
नेकपा एमालेको महाधिवेशन ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भयो यसको सन्देश के हो ?
यसको सन्देश स्पष्ट छ । नेकपा एमालेमा केपी ओली नै बलिया हुन्, त्यहाको अध्यक्ष हुन लायक उनीबाहेक अरू छैन । अर्को एउटा सन्देश भन्नुपनि सान्दर्भिक होला । त्यो भनेको केपी ओलीलाई चुनौती दिने मान्छेहरू अब पार्टीमा निस्केका छन् । अब अध्क्षबाट तल झर्नुपर्छ, छोड्नुपर्छ भन्न आँट गर्नेहरू बीचमा हराएका थिए । तर अहिलेको महाधिवेशनबाट उनीहरू बाहिर आएका छन् ।
एमालेको दशौँ महाधिवेशन र भर्खरै सम्पन्न ११औँ महाधिवेशनको सन्दर्भलार्ई कसरी विश्लेषण गर्ने ?
दशौँ महाधिवेशनका बेला राजनीतिक सन्दर्भ एउटा थियो । त्यतिबेला जेनजी आन्दोलनको अवस्था थिएन । सरकारमा जान सक्ने सारा कुराको बाटो खुला थियो । अब अहिले जनेजी आन्दोलनपछिको परिस्थीति हो । त्यो नै फरक पर्यो । तर पार्टीमा केपी ओलीले हुकुमी शासन चलाउने कुरा दशौँ महाधिवेशनबाट सुरु गरेका हुन् । त्यसको सिकार भए भीम रावल । उनी जस्ता अरू पनि छन् । पार्टी नै फुट्यो । दशौँ महाधिवेशन पछाडि केपी ओलीले जसरी ‘पावर एक्सरसाइज’ भयो, त्यहाँ एकथरी मान्छेलाई मात्रै बोल्न पाउनुपर्छ । भिन्न मत राख्नु हुन्न । आलोचनात्मक मत राख्नु हुन्न भन्ने खालको रजगज चल्यो । त्यो दशौँ महाधिवेशन पछाडि सिनारियो हो । अब अहिले एकल पार्टी भइसकेको स्थिति हो । एकल पार्टी भइसकेको स्थिति हुँदा खेरि पनि अब केपी ओलीलाई चित्त बुझेको त्यति छैन । जेनजी आन्दोलन भएको १०० दिनमात्रै पुगेको छ । तर ओलीले त्यतिबेला केही पनि भएको थिएन, केही पनि होइन, उनी भाग्नु पनि परेको थिएन, ज्यानै जोगाउन प्रधानमन्त्री पदबाट राजीनामा पनि दिनु परेको थिएन भन्ने व्यहार गर्दै अहिले ११औँ महाधिवेशन भएको स्थिति हो । देशमा भएको राजनीति, जनतामा भएको निराशा, नेताहरूप्रति आमजनतामा भएको ‘फ्रस्ट्रेसन’, त्यो कुरा बारे केही पनि मतलब नराखिकन नमरुन्जेल आर्यघाटमा नपुग्न्जेल सम्म शासन गर्ने हो भन्ने ढंगले अहिलेको स्थिति आएको हो ।
केपी ओलीको उद्घाटन सत्रको सम्बोधन र समापन सत्रको सम्बोधन यसले साँच्चिकै देश सहज तरिकाले अगाडि बढ्छ भनेर अनुमान गर्ने कि अवस्था अझै भयावह देख्दै हुनुहुन्छ ?
