लोकराज अवस्थी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चर्चापरिचर्चासँगै नेतृत्वको बारेमा पनि बहस हुन थालेको छ । तेस्रो कार्यकाल सभापति बन्न वर्तमान सभापति शेरबहादुर देउवालाई विधानले नै रोकेपछि नयाँ नेतृत्व कसले समाल्छ भन्ने कौतुहलता आमकांग्रेसीजनमा देखिन थालेको छ । हुन त नेपाली कांग्रेसभित्र पार्टीलाई नेतृत्व गर्न सक्नै कयौँ नेताहरू छन् । लामो इतिहास भएका, पार्टीमा लामो समयदेखि योगदान दिएका वा वैचारिक स्पष्टता भएका नेताहरूको कमी छै्रन । तर, पार्टी इतिहासको कठिन मोडमा रहेको छ । पार्टीहरूप्रति अविश्वास बढिरहेको छ । संघीय लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठिरहेको छ । यस्तो कठिन अवस्थामा परिपक्व र समन्वयकारी नेतृत्वको खोजी कार्य हुनु स्वभाविक हो । 

ad

नेपाली कांग्रेसका नेताहरूमध्ये सक्षम नेतृत्व, सरल बोली, समन्वयकारी व्यवहार, स्पष्ट विचार र साधारण जीवनशैलीको आधारमा डा. शेखर कोइराला सबैभन्दा बढी भरोसायोग्य नेता मान्न सकिन्छ । उनले पार्टीभित्रको कमीकमजोरीदेखि लोकतान्त्रिक प्रणालीका खराब पक्षहरूलाई उजागर गरी समाधानका लागि विचारहरू प्रवाह गरिरहेका छन् । पार्टीभित्र शेखर कोइराला निरन्तर वैचारिक बहस गरिरहेका छन् । बहस चलाइरहेका छन् । र, पार्टीको लक्ष्यउन्मुख विचारलाई मूर्त रूप दिन अगुवाइ गरिरहेका छन् । यसकारण नेतृत्व चयनको बहससँगै १४औँ महाधिवेशनका उपविजेता तथा लोकप्रिय नेता डा. शेखर कोइरालाको चर्चा पनि चुलिएको छ ।

डा. शेखर कोइराला नै किन भन्ने प्रश्न उठ्ला । उठ्छ पनि, जुन स्वाभाविक पनि हो । तर हालसम्म पार्टीभित्र अहिलेसम्म न दागिएको र जिम्मेवारीमा नबसेको नेता डा. शेखर कोइराला हुन् । उनी विचारका हिसाबले भनाँै वा नेतृत्व हिसाबले अब्बल नेता हुन् । उनीमा पार्टीका सबै तहका नेताहरूसँग समन्वय गर्न सक्ने तथा वैचारिक रूपमा पार्टीलाई अघि लैजान सक्ने क्षमता देखिन्छ । अहिलेसम्म निश्कलंक छवि भएकाले शेखर कोइरालालाई नेतृत्व हस्तान्तरण गर्दा सबैलाई न्याय नै हुन्छ । नेता तथा कार्यकर्तालाई पाच्य पनि हुन्छ । स्वीकार्य पनि हुन्छ । जुन पार्टीका लागि स्वभाविक पनि हुन्छ । 

अर्को कुरा पार्टीभित्र एक्ला प्रतिपक्ष डा. शेखर कोइरालामा देखिएका छन् । पार्टी विधि र विधान अनुरूप चल्नुपर्छ भन्नेमा उनी प्रारम्भदेखि नै स्पष्ट रहँदै आएका छन् । उदाहरणका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले २०८२ को मंसिरभित्र नेपाली कांग्रेसको १५औँ महाधिवशेनको माग गरेको एक वर्ष नौ महिना पुगेको छ । महाधिवेशनको मागसँगै उनले बेलैमा महाधिवेशन नभए पार्टी संकटमा फस्नेछ पनि भनेका थिए । दुर्भाग्यको कुरा, नेपाली कांग्रेस मंसिर नआउँदै सकंटमा फस्यो । १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा नेतृत्वमाथि प्रश्न उठ्यो । जेन्जी आन्दोलनपछि पार्टी झनै संकटग्रस्त भयो । डा. कोइरालाले उठान गरेको विषय र नीति सत्यतामा परिणत भयो । एक वर्ष नौ महिनाको बीचमा डा. कोइरालाले प्रायजसो, सबै सार्वजनिक कार्यक्रममा पार्टी नेतृत्वको ध्यानकर्षण गराएका थिए । 

