म बाँचेको छु 

त्यसैले जिन्दगी छ 

ad

आकांक्षारहित बाँच्नेको लागि 

के त्यति नै पर्याप्त छैन र ? 

दुई टुक्रा रोटीका लागि 

दास बनेर उज्यालो खोज्नुपरेन

यो भन्दा ठूलो उपलब्धि के ?

 

मान्छेभित्र बाँचेका संवेदनाहरू

उपयोगिता–व्यापारको दुनियाँदारी 

त्यसमा पिसिएर बनेको संयोजन

उपयोगिता छउन्जेल प्रयोगमा आउने 

त्यसपछि रछ्यानमा फालिने 

भ¥याङ बनेकाहरूको उपयोगिता 

केवल उक्लिन्जेलसम्म मात्र

काँध दिनेलाई उचाइबाट कसरी देख्नु ?

मानव संवेदना कहाँ बाँचेको छ र ?

प्रेममा अन्धो भएर होमिनेहरू

झ्याउँकिरीले टनेलबाट निस्केपछि फ्याकेजस्तो

प्रयोग गरेर फ्याँकिने वास्तुसरह 

फ्याँकिन्छन्

बाँझोलाई फूलबारी बनाउनेहरू धपाइन्छन् ।

 

उक्लेको मान्छे माथि हेरिरहेको

हुटिट्याउँले आकाश हेरेको जस्तो 

अर्को चरणको उचाइको आसरामा 

थप रासनको लागि 

संयोजित शासनको शिखर चढ्न

यस्तै खेलको प्रतिस्पर्धा छ  

खेलाउने अरू, खेलिने यहाँ 

जेमिनी सरकसमा जस्तो

झन्डै खुस्किसकेको ! क्या सन्तुलन मिलायो !!

को चढ्ने ? को खस्ने ?

दारा किट्ने, गालीगलौज, हात हालाहाल !

अनि थपडी बजाउनेहरूको रमिता

फगत रमिताको स्वरूप बदलिरहेको

उस्तै छ शासकको लागि बाँच्नुपर्ने बाध्यता ।

 

हिजोको रमितामा–

शासकको लागि बाध्यतामा बाँचेकाहरू 

अर्काको लागि युद्धभूमिमा लडे 

आजको रमितामा–

मरुभूमिमा पसिना चुहाइरहेका 

समय काल बदलियो 

मुठीभरको आमोदप्रमोदबाट 

मुठी खोलिएको आमोदप्रमोदमा

हिजो भूमि जति सुरक्षित थियो

आजको त्यति नै असुरक्षित भयो । 

 

शक्ति उन्मादहरू–

अर्काका आँखाबाट देख्छन् 

न विदुरको आँखाबाट देखिने युद्धभूमि

जहाँ योद्धाहरू लडिरहेका छन्

न बर्बरीकको आँखाबाट देखिनेल युद्ध 

जहाँ केवल चक्र घुमिरहेको

पापीहरूको लागि पुण्यभूमिको प्रयोग हुने ?

शिखण्डीहरूको बढ्दो बोलकबोल

सस्यश्यामला यो धरा निसासिएको

निरीह आकाश हेरिरहेको

बदलिँदो यो विकृत स्वरूपलाई

स्वप्रतिरोधी रोगजस्तो आफ्नै सम्पदा नाश गर्ने

दास र जिउँदा लासहरूको बिचमा

म अझै बाँचेको छु ।