
लोकेश ढकाल
मौसमका हिसाबले पौष महिना सबैभन्दा चिसो महिना हो । तर राष्ट्र र राष्ट्रियताको दृष्टिले यो महिना सबैभन्दा न्यानो र गौरवपूर्ण महिना हो, तर पौष १ गतेबाहेक । ८ पौष नेपालको महान् राष्ट्रवादी एवं प्रजातन्त्रवादी सन्तनेता कृष्णप्रसाद भट्टराईको जन्म दिन हो । १६ पौष राष्ट्रिय एकता एवं मेलमिलापको नीति लिएर राजनेता बीपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंहसहित प्रतिबन्धित नेपाली कांग्रेसका सयौँ नेता तथा कार्यकताहरू ८ वर्ष लामो भारतको स्व–निर्वासनको जीवनलाई परित्याग गर्दै नेपाल फर्किएको विशेष दिन हो भने २७ पौष वर्तमान नेपाल राष्ट्रको निर्माता बडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म–जयन्ती हो ।
नेपाली कांग्रेसले आफ्ना संस्थापक एवं महान् प्रजातन्त्रवादी एवं राष्ट्रवादी लोकप्रिय नेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्म–जयन्ती पौष ८ गते कहीँकतै सम्मानमा कार्यक्रम गरेको, श्रद्धाञ्जली दिएको सुनिएन । पौष १६ लाई पनि नेपाली कांग्रेसले यसरी नै वर्षौंदेखि अनादर गर्दै आएको छ । वर्तमान कांग्रेसको नेतृत्व पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माता नै मान्दैन, किन २७ पौषमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाइरहन्थ्यो । त्यसैले त नेपाली कांग्रेसको राष्ट्रियताको धार भुत्ते भएको छ । सत्ता स्वार्थबाट अभिप्रेरित भएर वामपन्थीहरूसँगको ज्यादा लसपसले त्यसै पनि प्रजातन्त्रप्रतिको अडान र विश्वासको धार त यसै कमजोर भएकै छ ।
राष्ट्रको गौरवशाली दिनको यसरी स्मरण वा चर्चा गरिरहँदा वर्तमान राष्ट्रिय राजनीति भने सुगौली सन्धिपछि सबैभन्दा संकटको घडीबाट जुज्रिरहेको छ । आठ दशक लामो गौरवशाली इतिहास भएको देशको प्रमुख प्रजातान्त्रिक दल एवं राष्ट्रिय शक्ति नेपाली कांग्रेस पनि सबैभन्दा कठिन दौरबाट गुज्रिरहेको छ । १२ बुँदे समझदारी र संविधानसभाबाट संविधान निर्माणको चरणमा नेपाली कांग्रेसले आफ्ना स्थापनाकालीन राजनीतिक अडान र सिद्धान्तविपरीत सत्तास्वार्थबाट प्रेरित भएर सम्झौताको राजनीति गर्दै आएको र कमजोर नैतिक शक्ति भएको अक्षम नेतृत्वको कारण नै नेपाली कांग्रेस कमजोर बन्दै गएको हो ।
हामीले गम्भीरतापूर्वक सोच विचार नगरी परम्परागत राष्ट्रिय शक्ति राजसंस्थालाई फाल्यौँ । अर्को प्रमुख राष्ट्रिय शक्ति नेपाली कांग्रेस समेत कमजोर भएपछि देशको राष्ट्रियता त कमजोर हुने नै भयो । जो बाहिरिया शक्तिहरूले चाहिरहेका छन् ।
देशको यस्तो चुनौतीपूर्ण राजनीतिक घडी र स्वयं दिशाहीन कांग्रेसमा महाधिवेशनलाई लिएर फेरि तीव्र द्वन्द्व सुरु भएको छ । पार्टीभित्र आफ्नो राजनीतिक मुद्दालाई स्थापित गर्न राजनीतिक दबाब दिने उद्देश्यले हुनुपर्छ – दुईजना महामन्त्रीले निर्वाचन अगाडि पार्टीको महाधिवेशन नभए आसन्न प्रतिनिधिसभा सदस्य पदमा निर्वाचन नलड्ने घोषणा गरेका छन् । यो उनीहरूको घुर्की हो कि राजनीतिक अडान त्यो त उनीहरूको भविष्यको राजनीतिक कदमबाट स्पष्ट हुँदै जाला तर गत महाधिवेशनमा अत्यधिक मतका साथ महामन्त्री बनेका दुई महामन्त्री भाइहरूको महामन्त्री पदको जिम्मेवारी वहन आशालाग्दो बन्न सकेन । यिनको भूमिकाले यिनीहरू नेविसंघको महामन्त्री हुन् कि कांग्रेस पार्टीको महामन्त्री हुन् छुट्याउन गाह्रो भइरहेको छ । कथित संस्थापन पक्षको कुरा पनि के गर्नु ? संसद्को निर्वाचनपहिले महाधिवेशन गर्नैपर्ने पक्षधर र निर्वाचनपछि महाधिवेशन भन्ने पक्षधर दुवैको हठ र अडानमा देश र पार्टीको भविष्यप्रति चिन्ता र चिन्तनभन्दा आफ्नो राजनीतिक स्वार्थबाट प्रेरित भएर आएको अडान हो ।