डा. शेखर कोइरालाले यो भन्दा अघिल्लो नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा लिखित रूपमै २०८२ मंसिर भित्र १५औँ महाधिवेशन हुनुपर्ने माग राखेका थिए ।  उनले पेस गरेको विषय कुनै पनि पदाधिकारी तथा केन्द्रीय सदस्यले गहन रूपमा लिएनन् । त्यो केन्द्रीय कार्यसमितिमा छलफलको विषय नै बनाएनन् । त्यो बैठक पूर्ण रूपमा सत्ता समीकरण केन्द्रित बन्यो । पद गुम्ने डर र मन्त्री बन्न नपाउने लोभमा सबैले पार्टीको महाधिवेशनभन्दा पनि सत्ता टिकाउने विषयमा केन्द्रित रहे । जानीजानी पार्टीमा खुला बहसलाई निस्तेज बनायो । 

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टीमात्र हैन, खुला विचार प्रणाली भएको पार्टी पनि हो । सडक आवाज सुन्ने अनि सम्बोधन गर्ने नेपाली कांग्रेसको राजनीतिक चरित्र हो । तर पछिल्लो समयमा नेपाली कांग्रेस जनताबाट टाढिँदै गए । नागरिक संवाद पातलिँदै गयो । पार्टी सीमित मान्छेको साँघुरो घेराभित्र रहन पुग्यो । खुला तथा पारदर्शी छलफललाई छोडेर गुटगत र बन्द कोठामा सीमित रहन पुग्यो । जसले पार्टीको लोकतान्त्रिक आचारणमाथि अविश्वास बढ्यो । त्यसको पछिल्लो उदाहरण हो, जेन्जी आन्दोलन हो । 

डा. शेखर कोइरालाले गत भदौ २२ गते जेन्जी आन्दोलनलाई सम्बोधन गर्न सरकार तथा पार्टीलाई आग्रह गरे । आफू जेन्जीका जायज मागहरूलाई समर्थन गर्ने सामाजिक सञ्जालमार्फत प्रतिबद्धता जनाएका थिए । तर, नेपाली कांग्रेसले युवाहरूले सुशासन र सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन गरेको मागलाई नसुनेझैँ गर्यो । उल्टै, अभिव्यक्ति स्वतन्त्रताको माध्यम बनेको सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई नेपाली कांग्रेस वैधता दिनतिर लाग्यो । जुन लोकतान्त्रिक पार्टीका मूल्य मान्यता तथा सिद्धान्तविपरीत हो । 

डा. शेखर कोइरालाले लगातार उठाएको अर्को विषय सुशासन र पारदर्शिता हो । स्थानीय तहदेखि केन्द्रसम्म हुने गरेको बेथिति तथा भ्रष्टाचार न्यूनीकरणका लागि नयाँ कानुन बनाउनुपर्ने विषयमा बोल्दै आउनुभयो । सरकारले दिने सेवा सुविधा तथा सहुलियतमा बिचौलियाको प्रभावले सेवाग्राही मर्कामा परेको विषय बारम्बार उठाए । पार्टीभित्र तथा पार्टीबाहिर सुशासन र सरकारले दिने सेवा प्रभावकारी नभएको विषयलाई मूल मुद्दा बनाए । तर नेपाली कांग्रेसले न त, त्यस विषयमा पार्टीभित्र गम्भीर बहस गर्न सक्यो । न त, आफू संलग्न सरकारबाट नागरिकमुखी सेवा दिन सक्यो । उल्टो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउमा लाग्यो । आमनागरिकले निकै आशा गरेको एमाले कांग्रेसको दुईतिहाइ सरकार पनि राजनीतिक खिचातानीमै अड्कियो । आमानगरिकले प्रभावाकारी सरकार भएको अनुभव गर्न सकेनन् । जसको कारण एमालेसँगै कांग्रेस पनि बदनामी हुन पुग्यो ।  

अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनको समय र नेतृत्व कहिले र को हुन्छ भन्ने प्रसंग मूल हो । महाधिवेशन डा. शेखर कोइरालाको मागअनुसार यही पुस २६ देखि २८ सम्मभित्र हुने भएको छ । पहिले उनले मात्र माग गरे पनि जेन्जी आन्दोलनपछि एकाएक पार्टीभित्र महाधिवेशनको माग जबरजस्त उठ्यो । सँगसँगै विशेष महाधिवेशनको विषयले पार्टीभित्र प्रवेश पायो । हस्ताक्षर अभियान सुरु भयो । र, विशेष महाधिवेशनको मागसहित पार्टीमा दर्ता पनि गरियो । विशेष महािधवेशनको प्रस्तावले पार्टीभित्र नयाँ तरंग र विवाद सिर्जना ग¥यो । 

संस्थापन पक्ष संसदीय निर्वाचनपछि र विशेष महाधिवेशन पक्षधर यही पुसभित्र गर्नु पर्ने अडानले पार्टीको बैठक दुई महिनासम्म लम्बियो । तर डा. शेखर कोइरालाले सुल्झाएको वा विगतदेखि उठाउँदै आएको नियमित महाधिवेशनको मंसिरको सट्टा पुसभित्र गर्ने सहमति भयो । पुसभित्र विशेष नभई नियमित महाधिवेशन गर्ने विषय वा कसरी गर्ने भन्ने नीति पनि डा. शेखर कोइरालाको हो । यसमा डा. शेखर कोइरालाको दूरदर्शिता र सुझबुझयुक्त निर्णयको कारण पार्टी ठूलो दुर्घटनाबाट जोगिएको छ । पार्टीले नयाँ निकास पाएको छ । संसदीय निर्वाचनअघि नयाँ नेतृत्वसहित निर्वाचनमा जाने अवस्था सिर्जना भएको छ । पार्टी अहिले पूर्णतया डा. शेखर कोइरालाको नीति तथा एजेण्डामा अघि बढीरहेको छ । 

अब नेपाली कांग्रेसमा जसको नीति त्यसको नेतृत्व स्वभाविक विषय हो । पार्टीको नेतृत्व तथा पार्टी सिद्धान्तलाई व्यावहारिक रूपमा अघि बढाउन डा. शेखर कोइरालाको नेतृत्व अपरिहार्य बनेको छ । जेन्जी आन्दोलनपछि गिरेको पार्टी साख फर्काउन पनि परिपक्व सक्षम नेतृत्वको आवश्यकता रहेको छ । पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्दै अन्तर्राष्ट्रिय छविलाई जोगाउनका लागि विश्वसनीय तथा स्वीकार्य नेतृत्व आवश्यकता रहेको छ । त्यसका लागि पनि १५औँ महाधिवेशनबाट डा. शेखर कोइरालाको नेतृत्व स्थापित हुन सके पार्टी तथा लोकतन्त्रको लागि हतिकर हुनेछ ।  

नेपाली कांग्रेसमा अहिले पुस्तान्तरण र हस्तान्तरण बहस चलेको छ । पार्टीमा सबैले विश्वास गर्न सक्ने र समन्वय गर्ने सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । अहिले पार्टीमा कि त युवाका नाममा चर्का भाषण गर्नेहरूको संख्या बढी छ । कि त अग्रजपुस्ता पुरातनी रटान छ । युवा र अग्रजपुस्तालाई जोड्ने नेतृत्व कमी रहेको छ । पार्टी सबैको हो । पार्टीभित्र सबैलाई न्याय हुन्छ । पार्टीले कसैलाई अन्याय गर्दैन भन्ने सुनिश्चिता दिलाउन सक्ने क्षमता र नेतृत्व भएका नेता डा. शेखर कोइराला हुन् । यसलाई उनको विचार, सरल जीवनशैली, परिपक्व अनुभवले पनि पुष्टि गर्दछ । नेपाली कांग्रेस सबैको हो र पार्टीभित्र सबै अट्ने पार्टीको रूपमा विकास गर्नुपर्छ । यसैले पार्टी, लोकतन्त्र र देशको हित हुनेछ । सबैको साझा पार्टी बनाउन, पार्टीभित्र न्याय स्थापना गर्न र पार्टीलाई वैचारिक तथा सांगठनिक श्रपमा सबल बनाउनका लागि पनि डा. शेखर कोइरालाको नेतृत्व आवश्यक छ ।