रहेको छ, जुन हामीले निर्वाचनको बेलामा पनि देख्यौं, भोग्यौं, सुन्यौं। हामी सबैले देखेर आएका छौं, सुनिरहेका छौं कि शासकीय शक्तिको व्यापक दुरुपयोग भयो। सार्वजनिक ओहदामा बस्नेहरूले शासकीय शक्तिको दुरुपयोग गरे, सार्वजनिक पदको दुरुपयोग गरे। यो दुरुपयोग भएका कुराहरू थुप्रै काण्डहरूसँग जोडिएका छन्। चलनचल्तीमा जाँदा हामी सुन्छौं, यो काण्ड, त्यो काण्ड भनेर। नेपाली कांग्रेस पार्टीले हाम्रो प्रतिज्ञामै भनेका छौं। यी काण्डहरू अब केवल सार्वजनिक खपतको विषय हुनुहुन्न, वा आरोप–प्रत्यारोपको विषय पनि हुनुहुन्न। यो दूधको दूध, पानीको पानी हुनुपर्छ। यो कसैले यसको भारी बोक्ने पनि होइन, जसले गरेको छ उसले भारी बोक्नुपर्छ। त्यसैले नेपाली कांग्रेस पार्टीले स्पष्ट रूपमा यो विचार राखेर जानुपर्छ। म यहाँ प्रस्ताव पनि गर्छु कि जति पनि काण्डहरू छन्, चाहे त्यो गिरिबन्धु होस्, चाहे ललिता निवास होस्, चाहे वाइड बडी होस् वा भदौ २४ गते नेताको घरमा भेटिएको जलेको पैसा होस्, यी सबै विषयको सन्दर्भमा कानुनसम्मत ढङ्गले अनुसन्धान हुनुपर्छ। जहाँ गलत काम भएको छ, सार्वजनिक पदको दुरुपयोग भएको छ, शासकीय क्षमताको दुरुपयोग भएको छ, कानुनसम्मत ढङ्गले अनुसन्धान भएर त्यसअनुसारको दण्ड–सजायको भागीदार हुनुपर्छ। यो विषय केवल सार्वजनिक खपतको विषय हुनुहुन्न। यो विषयमा हामी स्पष्ट हुनुपर्छ। अख्तियारको दुरुपयोग, नीतिगत भ्रष्टाचार, आर्थिक अनियमितता यी विषयको सन्दर्भमा विधिसम्मत ढङ्गले कुनै पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले अनुसन्धान गर्ने, दोषीलाई कारबाही गर्ने र यसका निम्ति संस्थागत सबलीकरण गर्ने विषयमा नेपाली कांग्रेस पार्टीको पूर्ण साथ रहन्छ। मैले भनें, यी विषयमा बरु हामी एक कदम अगाडि हुनेछौं, पछाडि हुनेछैनौं। नेपालको राजनीतिलाई स्वच्छ बनाउने विषयमा नेपाली कांग्रेसको यो नेतृत्व पूर्ण रूपमा प्रतिबद्ध छ। जहाँ गलत भएको छ, त्यही ठाउँमा उभिएर अनुसन्धान गर्ने, गहिराइमा पुग्ने र जस्तो दोषी छ उसले सजायको भागीदार बन्ने कुरा भयो भने मात्र समाजमा भ्रष्टाचारमुक्त समाज हुन्छ, पारदर्शी राजनीति हुन्छ, जवाफदेही सरकार हुन्छ। यो कुरा टुंगिनुपर्छ भन्ने हामीले भनेर जानुपर्छ।
यी बाहेक अन्य विषयहरू पनि छन्। अर्थतन्त्रको विषय छ, अन्य क्षेत्रका विषयहरू छन्, शिक्षाका विषयहरू छन्, स्वास्थ्यका विषयहरू छन्। थुप्रै विषयहरू छन्, जसको बारेमा हामीले प्रतिज्ञापत्रमा भनेका छौं। चाहे त्यो विदेशमा बस्ने नेपाली नागरिकको बारेमा होस्, चाहे गैरआवासीय नेपाली नागरिकको अधिकारको बारेमा होस्, चाहे संविधानमा लेखिएको दलित, महिलाका अधिकारका विषयहरू हुन्। यसबारे हामी सरकारसँग सहकार्य गर्दै जानेछौं। कतिपय विषयहरू छन्, जसबारे तत्काल हामी बसेर छलफल गर्नुपर्ने आवश्यकता छ। मध्यपूर्वमा यत्तिको ठूलो तनाव