बितेको भाद्र २३ र २४ को अकल्पनीय राजनीतिक दुर्घटनापछि पनि नेपाली कांग्रेससहित देशका प्रमुख राजनीतिक दलहरूमा कुनै चेत खुलेको छैन, राजनीतिक गम्भीरता देखिएको छैन । २३, २४ को घटनालाई कांग्रेस र एमालेको नेतृत्वले केवल एउटा राजनीतिक षड्यन्त्र वा सामान्य दुर्घटनाको रूपमा लिएका छन् । त्यसैले त उनी प्रतिनिधिसभा पुनस्थापना माग राखेर अदालतमा रिट गर्दा गर्न पुगेका छन् । संविधान निर्माणका क्रममा षड्यन्त्रको तहमा परम्परागत राजनीतिक शक्तिलाई किनारा पारेर संविधान निर्माण गरेको, संविधान निर्माणका क्रममा जनताको भावनाविपरीत जबरजस्तीसँग अंगीकार गरिएका विषयमाथि पुनर्विचार गरेर भावी राजनीतिक दिशा स्पष्ट हुने गरी बृहत् राजनीतिक सहमति निर्माण गरेर संवैधानिक जटिलताको निराकरणका लागि केही समयका लागि संसद् पुनस्र्थापना गरेको भए संसद् पुनस्र्थापनाको औचित्य रहन्थ्यो, तर त्यसो नगरी केवल कसैलाई प्रधानमन्त्री बन्नकै लागि संसद् पुनस्र्थापनाको बाटोमा गएको हो भने त्यसले अर्को राजनीतिक दुर्घटना निम्त्याउने पक्का छ ।
सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न अग्रसर भएको त देखिन्छ, तर भगौडा कैदी र लुटिएका हतियार निर्वाचनका लागि चुनौतीको रूपमा रहेको देखिएको छ भने मूलधारका दलहरू चुनावप्रति ओठे प्रतिबद्धता देखाए तापनि संसद् पुनस्र्थापनाको मीठो सपना बोकेर बसेका पार्टी नेतृत्वपंक्ति चुनावउन्मुख देखिएका छैनन् ।
तोकिएको मितिमा निर्वाचन भयो र निर्वाचित सरकार बहाली भयो भने वर्तमान संवैधानिक जटिलताको अन्त्य हुने विश्वास लिइएको छ तर त्यतिले मात्र देशको राजनीतिक जटिलता र समस्याको समाधान हुने छैन । राजनीतिक समस्या त भाद्र २३ अघि पनि थियो । देशको राजनीतिमा विगतमा गरिएको धोखा र गल्तीबाट सिकेर सबै राष्ट्रवादी एवं प्रजातान्त्रिक शक्ति एक ठाउँमा उभिएर दीर्घकालिन राजनीतिक समाधान नखोज्ने हो भने निर्वाचन गरेर वा संसद् पुनस्र्थापना गरे वैधानिक सरकार गठन गर्दैमा दीर्घकालीन राजनीतिक स्थायित्व हुने छैन । स्वाभाविक रूपमा २०८४ सालमा हुने संसद्को निर्वाचन ०८२ सालमा हुँदैमा देशको राजनीतिक समस्याको समाधान हुने होइन । निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकार बन्दैमा सबै समस्याको समाधान हुने भए निर्वाचित सरकार पनि थियो, संसद् पनि थियो, किन भाद्र २३ र २४को दुर्घटना भयो, त्यसको समुचित उत्तर नआएसम्म, त्यसको सम्बोधन नभएसम्म चुनाव हुनुले मात्र पनि देशको राजनीतिक संकटको समाधान हुने छैन ।
