डा. ध्रुवचन्द्र गौतम

वसन्त चौधरी उद्योगबाहेक धेरै समयदेखि कवि, गीतकार र गजलकारका रूपमा पनि नेपाली साहित्यमा सुपरिचित छन् ।  ‘नर्भिक’ अस्पताल एक सेवामूलक संस्थाका रूपमा उनले सञ्चालन गरेका छन् । उनी श्री लूनकारणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिरका पनि संस्थापक हुन् । यो संस्थाबाट कैयौँ, साहित्य, कला, नाटकका साधकहरू पुरस्कृत भइसकेका छन् । 

सर्वनाममा एकल कविता वाचन र विश्व काव्य यात्राको अभियान उनका थप उपलब्धि हुन् । एक कविता संग्रहको ९ भाषामा अनुवाद प्रकाशित गरेर उनले कीर्तिमानी काम गरेका छन् । 
कवि र गीतकारका रूपमा, उनी एक संवेदनशील भावुक व्यक्ति देखिन्छन् भने, साहित्य र समाज सेवाका रूपमा पनि उनलाई धेरैले चिन्छन् ।  वसन्त चौधरीलाई, प्रेम कवि पनि भन्दछन् । कवितामा उनको अभिव्यक्ति प्रायः प्रेम र शृंगार मिलन र विछोड आदिका विभिन्न रूप प्रस्तुत गर्दछन् । 

ad

तिनै वसन्त चौधरी अब एक भिन्न रूपमा साहित्यमा प्रकट भएका छन्, देवयानी लिएर । ‘देवयानी उनको प्रथम उपन्यास र नवीनतम कृति हो । देवयानी पनि एक प्रेमकै उपन्यास हो, तर फरक विषय र प्रेमको ज्यादै कम लेखिएको कथा स्वरूपका रूपमा देखा पर्दछ । प्रस्तुत छ, वसन्त चौधरीको प्रथम र नवीनतम उपन्यास देवयानीको थालनीको एक अंश :

लामो अस्वस्थतापछि आदित्य घरमै बस्न थालेका छन् । कुन्नि केही गुम्फनु त छ उनीभित्र जो विस्तारै मर्दै छ । निराश छन्, उनी । भित्रभित्रै निस्सासिएको महसुस भइरहेछ । लामो समय भयो, उनी अफिस जान छोडेको । आफ्नो शयनकक्षको झ्यालअगाडि राखिएको रकिङ चेयरमा ढल्किएर घन्टौँ बाहिर हेर्दै टोलाइरहनु नै उनको दिनचर्या भएको छ, यतिबेला । 
सधैँझैँ अहिले पनि उनी अनिद्रा शुष्क आँखाले भित्तामा झुन्डिएको बडेमानको पेन्टिङ एकटक हेर्दै छन् । जसमा अँध्यारो गुफाभित्र बलेको आगोका लप्काहरूले एउटा आकृति भस्म पार्न खोज्दै छ । ध्यानमग्न उनी आफ्नै सुरमा पेन्टिङतिर हेर्दैहेर्दै टोलाइरहेका छन् । 

बिहानको १० बज्दै थियो । कोठामा कतिबेला अदिति र आराध्य प्रवेश गरे ? उनले पत्तो पाएनन् । अदितिले स्नेहपूर्वक नातिनीलाई आफूतिर ताने र माया गरे । हेर्दाहेर्दै उनी पनि १० पुगेर ११ वर्ष लागिसकिन् । समय कति चाँडो बितेर जाँदोरहेछ, पत्तै नहुने । आदित्यले सोचे– एउटै हो समय तर कसैलाई यसले दुखाउँछ, कसैलाई हँसाउँछ, कसैलाई जन्माउँछ, कसैलाई रुवाउँछ । यसको चक्र पनि विचित्रको हुन्छ– अनुमान, अड्कल वा आकलन गर्न नसकिने । अनि उनी फुल्दै गएका आफ्ना केशमा औँला चलाउँदै सोच्न थाले– जीवन पनि त बुढ्यौलीतिर घस्रिँदै छ । हिजोजस्तो लाग्छ आफूलाई तर जीवनमा कति घटना घटिसके ।