छ, यो तनाव सिङ्गो नेपाल थाहा नपाई बिस्तारै प्रभावमा पर्दै गएको छ। यस्ता विषयहरूमा नेपाली कांग्रेस पार्टीले हामी जिम्मेवारीमा छैनौं भनेर पन्छिनु हुँदैन। हामी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल हौं। हामी सातै प्रदेशमा सरकारमा छौं। हामी स्थानीय तहमा सबैभन्दा बढी ठाउँमा छौं। यस्ता विषयहरूमा हामीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। हाम्रो प्रतिज्ञापत्रमा भनेजस्तै कुनै एउटा व्यक्तिले मात्र गरेर सम्भव हुने कुरा होइन, कुनै एउटा सरकार मात्र होइन। हामी सबैले मिलेर काम गर्नुपर्छ, त्यसैले हामीले टिम नेपालको धारणा अगाडि सारेका थियौं। हामी अहिले पनि त्यो टिमका खेलाडी हौं। मध्यपूर्वमा देखिएको तनावले नेपालको अर्थतन्त्र, वैदेशिक रोजगारलगायत हाम्रा कतिपय साथीहरूको जीवनमा पारेको प्रभावको समाधान खोज्ने विषयमा हामी सरकारसँगै बसेर काम गर्नेछौं। हाम्रो प्रदेश सरकार पनि यसमा विशेष ध्यान दिएर काम गर्नुपर्छ, हाम्रो स्थानीय सरकारहरूले पनि काम गर्नुपर्छ। यी विषयहरूमा हामी सँगसँगै काम गर्दै जानेछौं।
मैले अघि भनें, गतिमा काम गर्ने तर गतिमा काम गर्दा दुर्घटना पर्नुहुन्न। यसको पनि दुईवटा कुरा मात्र चर्चा गर्छु। एउटा, प्रजातन्त्रको कुरा हो। हामीलाई गति र परिणाम चाहिएको छ तर प्रजातन्त्रका आधारभूत कुराहरूमा सम्झौता गरेर होइन। हाम्रो स्वतन्त्रता, समानता, बोल्ने स्वतन्त्रता, लेख्ने स्वतन्त्रता, प्रेसको स्वतन्त्रता, अदालतको स्वतन्त्रता, कतिपय स्वायत्तताका कुराहरू छन्। यी कुनै पनि कुरामा कहिले पनि आँच आउन दिइनु हुन्न। यसलाई थप विस्तार र फराकिलो बनाउँदै लैजानुपर्छ। यो कहीं कतै सम्झौता नहोस् भन्ने विषयमा नेपाली कांग्रेस पार्टीले सतर्क भएर आफ्नो कर्तव्य निर्वाह गर्नेछ। दोस्रो, दुर्घटनासँग जोडिएको विषय भनेको हाम्रो विविधतासँग जोडिएको छ। नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक देश हो। यसलाई हामीले संविधानमा बडो ध्यानपूर्वक लामो संविधानसभाको प्रक्रियाबाट, पहिलो संविधानसभा असफल भएपछि दोस्रो संविधानसभामा धेरै कुराहरू एकअर्कासँग संवाद गरेर, कतिपय कुरा छोडेर मिलाएर, कतिपय कुरामा सम्झौता गरेर, कतिपय कुरा भविष्यलाई छोडेर एउटा सन्तुलन कायम गरेका छौं। यो सन्तुलन कसैले पनि खलबलाउन हुँदैन। हामी यो खलबली हुन दिन सक्दैनौं। यस सन्दर्भमा नेपाली कांग्रेस पार्टीले हाम्रो विविधतालाई प्रजातन्त्रले अँगालोमा लिएर जाने कुरालाई अझ गहिरो बनाउँदै लैजाने काम गर्नेछ। हाम्रो संविधानले बोलेका सामाजिक न्याय, समावेशीकरण, समान अधिकार, समानता, सबैको हक–अधिकारका कुराहरू, प्रजातन्त्रले दिएका अधिकारहरू, चाहे त्यो श्रमिकको अधिकार होस्, युवाको अधिकार होस्, महिलाको अधिकार होस्, तमाम अधिकारहरूको सन्दर्भमा नेपाली कांग्रेस पार्टी सतर्क भएर काम गर्नेछ र हामी यी विषयहरूमा सरकारसँग सँगसँगै काम गर्नेछौं भन्ने अपेक्षा पनि गर्दछौं।