भाद्र २३ र २४ को घटना पछि विकसित विशेष राजनीतिक परिस्थितिमा संविधानभन्दा बाहिरबाट प्रधानमन्त्री बनेकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीको नेतृत्वमा निर्वाचन गराउने प्रमुख जिम्मेवारी लिएर खडा भएको सरकारको वैधानिकतामाथि एकातर्फ सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ भने स्वयं सरकारले आफ्नै दैनिक कमजोर डेलिभरी, राजनीतिक दलहरूको विश्वास लिन नसकेको अवस्था, निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसक्नु, राजनीतिक दललाई पर्वाह नराखी एकपक्षीय ढंगले जेन–जी समूहसँग गरिएको अवाञ्छित विवादास्पद सम्झौता आदि कारणले सरकार स्वयंले आफ्नो हैसियत र विश्वसनीयता गुमाउँदै गएको छ । यस्तो अवस्थामा यो सरकारले तोकिएको मितिमा चुनाव गराउँछ भनेर विश्वास गर्ने आधार बनिसकेको छैन ।
२३, २४ भाद्रको राजनीतिक दुर्घटना केवल संयोग मात्र होइन । श्रीमती कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि मात्र त्यो घटना घटित भएको अवश्य छैन । त्यो नखुलेको अदृष्य शक्तिले नेपाली राजनीतिमाथि के गर्न खोज्दै छ त्यो पनि गर्भमा नै छ तर त्यो कुनै बाह्य शक्तिको नियोजित घटना हो भन्नेमा सन्देह छैन । नेपाली राजनीतिक यसै पनि भू–राजनीतिक जटिलतामा फसिसकेको छ । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने र राजनीतिलाई सही बाटोमा लगाउन सक्ने राजनेता देशमा भएन । देशको एउटा न्युट्रल राष्ट्रवादी परम्परागत शक्ति राजसंस्थालाई बाह्य चाहनामा उखेलेर फाल्यौँ र विदेशीलाई नेपाली राजनीतिमा खेल्न सजिलो बनाइदियौँ ।
विगतमा दरबारले ढंग नपु¥याएकै हो । मौका पाउँदा राजाले पनि मिलाउन सकेनन् नै । तर त्योभन्दा ज्यादा देश आजको जटिल राजनीतिक अवस्थामा आइपुग्नुको प्रमुख जिम्मेवार दल वा राजनीतिक शक्ति नेपाली कांग्रेस पार्टी नै हो भन्नेमा कुनै सन्देह छैन । प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा कांग्रेसले नेपाली कांग्रेसले आफ्ना स्थापनाकालीन सिद्धान्त र बीपी कोइरालाले नेपाली राजनीति र कांग्रेसकै लागि निर्धारण गरिदिनु भएको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’ चटक्कै छोडेर सम्झौताको राजनीतिको गरेको कारण नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो स्थापित नेतृत्वदायी गुमाउँदै गएको हो र देशको राजनीति यो चिन्ताजनक स्थितिमा आइपुगेको हो ।
जवसम्म कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्वाणको चरण हुँदै यहाँसम्म आइपुग्दा पार्टीबाट भएको नीतिगत एवं सैद्धान्तिक गल्तीउपर निर्मम समीक्षा गरेर आफ्नो राजनीतिक रोड करेक्सन गर्न तत्पर रहँदैन, महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्दैमा मात्र कांग्रेस अगाडि बढ्न सक्दैन । शान्ति प्रक्रिया र संविधान निर्माणको जश र स्वामित्व लिन खोज्दाखोज्दै पनि कांग्रेस पार्टीलाई जनताले दण्डित गरेको प्रमुख कारण भनेकै वैचारिक विचलन नै हो भन्ने कुरामा कांग्रेस नेतृत्वले अहिलेसम्म महसुस गरेको वा आत्मसमीक्षा गरेको छैन । कांग्रेसको प्रमुख सैद्धान्तिक आधार भनेकै यसको राष्ट्रवादी एवं प्रजातान्त्रिक प्रणालीप्रतिको अटल विश्वास थियो । सिद्धान्त छोडेर सत्ताको पछाडि मात्र दगुर्दा आज कांग्रेसको राष्ट्रवाद र प्रजातन्त्रप्रतिको सैद्धान्तिक आधारको जग नै हल्लिएको छ, कमजोर भएको छ । राष्ट्रवादी एवं प्रजातान्त्रिक दुवै सैद्धान्तिक धार भुत्ते