होइन, यस्तो हो- उनले एउटा कुरा त्यहाँ ठिकठिकै भनिराख्या थिए । ‘देशमा यतिखेर विदेशीहरूको चलखेल निकै चल्यो’ भन्ने कुरा ठिकै भनिराख्या थिए । तर त्यो चलखेल किन भयो त नेपालमा ? अन्य कुराको कारण त उनी आफैँ र उनी जस्ता नेताहरू हुन् । चलखेलमा विदेशी त पहिले पनि थिए । तर यो हदको चलखेल त थिएन । यो विषयमा भने उनले मिस गरिराख्या थिए । अब एउटा ढंगको अहंकार एउटा ढंगको ‘एमाले भनेकै म, म भनेकै एमाले’ भन्ने ढंगले उनको प्रस्तुति भइराख्या थियो । अब उनले सरकारी संयन्त्र जसका उनी प्रमुख भएर आएका छन् जसका उनी प्रमुख हुने आकांक्षा फेरि राख्दछन् । त्यसमा भर नपर्नु अब जनताकै सुरक्षा समिति बनाउने र त्यसमा भरपर्नु पर्छ भने । त्यो कति हद सम्म ठिक कति हद सम्म बेठिक हो विश्लेषण गर्नुपर्ने बेला भने आएको छ । भदौ २३-२४ को आन्दोलनका बेला सुरक्षा संयन्त्रले काम नगरेको त हो । तर सुरक्षा संयन्त्रले काम नगर्ने स्थिति किन बन्यो भन्ने कुराको पनि विश्लेषण गर्नुपर्छ । नेपालको सुरक्षा संयन्त्रा ‘डिभाइडेड’ पनि भएको हो । त्यस्तो अवस्था किन आयो भन्ने कुरामा भने ओली बोलेनन् ।
अहिलेको अवस्थामा केपी ओलीले सम्पूर्ण रूपमा पार्टी त कब्जा गरेकै छन् जसरी हुन्छ सत्ता र देशको चाहिँ नेतृत्व पनि कब्जा गर्नुपर्छ भन्ने मानसिकतामा छन् भनेर बुझौँ ?
तपाईंले गरेको प्रश्न जायज छ । अहिले केपी ओली संसद् पुनस्र्थापनाको पक्षमा लागेका छन् । तर अहिले देशमा यत्रा समस्या छन्, महँगी बढीरहेको छ । सर्वसाधारण जनताले तरकारी पनि छुन सक्ने अवस्था छैन । नेकपा एमालेको यत्रो महाधिवेशनमा जनताको सवालमा कुनै पनि छलफल नै भएन । यो त उदेकलाग्दो कुरा भएन र ? एउटा पार्टीको महाधिवेशन हुने त्यो पनि कम्युनिस्ट पार्टीको महाधिवेशन हुने त्यहाँ सर्वसाधारण जनताको गरिखाने जनताको समस्याको छलफलसम्म नहुने भन्ने कुरा त एकदमै संसारमै उदेक लाग्दो कुरा हो । महाधिवेशन भनेको उनलाई र उनको टिमलाई चुन्नलाई नै मात्रै भएको हो ।
अहिलेको अवस्थामा एमाले भित्र प्यानलगत जुन प्रतिस्पर्धा भयो, यसले नेकपा एमालेको दीर्घकालीन राजनीतिमा कस्तो प्रभाव पार्ला ?
एमाले एमाले हिजोको दिनमा सबभन्दा एकताबद्ध र तल्लो तहसम्म पनि एकदम राम्रो संगठन भएको पार्टी थियो । तर यसपालिको महाधिवेशनले के देखायो भन्दा तल्लो तहमा चरम निराशा छ, प्रतिनिधिलाई छान्ने प्रतिशतबारे सार्वजनिक भएपछि त्यहाँ भोटिङ गर्ने कुनै उत्साह छैन भन्ने कुरा देखायो । दोस्रो कुरा यो पार्टी ‘डिभाइडेड’ हुन लाग्दै छ है अब भन्ने पनि देखाएको छ । एमाले अब फुट्ने बाटोतिर जान्छ भन्ने कुरा यसपटकको महाधिवेशनले दिएको सन्देश हो ।
तर अर्को पक्षले ल्याएको मत हेर्दा त्यो पनि आकलन गर्ने र ?