हामीले प्रतिज्ञापत्रमा अर्को कुरा पनि भनेका छौं। भदौ २३ र २४ गतेको सन्दर्भमा पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरिसकेको छ। म त्यसमा धेरै कुरा भन्न चाहन्न, खाली हामीले भनेको कुरा मात्र स्मरण गर्न चाहन्छु। २०८२ भदौ २३ र २४ गतेको नवयुवा विद्रोहको क्रममा भदौ २३ गते भएको राज्यशक्तिको दुरुपयोग तथा दमन र २४ गते भएको हिंसा, निजी तथा सार्वजनिक सम्पत्तिको क्षति र विध्वंसमा भएको मानवीय क्षतिलगायत गम्भीर मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको निष्पक्ष छानबिनमार्फत सत्य अन्वेषण र न्याय निरूपण हुनुपर्छ। घटनामा संलग्न दोषीहरूलाई कानुनको कठघरामा उभ्याई पीडितलाई न्याय दिलाउनुपर्छ। गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको प्रतिवेदन निर्वाचनभन्दा अगाडि नै सार्वजनिक हुनुपर्थ्यो। हामीले यसबारे सरकारको ध्यानाकर्षण पनि गराएका थियौं। यो तत्काल सार्वजनिक हुनुपर्छ। सार्वजनिक हुने मात्र होइन, हामीले के अपेक्षा गरेका छौं भने भदौ २३ गते भएको दमनको बारेमा पनि र २४ गते भएको हिंसाको बारेमा पनि बिना पूर्वाग्रह आयोगले आफूले गरेको अध्ययन, अनुसन्धानका आधारमा प्रतिवेदन बनाएको छ र सरकारलाई बुझाएको छ। त्यो प्रतिवेदन तत्काल सार्वजनिक होस् र प्रतिवेदनअनुसार कार्यान्वयन पनि होस्। जसले गल्ती गरेको छ, उसले सजाय पाउने अवस्था बनोस्। बिना पूर्वाग्रह यी कुराहरू अगाडि बढून् भन्ने सन्दर्भमा पनि नेपाली कांग्रेस पार्टीले आफ्नो स्पष्ट अडान राख्नुपर्छ र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्छ।
अर्को एउटा विषय संविधानसँग जोडिएको छ। हामीले प्रतिज्ञापत्रमा भन्यौं कि संविधानका आधारभूत मूल्य, मान्यता, नागरिक अधिकार, समानुपातिक, समावेशी सिद्धान्तलाई सङ्कुचित बन्न नदिई यसलाई फराकिलो बनाउने कुराको सन्दर्भमा, खासगरी सुशासनलाई प्रभावकारी बनाउन संविधानमा कतिपय कुरा परिवर्तन गर्नुपर्नेछ। हाम्रा आधारभूत मान्यताहरू नचलाई यसलाई थप बलियो र सुदृढ बनाउने हो। तर कतिपय कुरा थप्नुपर्नेछ। यी विषयमा काम गर्नुपर्नेछ। यसका निम्ति नेपाली कांग्रेस पार्टीले म आज केन्द्रीय समितिको बैठकमा प्रस्ताव राख्छु कि पार्टीको एक जना वरिष्ठ नेताको संयोजकत्वमा विज्ञहरू पनि राखेर सबै जातजाति, भाषा, समुदाय, क्षेत्र, वर्गलाई समेट्ने एउटा समिति बनाउनुपर्छ। यसले नेपाली कांग्रेस पार्टीभित्र पहिला छलफल गर्नेछ कि संविधान संशोधन र परिमार्जनको सन्दर्भमा हामी कुन–कुन विषयमा प्रवेश गर्न चाहन्छौं, कसरी जान चाहन्छौं। त्यसपछि हामी अन्य दलहरूसँग छलफल गर्नेछौं। संसदभित्र र बाहिर, प्रदेशमा रहेका दलहरूसँग पनि छलफल गर्नेछौं। कतिपय बेला राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने हुन्छ। यसमा नेपाली कांग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। आज हामी बैठकबाट यो समिति बनाउनेछौं र समितिले आफ्नो काम अगाडि बढाउनेछ।
