वसन्त लोहनी

नदी बगेको जसरी देखिन्छ, त्यो जति महत्वपूर्ण हुन्छ

ad

त्योभन्दा धेरै महत्वपूर्ण त्यसलाई हाँक्ने अन्डर करेन्ट हुन्छ

तर, अन्डर करेन्ट कसले देख्ने ?

कसले महसुस गर्ने ?

भित्री–बाहिरी तल मिसिएका प्रवाहले गर्छन्

भूमिको उतारचढावले गर्छन्

अझ समग्रमा भन्नुपर्दा संरचनात्मक विशेषताहरूले गर्छन्

प्रत्येक ठाउँको, प्रत्येक गाउँको, प्रत्येक सहरको,

विश्वका प्रत्येक मुलुकको–

विश्व इतिहास यसरी नै बनेको

वर्तमान र भविष्य पनि यसरी नै क्रमबन्धित

रूपान्तरित हुँदै जाने गर्छन्

पुण्य होस् या वीभत्स

शान्त होस् या विभ्रान्त

प्रवाहित हुने यसरी नै हो

सबै अटाउने हरियालीतर्फ

या आहिस्ता छोड्दै जानुपर्ने बगर बनेर ।

 

सबैले देख्ने त छटा देखाएर बहेको नदी मात्र हो

त्यसैले, स्वाभाविक छ–

आम मानिस लोभिएका हुन्छन्, रमाएका हुन्छन्,

अझ केही त उल्लासोन्माद भएका

मानौँ, नयाँ युगको सुरुवात भइसकेको छ

हो, सतहमा बगेको नदी देखेर रमाउनेहरू

धेरैले नदीलाई हाँक्ने अन्डर करेन्ट बुझेका हुँदैनन्

न यसको समग्र स्वरूप जानेका

न यसको उतार–चढाव बुझेका

न यसमा मिसिएका भित्री–बाहिरी तागतको अत्तोपत्तो

नयाँ–नयाँ नदी बनेको देखेर फगत् थपडी बजाइरहेका

 

नदीको जस्तै समय–प्रवाहमा झन् केके मिसिएका

त्यसको आदि अन्त्य थाहा हुँदैन

अँध्यारो÷उज्यालोको आलोपालोमा

अँध्यारोबाट उज्यालोतर्फ लैजानेको खाँचो हुन्छ

पूर्ति गर्न आउने झुन्डमा बोका र स्याल धेरै

यसमध्येका पहलमान बनेका अगुवा

कामुक बोको आफ्नो धोको पु¥याउँछ

बचेको हरियाली पनि खाएर

चलाख स्यालको जस्तो मौका, उस्तै व्यवहार

लामो दूरी हिँडेर जे पाउँछ, सब खान्छ, मिल्नुपर्नेसँग मिलेर

टुसादेखि मुसासम्म ।

 

ध्रुवे हात्तीसरह बनेर जंगल राज गरेका यी

ध्रुवे पनि डराएको छ अहिले

पुट पाएपछि फिस्टेको रोनाल्डो स्वरूप देखेर

भर्खर मात्र उठेका यी आफैँ मरेको देखेर

समय–प्रवाहको बाढीमा जोगिन बेतसरह सुतेर

तर, तितरबितर हुँदै गएका पुराना बोका र स्यालहरू

प्याक्क प्वाक्क कराइरहेका छन्

यिनका कुकुरहरू अनवरत भुकिरहेका छन्

भुइँचम्पा आवाज निकालेर

स्वप्नद्रष्टा केवल आफैँ मात्र हो भनेर

सपना कथ्ने होइन, परसम्मको विपना देख्ने, बाँड्ने

त्यो बाटोमा उज्यालोतर्फ हिँडाउने मान्छे चाहियो

यी परबाट लामो डोरीमा बाँधिएका बोका र स्यालहरू होइन,

जो खानको काल भएर

हाम्रो लामो समय–काल सकिरहेका छन् ।