उनले मन परेका मान्छेहरूलाई ल्याएर प्रतिनिधि बनाएर गरिएको भोटिङ हो अहिले । भोटिङमा तपाईंले याद गर्नुभएको होला, अघिल्लो विधान महाधिवेशनले यति जना मान्छेको सदस्य केन्द्रीय समिति हुन्छ भनेर भनेको थियो । तर विधान लत्याएर महाधिवेशनमा सीमिति व्यक्तिलाई ल्याउनका लागि संख्या थप गरियो । ओलीले पदाधिकारीको पद दिन्छु भनेर आएको भोट हो अहिले । त्यसकारणले त्यहाँभित्रको यथार्थमा भन्नुपर्दा एमालेभित्रको तल्लो तल्लो तहमा निराशा कायमै छ । जुन एमाले पहिला तल्लो तह असाध्यै धेरै नै संगठित हुन्थ्यो । अहिले त्यति धेरै संगठित छैन अब ।
एमालेमा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेहरूको ठाउँ रहन्छ कि उहाँहरू अब किनारामा पर्दै जाने हो ?
त्यो त अब केपी ओलीको व्यवहारमा भरपर्ने कुरा हो । ओलीको विरुद्धमा उठ्ने, आलोचना गर्नेहरू सबै शत्रु हो । एमालेमा यस्ता मान्छेको मात्रै ठाँउ रहन्छ जसले ओलीको भक्तिगान गर्न सक्छन् । यसपालिको एउटा प्रतीकात्मक कुरा भनेको प्रदीप ज्ञवालीको उमेदवारी हो । प्रदिप ज्ञवाली भनेको एकदम हमेशा ओलीको पक्षमा बसेको मान्छे हो । यसपालि उनले दिएको पद मन नपरेर उनले केन्द्रीय सदस्यमात्रै बन्छु भनेर हिँडे । त्यो भनेको कतिपय मान्छेले बोल्नु पर्दैन घटनाले बोल्छ । यो घटनाले के बोल्छ भने उनको वरपरको जो मान्छे हो तिनहरूमा पनि अब यतिखेर असन्तोष जाग्न थालिराख्या छ । थुप्रो मान्छेहरू जो योग्य थिए उनलाई बेठिक कुरा तपार्इंले गरिराख्नु भाछ है भन्न सक्षम थिए तिनलाई मुख्य पदाधिकारीमै ल्याइएन । तीमध्ये एकजना प्रदीप ज्ञवाली हुन् ।
यो सरकार गठन भाको १ सय दिन पूरा हुँदै छ, यसलाई कसरी टिप्पणी गर्नुहुन्छ ?
अब चुनावको तयारीको हिसाबले सरकारको सय दिन राम्रै भैराको जस्तो देख्छु म । कुनै पनि सरकार आयो भने पनि गर्ने त्यही हो । अहिलेको सरकारमा रहेका केही मन्त्रीहरूको मात्रै काम देखिएको छ । कुलमान घिसिङले राम्रै गरेको देख्छु म । अब बाँकी मन्त्रीहरू यसपालि रामेश्वर खनालको अपेक्षा मान्छेहरूले ठूलो गरेका थिए । रामेश्वर खनालको ‘पर्फमेन्स’ त्यति देखिएन । प्रधानमन्त्रीले यतिखेर जुन ढंगले मन्त्रीहरू छान्नुभाछ । त्यो छानेका मध्ये दुई-तीनजना मन्त्रीहरू मात्रै काम गर्न सक्षम काम गरेर देखाउने खालका देखिए । बाँकी खाली उपस्थिति मात्र देखियो । अरू त देखिएन ।
राजनीतिक दलहरूले त्यति पत्याइ राखेका छैनन् । यो सरकारले चुनाव गराउन सक्छ ?
