–प्रकाशचन्द्र खतिवडा
 
किन लेख्ने कविता ? 
कविता कुनै जादु हो र ? 
अपमान बेहोरेर 
एउटा कवि कविता लेखिरहेछ किन ? 
उसलाई जिउँदो लास बनाएर                                                
 
एकहुल मान्छेहरू 
ताली पड्काउँछन् किन ? 
 
उसले मानवताको कविता लेख्न पाउने छैन
उसले न्यायको कविता लेख्न पाउने छैन 
उसले समानताको कविता लेख्न पाउने छैन 
कविता लेख्नु कविको धर्म हो 
कविता लेख्नै नपाउने निरंकुुशता लादेर
तिमीहरूले आफूलाई सुरक्षित नठाने हुन्छ 
कवि परिवर्तन र मुक्तिको कविता लेख्छ 
उसलाई लेख्न देऊ कविता 
कविता लेख्दैमा कवि कसैको शत्रु नहुन सक्छ ।
 
उसलाई अराजकको बिल्ला भिराएर 
मरणासन्न हुने गरी कोर्रा हानिएको छ 
कविमा विचलन आएको छैन 
तिम्रो यातना ऊ सहजै पचाइदिन्छ 
उसले मुक्तिको कुरा गर्दा 
तिमीहरू दासत्वको कुरा गर्छौ 
उसले स्वतन्त्रताको कुरा गर्दा 
तिमी बन्धनको कुरा गर्छौै 
यात्रा फरक भए पछि 
राम्रै कविता लेख्दा पनि 
तिमीहरू कविलाई विद्रोही नै देख्छौ । 
 
प्रतिशोध नसाँध कविमाथि
उसको बोलीमा अंकुश लगाएर 
कविलाई ठेगान लगाइएकै छ भनी 
तिमीहरू मस्तसँग नसुत 
तिमीहरू सुतेको मौका छोपी 
कवि जुलुसमा सामेल हुन्छ 
उसलाई समातेर बाँध 
पाता फर्काऊ 
हत्कडी लगाएर 
उसलाई गिरफ्तार गर 
र यातना शिविरमा लैजाऊ 
कवि मारिन तयार छ 
यदि ऊ मर्दा दासत्वका पर्खाल ढल्छन् भने 
उसलाई आत्मासमर्पण गराउने कोसिस नगर 
ऊ आत्मासमर्पण नगर्ने भएको छ 
सक्छौ मृत्युदण्ड देऊ 
सक्दैनौ आजीवन कारावासमा कोच । 
 
आवाजहरू बन्द गरेँ भन्ठानेर 
तिमी आफूलाई सुरक्षित नठान 
तिम्रा वैभवहरू भत्कन सक्छन् 
तिमीलाई कल्ले दिन्छ सुरक्षा कवच ? 
सिंगै जुलुस तिमी माथि खनिएपछि । 
 
नठान कवि जेलमा छ 
उ जेलमै सड्छ भनी 
ओ महाशय !
जुलुस त तिमीतिरै आइरहेछ 
सुरक्षित रहन सक्छौ ? 
जुलुसभित्रै कविता लेखिरहेछन दर्जनौँ कविहरू । 
 
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
      ९८४२०७३५२५
kpchandra2023@gmail.com

 

ad