आदित्य कल्पनाकाशमा उडेर फेरि फर्के आफैँतिर उनी आँखा चिम्म गरी छोरी र नातिनीलाई पाखुरामा बेरेर एकछिन ध्यानस्थ भए ।  प्रत्येक हप्ता आदित्यलाई आउनु अदितिको कार्यतालिका भइसक्यो । आफिस र घरमा भएका सात दिनका हरेक गतिविधिका बेलीविस्तार लगाउँछिन् उनी, आदित्यलाई आज पनि बताइरहेकी थिइन् । आदित्य सुनेझैँ गरिरहेका थिए, तर उनको ध्यान अन्तै कतै भएको आभास पाएपछि अदिति चुप लागिन् । उनले बुझिसकेकी थिइन्– आज ड्याडी मुडमा हुनुहुन्न मेरा कुनै कुरा सुन्ने चाहना छैन उहाँलाई । उनका लागि यो नौलो कुरो होइन । 
यस्ता सिचुएसन फेस गरिरहेकी थिइन् अदिति । गल्दै गएको बुवाको शरीर देखेर उनका आँखा रसाउँछन् । उनी चुपचाप आदित्यको हात समातेर बस्छिन् । सम्भवतः उनी बुवालाई ढाडस दिन खोज्दै थिइन्– ड्याडी । सब ठीक हुन्छ । हजुर चिन्ता नलिनू । 

आदित्यले सोचे चाहेर कसैले लिन्छ र चिन्ता ? संसारमा सायद कोही हुँदैन जानीजानी आफैँलाई दुःखित तुल्याउने । राजा होस् कि रंक, सदैव सुखी र खुसी नै हुन चाहन्छ मान्छे । 
तर, नियतिको परिणति भगवान्ले त बदल्न सकेनन् भने म त जाबो मनुवा । जसरी भगवान् कृष्णले चाहेर पनि महाभारत युद्ध रोक्न सकेनन् त्यसरी नै आदित्यले आफ्नो जीवनमा रोक्न नसकेको युद्ध सम्झँदा पनि नमीठो अतीतको वितृष्णाले मृदु छोपेर जान्छ । अनायासै उनका आँखाका डिलबाट आँसुका थोपा तपतपी खस्छन् । हो, उनको अतीत पनि त्यही आँसुजसरी नै बगेर गएको थियो । 
सोच्दासोच्दै उनी झल्याँस्स भएर यथास्थितिमा फर्किए । अदिति उसैगरी उनको अँगालाबाट चिहाएर आँखामा परिवर्तित विभिन्न भाव नियाल्दै थिइन् ।  आफ्नै धुनमा डुबेका आदित्यलाई अदिति र आराध्याको उपस्थिति पुनः बोध हुन एकछिन लाग्यो । निकै बेरपछि अदितिले उठ्दै भनिन्– ‘ड्याडी ल म गएँ है ! ज्वाइँ पनि घरमा एक्लै हुनुहुन्छ । म फेरि आइहाल्छु नि !’

अदिति र आराध्या कोठाबाट बाहिर निस्किएर अलप नभएसम्म आदित्यका आँखाले उनीहरूलाई निर्नीमेष पछ्याइरहे । उनी निन्द्राबाट पूर्णतः फर्किसकेका थिए । त्यहीबेला माधवीले अदिति र आराध्यालाई बोलाएको चर्काे आवाज उनको कानमा ठोक्कियो र क्रमशः सुस्त हुँदै गयो । आदित्यले लामो उच्छ्वास छोडे । आँखा चिम्म गरेर केहीबेर नितान्त शून्यमा हराए र फेरि पूर्ववत् चेतनामा फर्के ।

अनि कम्पित हातले कलम समाते–
सम्झनाका हालहरूसँगै
छल्किएर
तिमी अनयास
जब एकान्तमा
सुटुक्क आउँछ्यौ,
अनि लाग्छ
फेरि सुन्दर अतीतका पाना 
फरफराउन थालेछन् ।