सक्छ भनेर पत्याइराख्या थिएनन् । तर सरकारको चुनावको जुन तयारी देखिन्छ नि ! तयारीमा राजनीतिक दलहरूले पनि ‘नो’ भन्न नसक्ने स्थितिचाहिँ अहिलेको सरकारले बनाएको देखिन्छ । सबै दलहरूलाई समेट्ने प्रयत्न पनि गर्या छ । निर्वाचन आयोगलाई अधिकार दिएको छ निर्वाचन आयोग आयोगलाई बजेटबाहेक बाँकी सबै कुरा दिएको छ । बजेट पुग्दो दिएन तर बाँकी सबै दिएको छ । कानुन पनि ल्याएको छ । हिजो मात्रै अध्यादेश ल्याएको छ । त्यो हिसाबले त दलहरूले जो न पत्याएराख्या थिए अब उनीहरू पनि लतारिएर आउनुपर्ने स्थिति छ यदि अदालतले अन्यथा गरेन भने ।
एमाले चुनाव कुनै पनि हालतमा हुँदैन भन्छ । कांग्रेस पनि चुनाव अलिकति सारौँ भन्ने अभिव्यक्ति दिन्छ । यस्तो अवस्थामा फागुन २१ को चुनाव होला र ?
फागुन २१ को चुनाव मलाई लाग्छ कि त्यो जेनजीहरूले नै आन्दोलन गरे भने मात्रै सर्छ । नत्र चुनाव जसरी पनि हुन्छ । जसले चुनाव माग गरेको हो त्यो नै त्यसको विद्रोहमा उत्रियो भने मात्रै नत्र चुनाव भएरै छाड्छ । किनभने भने अब अहिले चुनाव नहुनुपर्ने कुनै कारण नै देखिँदैन । फेरि यदि संविधानलाई ट्रयाकमा ल्याउने हो भने राष्ट्रपतिसित चुनावबाहेक अरूको कुनै विकल्पै थिएन । यदि चुनाव नगर्ने हो भने भने संविधान झनै ट्रयाक बाहिर जान्छ । संविधानलाई ट्रयाकमा ल्याउने बाटो भनेकै यही हो । त्यो हिसाबले राष्ट्रपतिले ठिकै कदम चालेका हुन् ।
तर यही जेनजीकै अब सुदन गुरुङ अहिले त चल्तापुर्जा नाम उनी पनि कता-कता संसद् पुनस्र्थापना गर भन्ने खालको अभिव्यक्ति दिँदै हिँड्या छन् । चुनाव पनि अलिकति सार भन्ने कुरा गरिराख्या छन् । यसलाई कसरी बुझ्ने ?
अब सुदन गुरुङ भनेर भनेको नेपाली राष्ट्रको हितलाई अघि सारेर त्यो हितलाई केन्द्र मानेर चलिरहेका मान्छेको रूपमा म बुझ्दिन । उनी अन्तैबाट परिचालित अन्तैको पैसा खाने अन्तैको हितको हितको लागि काम गर्ने मान्छेको रूपमा अगाडि बढिराख्या छन् । २४ गतेको घटना जो भयो नि त्यो घटना हुनुको पछाडि सुदन गुरुङको ठूलो हात छ जस्तो लाग्छ मलाई । सिंहदरबार जलाउने सर्वोच्च जलाउने संसद भवन जलाउने जलाउँदा खेरि नेपाली सेनालाई तमासे बस्नको लागि भनेर भूमिका खेल्नुमा सुदन गुरुङको ठूलो हात छ । सुदन गुरुङलाई भाद्र २३ गते दिउँसो एक बजेसम्मको जेनजी आन्दोलनलाई एउटा ढंगले लिन सकिन्छ । त्यो पछाडि जेनजी आन्दोलन नै ‘हाइज्याक’ भएको देखिन्छ । त्यो हाइज्याक गर्नेमा विदेशीको प्रतिनिधि भएर नेपालमा देखापरेको यिनै मान्छे हुन् जस्तो लाग्छ । त्यसकारण यिनले के भन्छन् भन्ने कुराले जेन्जी पुस्ताको आवाजलाई प्रतिनिधित्व गर्दैन ।
तर फेरी उनै उनै सुदन गुरुङ मेरो जेठो छोरो भन्छिन् क्या प्रधानमन्त्रीले ?