भएपछि नै कांग्रेस कमजोर बन्दै गएको हो । विशेष गरेर १२ बुँदे दिल्ली सम्झौतापछि सत्ता र शक्तिका लागि आफ्नो परम्परागत विचारलाई छोड्दै वामपन्थी कित्तातर्फ ढल्केकै कारण कांग्रेसले आफ्नो राजनीतिक शक्ति गुमाएको हो । त्यसैगरी यसका नेताहरू व्यवहार र आचरण शुद्ध रहन सकेन । कांग्रेसीहरू भ्रष्टाचारमा डुब्न थाले । पार्टीको तलदेखि माथिसम्मको नेतृत्व यस्तै भ्रष्ट चरित्रका व्यक्तिको कब्जामा पुग्यो । विचारको दृष्टिले पार्टी एक प्रकारले टाट पल्टिसकेको अवस्थामा पुग्यो । सदाचार, आदर्श, मूल्य मान्यता केवल किताबमा सीमित भयो । पार्टी व्यापारी, बिचौलिया, ठेकेदार आदिको कब्जामा पुग्यो सामान्य इमानदार राजनीतिकर्मीले अब राजनीति गर्ने, चुनाव लड्ने भन्ने विषय इतिहास भयो । यसतर्फ कसैको ध्यान छैन । केवल पार्टी नेतृत्व कब्जा गर्न विशेष महाधिवेशन र नियमित महाधिवेशन भनेर एकोहोरो कुर्लिएका छन् ।
कांग्रेसले हाम्रो राजनीतिक परम्परा के हो ?, सैद्धान्तिक आधार के हो ?, हाम्रो राजनीतिक (क्षेत्र) कन्टिट्युएनसी कुन हो ? भन्ने कुरालाई चटक्कै बिर्सियो वा सत्ताको नसामा डुबेर जानी–नजानी वामपन्थी भाषमा फस्न पुग्यो । प्रजातान्त्रिक मूल्यमा कांग्रेसभन्दा घोर क्रान्तिकारी पार्टी अर्को छैन तर वर्तमान राजनीतिकको समग्रतामा नेपाली कांग्रेस देशको कन्जरभेटिभ राजनीतिक शक्ति हो । त्यो कन्जरभेटिभ राजनीतिक कित्तालाई आँखा चिम्लेर छोड्यौँ अर्काको अर्थात् वामपन्थी कित्तामा हामफाल्यौँ जुन कित्ता कांग्रेसको हुँदै होइन, त्यसैले जनताले कांग्रेसलाई पत्याएनन् । आफ्नो परम्परा र मौलिकता भुलेर हामी कम्युनिष्ट क्रान्तिकारीजस्तै बन्न खोज्दा सिद्धान्त र विचारका दृष्टिले न घरका भयौँ न घाटका ।
कांग्रेसले आफ्नो मौलिक सिद्धान्त र विचार छोडेकै कारण, पार्टी वैचारिक विचलनमा परेकै कारण निष्ठावान कार्यकर्ता नेपाली कांग्रेस र यसको नेतृत्वप्रति निराश बन्दै गएका छन् । जसको परिणाम क्रियाशील सदस्यता नवीकरण गर्न उदासीन भएका छन् र नयाँ सदस्यता लिन पनि कुनै आकर्षण छैन । कांग्रेसमा विचार र सिद्धान्तले खडा भएका कार्यकर्ताभन्दा नेता विशेषका गुटका पछौटे र झोलेहरूको भीड छ । तलदेखि माथिसम्म बिचौलिया र गुण्डा प्रवृत्तिको बिगबिगी छ । इमानदार राजनीति परै मरेको अवस्था छ । यस्तो अवस्थामा त्यो कांग्रेसको भिडमा भित्र कांग्रेस खोज्नुपर्ने अवस्था आएको छ । के सोचेर कांग्रेस पार्टीमा लागियो, सिूंगो जीवन समर्पण गरियो ? तर आज निष्ठावान् कार्यकर्तालाई कांग्रेस हुनुको औचित्य खोज्नुपर्ने अवस्था छ ।
जबसम्म कांग्रेसमा बीपी, किसुनजी, गणेशमान, सुवर्ण शमशेर, सूर्यप्रसाद आदिको सम्मान हुँदैन, पार्टीको स्थापनकालीन सिद्धान्त र राष्ट्रिय एकता र मेलमिलापको नीतिको अधिनमा पार्टीमा वैचारिक पुनर्गठन हुँदैन, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, निर्वाचन प्रणालीउपर निर्मम समीक्षा गदै जनभावनाबमोजिम राजनीतिक रोड करेक्सन गर्न तयार हुँदैन, विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर, जोसुकै सभापति बन राष्ट्रिय राजनीतिमा कांग्रेसको औचित्य पुनस्थापित हुन सक्दैन ।
जय नेपाल !










Facebook Comments