अब म पार्टीको आन्तरिक जीवनको बारेमा केही कुरा राख्छु। पार्टीको निर्वाचनको जुन परिणाम आयो, यसको बारेमा अस्तिको बैठकमा उपसभापतिको सभापतित्वमा बसेको बैठकले सघन, गम्भीर, गहिरो समीक्षा गरिसकेको छ। हामीले यसलाई प्रारम्भिक समीक्षा भनेका छौं। महामन्त्री ज्यूहरूले १६५ निर्वाचन क्षेत्रमै परिपत्र गर्नुभएको छ। अब हामीले १६५ निर्वाचन क्षेत्रमा गएर समीक्षा गर्नुपर्छ किनकि उम्मेदवारहरू, उम्मेदवारका सहयोगीहरू, पार्टीका साथीहरू, अवलोकनकर्ताहरू सबैको अनुभव छ। त्यसैले आज हाम्रो बैठकमा निर्णय गरेर हामीले सातै प्रदेशमा प्रदेशअनुसार सबै साथीहरूलाई जम्मा गरेर सघन छलफल र समीक्षा गर्नुपर्छ। तर समीक्षा उम्मेदवार र पार्टीका साथीहरूबीच मात्र गरेर पुग्दैन, हामी त्योभन्दा बाहिर पनि निस्कनुपर्छ। हामीले वर्षौंदेखि नेपाली कांग्रेसमा निष्ठाका साथ रहनुभएका शुभचिन्तक, सहिद परिवार, पार्टीका लागि जीवन अर्पण गर्नुभएका सदस्यहरू, जसको पुस्तौंदेखि पार्टीसँग उभिएको परिवारको सबैभन्दा पछिल्लो पुस्ता आज किन पार्टीसँग उभिन चाहेन भन्नेबारे गहिरो समीक्षा र संवाद गर्नुपर्छ। यसलाई हामीले डिसमिस गर्न हुँदैन, कसैलाई दोष लगाएर पनि हुँदैन। यो हामीले केन्द्रमा गर्यौं, अब प्रदेशमा जानेछौं, १६५ निर्वाचन क्षेत्रमा जानेछौं। हामी फराकिलो दायरामा पार्टीका शुभचिन्तक, मतदाता, नौजवान, पार्टीलाई मत हाल्ने र मत नहाल्ने सबैसँग संवाद गर्नेछौं। कुरा सुन्नेछौं, आवश्यक सिकाइ ग्रहण गर्नेछौं र त्यसअनुसार अगाडि बढ्नेछौं।
तर सँगसँगै अर्को पाटो पनि छ। के निर्वाचन नै सबै कुरा हो? नेपाली कांग्रेस पार्टी निर्वाचनभन्दा फराकिलो छ। पार्टी आयो र पार्टीपछि निर्वाचन आएको हो, निर्वाचन आयो र निर्वाचन लड्नका लागि पार्टी आएको होइन। हामी आयौं र हामीले निर्वाचन हुने प्रक्रिया स्थापित गरेका हौं। त्यसैले नेपाली कांग्रेस पार्टीले आफूलाई त्यो फराकिलो दायरामा राखेर हेर्नुपर्छ। तर यसकारणले हामी जे छौं ठीक छौं भन्ने हुँदैन। पार्टीभित्र व्यापक सुधार चाहिएको छ। सानो सुधार होइन, ग्रान्ड रिफर्म नेपाली कांग्रेसभित्र चाहिएको छ। यसको निम्ति हामी कहाँबाट सुरु गर्नुपर्छ भने हाम्रा केही मूल मान्यता र शक्तिहरू छन् जो कालातीत छन्, पुरानो हुँदैनन्। यो पार्टी आम नेपालीको स्वतन्त्रता र समानताका निम्ति जन्मेको हो। आज पनि त्यो मूल्य उत्तिकै सान्दर्भिक छ, झन् बढी छ। यो पार्टी सबै खालको अतिवादको विरुद्धमा समाजलाई सम्हाल्ने जिम्मेवारी लिएर आएको हो। बिपी कोइरालाले भन्नुहुन्थ्यो, समाजको अगाडि जनता छ, जनताको अगाडि समस्या आउँछ, त्यो समस्या समाधान गर्ने पहल हुन्छ र त्यो