समस्या त्यहाँनेर छ । जेनजीहरू नै त्यसको विद्रोहमा उत्रिए भने चुनाव बिथोलिन सक्छ । त्योदेखि बाहेक अर्को कुनै कारणले चुनाव बिथोल्न सक्दैन । कांग्रेस चुनावको विरुद्ध जान सक्ला जस्तो लाग्दैन मलाई ।
अदालतले केही गर्दिन्छ कि भन्ने आशमा छन् क्या नेताहरू ?
हो । अदालतले केही गर्दिन्छ भन्ने आशामा पनि छन् । त्यो आशको त्यान्द्रो केपी ओलीले हाल्या हो । तर अदालत त्यसकोविरुद्ध गयो भने नेपालमा राजनीतिक दुर्घटनाको हिसाबकिताब त सबैले गर्न सक्ने स्थिति छ अहिले नेपालमा । त्यसकारणले त्यो राजनीतिक दुर्घटना नेपालमा निम्तिने सम्भावना छ । र त्यो राजनीतिक दुर्घटनाको मूल्यमा पनि र पुनस्र्थापना गर्ने हो भने त्यसबाट बलिया हुने केपी ओली मात्रै हो । नेपाली जनता बलियो हुँदैन । त्यसकारणले अहिले अहिले संविधानलाई ट्रयाकमा ल्याउने हो भने चुनाव नै हो । चुनाव गरेर नयाँ ‘म्यान्डेट’सहित नयाँ संसद्ले काम गरे पछि आमजनताको मानसिकता पनि ‘रिप्रेजेन्ट’ हुन्छ । आमजनताहरू यतिखेर जुन ‘साइकोलोजी’मा छन् । भाद्र २३-२४ गतेको घटना घट्न सक्नुको पछाडि आम जनताको चरम निराश मुख्य कारण होइन र ? त्यो चरम निराशा यिनै दलका नेता प्रति हो नि । त्यो निराशाको जगमा न यो आन्दोलन हुन सक्या हो । यी दलहरू अत्यन्त लोकप्रिय थिए भनेदेखि दुई दिनको आन्दोलनले सरकार फालिनु सम्भव हुन्थ्यो र ? त्यसकारणले अहिले देशको स्थिति ज्यादै नै तरल छ । अब विदेशीहरू हाम्रो ढोकैमा आइपुगिसक्या स्थिति छ । जिओ पोलिटिक्सको राजनीति चै अर्को ढंगले उ गरेको स्थिति छ । अब त्यो स्थितिमा चाहिँ नि हाम्रो लागि हितकारी भएर भनेको चुनाव हो जस्तो लाग्छ । चुनावमा गएर सबै दलहरूले जनताहरूको जुन ‘फ्रस्ट्रेसन’ चुनावमा भोटिङमार्फत अभिव्यक्त हुन्छ । त्यसपछि मात्रै दलका नेताहरूमा चेत पस्ने कुरा हुन्छ । अब अहिले सम्म चेतेका पनि छैनन् । उनीहरू दुई दिनको आन्दोलन हो । एउटा पुस्ता को आन्दोलन हो । यसले के गर्छ र हामीलाई ? भनेर हल्का रूपमा लिएका छन् । केहीले त विर्सनै थालिसके । त्यो स्थितिमा अब सबै दलहरू मिलेर शान्तिपूर्वक चुनाव चुनाव सम्पन्न गरेर नेपाललाई संवैधानिक ट्रयाकमा ल्याउन सक्दा देशको हित हुन्छ । अब अर्को विद्रोह निम्त्याउने काम कसैले पनि गर्नुहुँदैन ।










Facebook Comments