पहल गर्दा जुन भावना जागृत हुन्छ, त्यो राष्ट्रियता हो। त्यो राष्ट्रियता नेपाली कांग्रेसको पुँजी हो। यो हाम्रो मूल मान्यता हो, जुन अहिले पनि कायम छ। तर यो जरामा हुर्किएको रुखमा पछिल्ला केही वर्षहरूमा सत्ताका निम्ति गरिने सिद्धान्तहीन सम्झौता, राज्यशक्तिको दुरुपयोग, राज्यका विविध अङ्गहरूको अतिदलीयकरण, भ्रष्ट नेक्ससजस्ता कतिपय अवाञ्छित पातहरू छन्। यी फोहोर पातहरूलाई हामीले हटाउनुपर्छ। यो कांग्रेसको शुद्धीकरणको विषय हो।
पार्टीको संगठनात्मक संरचनाको सन्दर्भमा पनि व्यापक परिवर्तनको आवश्यकता छ। हामी पार्टीमा अहिले चार पुस्ताका मानिस छौं। समाजमा पनि त्यस्तै छ। यो त पार्टीको शक्ति हुनुपर्ने हो। तर किन हुन सकेन? किनभने संगठनको भद्दा संरचना बन्यो। हामी कमिटी सिस्टममा रेजिमेन्टेड पार्टीजस्तो भयौं। प्रतिस्पर्धी दलहरूसँग प्रतिस्पर्धा गर्दै जाँदा हामीले आफ्नो मौलिकता, आफ्नो चरित्र नै बिर्सियौं। तर यसो भन्दैमा हामीसँग भएको शक्तिलाई पन्छाउनु हुँदैन, त्यसलाई अझ संरक्षण गर्नुपर्छ। पार्टीमा लागेको व्यक्तिको इमानदारी, नैतिकता, निष्ठा र उसको योग्यता-यी दुवै कुरालाई बराबर मूल्य दिएर हामी अगाडि बढ्नुपर्छ। पार्टीको संगठनको काम भनेको निर्वाचनको मेसिन मात्र होइन। पार्टीको सबैभन्दा ठूलो काम त सामाजिक आन्दोलन हो। संविधानभित्र हामीले जति मौलिक हक लेखाएका छौं-महिलाको हक, दलितको हक, श्रमिकको हक, युवाको हक-के यी कुराहरू निर्वाचन र सत्तासँग मात्र जोडिएका छन्? पार्टीले सामाजिक आन्दोलनको रूपमा काम गरिराख्नुपर्छ। यी विषयहरूमा पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरणको एउटा नयाँ अध्याय प्रारम्भ गर्नुपर्छ।
यसको लागि अब हामी पार्टीको महाधिवेशनमा जानुपर्छ। मेरा केही ठोस प्रस्तावहरू छन्। पहिलो, हामीले विशेष महाधिवेशनबाट पारित गरेको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम हुनेछ। अहिले करिब आठ–नौ लाख क्रियाशील सदस्यहरू छन्। सबैको अभिलेखीकरण गरिनेछ। म सभापतिले पनि आफ्नो वडामा गएर क्रियाशील सदस्यताका लागि आवेदन दिनुपर्नेछ। जसले अद्यावधिक गर्छ, त्यो क्रियाशील रहन्छ। जसले गर्दैन, त्यो रहँदैन। पार्टीभित्रको शुद्धीकरणको मुख्य काम यहीँबाट प्रारम्भ हुनेछ। अद्यावधिक गरेपछि प्रत्येक सदस्यले पार्टी आईडी प्राप्त गर्नेछन्। यो विधानमै व्यवस्था गरिएको छ। दोस्रो, पार्टीभित्र सुव्यवस्थित संस्थाहरू बनाउने प्रचलनलाई पुनरावलोकन गरिनेछ। यी संस्थाहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने प्रचलनले पार्टीभित्र अतिदलीयकरण मात्र बढायो, विविधता र व्यावसायिकता भित्र्याउन सकेन। यसले पार्टीलाई क्षति पुर्यायो। तर अब विभिन्न क्षेत्र, व्यवसाय, पेसाबाट आउनेहरूका लागि ल्याटरल इन्ट्रीको व्यवस्था गरिएको छ। उनीहरूले पार्टी सदस्यता लिएपछि पार्टी समितिमा आउन सक्नेछन्। यसले नेपाली कांग्रेसको केन्द्रीय समितिमा विविधता ल्याउनेछ। उम्मेदवार छनोटको सन्दर्भमा पनि जुन तहको उम्मेदवार हुने हो, त्यही तहको पार्टीले निर्णय गर्न पाउने व्यवस्था विधानमै छ। सबै तहमा युवाको सार्थक प्रतिनिधित्वको पनि विशेष व्यवस्था छ।
अर्को प्रस्ताव, नेपाली कांग्रेस लिडरशिप एकेडेमीको व्यवस्था गरिनेछ। प्रशिक्षण प्रतिष्ठानले यो एकेडेमी सञ्चालन गर्नेछ। अब स्थानीय निर्वाचन र प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूले लिडरशिप एकेडेमीमा अनिवार्य रूपमा तोकिएको पाठ्यक्रमको कक्षा लिनुपर्नेछ। पुरानो वा नयाँ जोसुकै भए पनि यो अनिवार्य हुनेछ। सार्वजनिक जिम्मेवारीमा जान चाहने व्यक्तिले निर्वाचनभन्दा तीन महिना अगाडि पब्लिक पोलिसीको कोर्स अनिवार्य रूपमा लिनुपर्नेछ। पार्टी सदस्यहरूलाई पनि कांग्रेसको सिद्धान्त, आदर्श, ध्येय र नीतिबारे प्रशिक्षण दिने काम यसले गर्नेछ।
यी सबै प्रस्तावपछि म १५औं महाधिवेशनको कार्यक्रम प्रस्ताव गर्दछु। २०८२ चैत २१ देखि चैत मसान्तसम्मको अवधिमा सदस्यता अद्यावधिकको नयाँ फारम सबै तहमा पुर्याइनेछ। २०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म ६ हजार ७ सय ४३ वडामा क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम हुनेछ। वडामै गएर फारम भर्नुपर्नेछ। बाँकी सबै काम डिजिटल रूपमा हुनेछन्। वडाले नै पार्टी आईडी प्रदान गर्नेछ। वैशाख महिनाभर सदस्यता अभियान सञ्चालन गरिनेछ। जेठ १ देखि १५ गतेसम्म प्रतिनिधि सभा र जिल्लामा पठाउने काम हुनेछ। २०८३ जेठ मसान्तसम्म क्षेत्र र जिल्लाले इन्ट्री गरी केन्द्रमा पठाउनेछन्। असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंगो लगाउनेछ। असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ। साउनभित्र जनसम्पर्क समितिका विषयमा निर्णय गरिनेछ। गाउँ, नगर, वडा अधिवेशन साउन ६ गते, गाउँ, नगरपालिका अधिवेशन साउन १२ गते, प्रदेश सभाको अधिवेशन साउन २३ गते, महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन साउन ३० गते, जिल्ला अधिवेशन भदौ ६ र ७ गते, प्रदेश अधिवेशन भदौ १५ र १६ गते र नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन भदौ २४, २५ र २६ गते गरिनेछ।
यसबाहेक, प्रदेश सभा र स्थानीय सरकारका सन्दर्भमा नैतिक आचारसंहिता, डेलिभरी, दक्षता र सुशासनको मापदण्ड बनाउने विषयमा पनि आजको बैठकबाट ठोस निर्णय गरौं।
अब केन्द्रीय महाधिवेशनमा सबै साथीहरू जुट्नुपर्छ। म आजकै बैठकमा केन्द्रीय सदस्य साथीहरूलाई र देशभरिका पार्टीका सबै तहका साथीहरूलाई अपील गर्दछु। अब नेपाली कांग्रेस पार्टीको एउटा नयाँ यात्रा प्रारम्भ भएको छ, एउटा नयाँ अध्याय आज प्रारम्भ भएको छ। यो बीचमा हामी समीक्षा पनि गर्दै जानेछौं, नयाँ साथीहरू जोड्दै जानेछौं, पार्टीभित्रका विकारहरू हटाउँदै जानेछौं, शुद्ध र सुदृढ बनाउँदै जानेछौं। संसदमा रहेका साथीहरूले संसदमा काम गर्नुहुनेछ। हामी जुन ठाउँबाट निर्वाचित भएर प्रतिनिधित्व गर्न सकेनौं, त्यो ठाउँप्रतिको हाम्रो जिम्मेवारी र जवाफदेहिता छ। मेरो सूर्यक्षेत्र नम्बर ४ प्रतिको जिम्मेवारी छ, हामी सबैको आ–आफ्नो ठाउँप्रति जिम्मेवारी छ। हामी त्यहाँ पनि काम गर्नेछौं। तर सँगसँगै अब भदौ २४ गतेभित्र पार्टीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले हामी सबैको अर्जुन दृष्टि अधिवेशनमा लाग्नुपर्नेछ। म यो समितिमा नहुनुभएका बाहिरका साथीहरूलाई पनि अपील गर्न चाहन्छु। विशिष्ट अवस्थामा विशेष महाधिवेशन भयो, नयाँ नेतृत्व आयो, हामी निर्वाचनमा भाग्यौं। अब हामी अधिवेशनमा जाँदै छौं। विशेष अधिवेशनअगाडि र पछाडि को कसले भाग लियो, कसले लिएन भन्ने सकियो। मैले सभापतिको रूपमा गाडी हाँकिरहेको छु। गाडी अगाडि बढ्यो, अब यो गाडी रोकिनेछैन। र गाडीमा फेरि को विशेष अधिवेशनमा हुनुहुन्थ्यो र को हुनुहुन्नथ्यो भन्ने आधारमा कुनै पूर्वाग्रह हुँदैन। मैले पार्टीका उपसभापति र अरू नेताहरूलाई आग्रह गरिसकेको छु। जुन साथीहरूसँग संवाद गर्ने कुरा हो, हामी संवाद पनि गर्नेछौं, छलफल पनि गर्नेछौं। सबै साथीहरूलाई कुनै पूर्वाग्रह नराखी सहभागी र सम्मिलित गराएर अधिवेशन लिएर जान चाहन्छौं। सबै साथीहरूले मद्दत गर्नुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु।
पार्टीको विशेष महाधिवेशनसँग कतिपय नेताहरूको असन्तुष्टि थियो होला, म मान्दछु। विशेष महाधिवेशनपछि हामीले एक दिनमा १६५ जना उम्मेदवार तय गरेका हौं। त्यो बेला हामीसँग जति सूचना थियो, जति ग्राउन्ड वर्क थियो, विधानअनुसार हामीले निर्णय गर्यौं। हामीले छोटो समयभित्र कुनै पूर्वाग्रह नराखी निर्णय गर्ने प्रयास गर्यौं। हाम्रा निर्णयका केही सैद्धान्तिक आधार थिए। ती आधारमा कोही उम्मेदवार बन्नुभयो, कोही बन्नुभएन होला। उम्मेदवार नबन्ने कुराको सन्दर्भमा म वा नेतृत्वप्रतिको असन्तुष्टि स्वाभाविक पनि होला, त्यो पनि म मान्दछु। तर नेपाली कांग्रेसको क्रियाशील सदस्यले लिँदा सपथ खाएको हुन्छ कि म पार्टीको तर्फबाट उम्मेदवार बनेको व्यक्तिलाई निर्वाचनमा जिताउन समर्पित भएर लाग्नेछु भनेर। मप्रतिको गुनासो होला, निर्णयप्रतिको गुनासो होला तर निर्वाचनमा पार्टीको रुख चिन्ह लिएर उम्मेदवार भएको व्यक्तिलाई मत नहाल्ने वा मत नमाग्ने विषयबारे सम्बन्धित ठाउँका साथीहरूले नै आफ्नो मत बनाउनुहोला। तर पार्टी सभापतिको रूपमा मैले यसलाई नोटिसमा राख्नुपर्छ र राखिसकेको छु। कुनै एउटा निर्वाचन क्षेत्रमा पाँच–छ पटक उम्मेदवार बन्नुभएको नेता मसँग असन्तुष्ट हुनुहोला। तर त्यही निर्वाचन क्षेत्रमा हिजो आफू उम्मेदवार बन्दा झोला बोकेर हिँडेको साथी आज उम्मेदवार बन्दा त्यो निर्वाचन क्षेत्रमा एकपटक मत माग्ने कर्तव्य हुँदैन? त्यो कर्तव्य मैले सम्झाउनुपर्ने वा कसैले सम्झाउनुपर्ने हो। यसबारे पनि म कुनै पूर्वाग्रह राख्दिन। मैले नोटिसमा लिएँ भनेर भनें। पार्टीको अनुशासन समिति छ, उसले विधिसम्मत ढङ्गले आफ्नो काम गर्नेछ।
पार्टीको विशेष महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा निर्वाचनको काम सम्पन्न गर्यो। परिणामको बारेमा धेरै कुरा भइसकेको छ। समयक्रममा यसबारे अन्य कुरा टुंगो लाग्नेछ। महाधिवेशनले यसको समीक्षा गर्नेछ। यो गाडी अगाडि बढ्यो। यो गाडीमा कोही छुट्नुहुन्न। सबैलाई समेटेर लैजाने हो। तर कोही छुट्छु भन्नुहुन्छ भने यो मेरो कुरा होइन। म आग्रह गर्दछु, सबै तहमा बसेका साथीहरूलाई, म सिङ्गो नेपाली कांग्रेस पार्टीको सभापति हुँ। सबैलाई लिएर जाने जिम्मेवारी मेरो हो। सबैसँग संवाद गर्ने उत्तरदायित्व मेरो हो। मेरो टोलीका साथीहरूले मलाई मद्दत गर्नुभएको छ, थप गर्नुपर्छ। सबैलाई समेटेर लैजाने कुरामा सबै साथीहरूले सदा सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि गर्दछु।
हामी आजको बैठकको निर्णयपछि महामन्त्रीले प्रस्ताव राख्नुहुनेछ। तपाईंहरूले लामो समीक्षा गरिसक्नुभएको छ, हामी १६५ क्षेत्रमा गएर समीक्षा गर्नेछौं। त्यसैले यसबारे धेरै छलफल अस्ति भइसकेको हुनाले आजको बैठक छोटो गरौं। केही निर्णय गरौं र अधिवेशनको काममा जुटौं। आवश्यकताअनुसार फेरि थप छलफल गर्नेछौं। यहाँहरू सबैले मलाई गर्नुभएको विश्वासको लागि धन्यवाद दिँदै म देशभरिका साथीहरूलाई अन्तिममा अनुरोध र अपील गर्दछु। नेपाली कांग्रेस पार्टी थप आत्मविश्वासका साथ प्रमुख प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नेछ। राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका निर्वाह गर्नेछ। सुशासनको यो नयाँ अध्यायमा कांग्रेसले देखिने, बुझिने, सुनिने, सबैले महसुस गर्ने गरी आफ्नो भूमिका निर्वाह गर्नेछ। पार्टीको सन्दर्भमा व्यापक सुधार, ग्रान्ड रिफर्मको यात्रा प्रारम्भ भएको छ। यो महाधिवेशन मात्र होइन, यो शुद्धीकरण, सुदृढीकरण र पार्टीको पुनर्जागरणको यात्रा हो। नेपाली कांग्रेस स्थापनाको बेलामा नेताहरूले जुन मूल्य मान्यताले पार्टी स्थापना गर्नुभयो, त्यही मूल्यलाई फेरि समात्नेछौं। एउटा नौजवानले कांग्रेसको कार्यालय हेर्दा ‘यो मेरो पार्टी हो’ भन्ने पार्टी बनाउनेछौं। एउटा विश्वास गर्ने, भरोसा गर्ने पार्टी बनाउनेछौं। यसका निम्ति यहाँ सबैको साथ यसरी नै रहनेछ भन्ने विश्वास गर्दछु। अब १५औं महाधिवेशनतर्फको यो यात्रामा केन्द्रीय समितिको ठूलो जिम्मेवारी छ। यो जिम्मेवारी हामी सबैले निर्वाह गर्नेछौं भन्ने विश्वास राख्दै म आफ्नो कुरा टुंग्याउँदछु। धन्यवाद। जय माता।
सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा चैत १० गते व्यक्त गरेको विचार










Facebook Comments